शिल्पा र छवि अब साँच्चै बाँधिने !

शिल्पा र छवि अब साँच्चै बाँधिने !


लामो समयदेखि प्रेम र विवाहको हल्ला चलाउँदै आएका फिल्म निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलले फेरि बिहेवारीको स्क्यान्डल मच्चाएका छन् । रेखा थापाले साथ छोडेपछि उनको मेख मार्ने मनसायले छविले रेखाकै अनुहार मिल्ने युवती खोजी गर्दै जाँदा शिल्पा फेलापरेकी थिइन् । नेपाली चलचित्रमा शिल्पाको प्रवेश छविकै साथ–सहयोगबाट भएको कसैबाट छिपेको छैन । नेपाली फिल्म क्षेत्रमा शिल्पाको आगमन भएकै पनि आधा दशक नाघिसकेको छ । यसबीच छवि र शिल्पाको विवाहका खबर दर्जनौँपटक चलाइएका छन् ।

लगभग दुई दर्जन सिनेमा निर्माण गरिसकेका छविको पछिल्लो चलचित्र ‘मंगलम’आगामी फागुन १५ देखि देशव्यापी प्रदर्शनको तयारीमा छ । हलमा सिनेमा लगाउनुअघि आफ्नो फिल्म कसरी सफल बनाउने भन्ने चिन्ताले सम्बन्धित निर्माता र निर्देशकलाई अलिक ज्यादा नै सताउने गर्छ । पोस्टर, पम्प्लेटको जमाना गइसक्यो भन्दा हुन्छ । सामाजिक सञ्जालको प्रयोग गरी फिल्मको प्रचार गर्ने ट्रेन्ड उत्कर्षमै पुगिसक्यो । तर, फिल्म हिट गराउने एउटा परम्परागत प्रचलन अझै कायम छ, त्यो हो– भए–नभएका अफवाह मच्चाएर चलचित्रलाई चर्चामा ल्याउने ।

नायक–नायिकबीच अन्तरङ्गी सम्बन्धको गसिप पिटाउने हो वा निर्माता र कलाकारबीच मारामारी परेको चर्चा चलाउने, फर्मुला प्रयोग गर्ने बेला यही नै हो । छवि र शिल्पालाई पनि आफ्नो फिल्म ‘मंगलम’को नाम सिनेप्रेमी दर्शकको कान–कानसम्म पु¥याउनु छ । अरू कुनै हट बहाना नमिलेपछि छविले पुनः पुरानै सूत्र प्रयोगमा ल्याएका छन्– मंगलम रिलिजलगत्तै शिल्पासँग बिहे गर्ने !

हुन पनि उमेरले छोरीसरहकी शिल्पाले साँच्चै बाबु उमेरका छविसँग बिहे गर्लिन् त ? यो कुतूहल आमनेपाली सिनेदर्शकमा छ । यी अनमेल जोडी वास्तविक जीवनसाथी बन्नेमा अधिकांशको मनमा आशङ्का नै छ । तैपनि जिज्ञासा मेटिएको छैन । दर्शकको यही कमजोरीको लाभ उठाउने सुरमा छन् छवि र शिल्पा । त्यसैले फिल्म प्रचार गर्दै नेपालगञ्ज पुगेका छविले निर्धक्कसाथ भनिदिएका छन्, ‘अब बिहे गरिहाल्ने हो, शिल्पाका अभिभावकले पनि स्वीकृति दिइसके ।’ उनको अभिव्यक्तिमा ताल दिँदै शिल्पाले पनि भनेकी छिन्, ‘हो…हो, अब विवाहबन्धनमा बाँधिने नै हो ।’

यो जोडीबीच विवाह हुन पनि सक्छ, तर अहिलेका लागि चाहिँ बिहेको कुरा फगत ‘मंगलम्’को पब्लिसिटी स्टन्टबाहेक केही होइन । नेपाली फिल्म क्षेत्रका पण्डितहरूको यस्तै विश्लेषण छ ।