नेपाली ज्योतिषी हरिहर बने अष्ट्रेलियामा ब्राण्ड एम्बास्डर

नेपाली ज्योतिषी हरिहर बने अष्ट्रेलियामा ब्राण्ड एम्बास्डर


राजन घिमिरे, सिड्नी

अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा रहेको क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट (क्यूआर्इआई)ले युवा ज्योतिषी हरिहर अधिकारीलाई नेपालका लागि ब्रान्ड एम्बासाडर घोषणा गरेको छ ।

नेपालमा क्यूआर्इआईका विभिन्न कोर्स एवं संस्थाका विभिन्न सेमिनार तथा गोष्ठीको प्रवर्धन तथा नेपाली युवा र संस्थाबीच पुलको काम गर्ने उद्देश्यका साथ ज्योतिषी हरिहरलाई आगामी एक वर्षका लागि आफ्नो ब्रान्ड एम्बासाडर नियुक्त गरेको हो । हरिहरले भारतीय टेलिभिजन केयर वर्डबाट समेत ज्योतिषसम्बन्धी कार्यक्रम सन्चालन गरेर लोकप्रियता हासिल गरिसकेका छन् ।

ज्योतिष हरिहर गत पुस २५ गते अस्ट्रेलिया आएका थिए ।

‘म पैसाकै लागि विषको प्रवर्धन गर्न सक्दिनँ । तर अमृतको प्रवर्धन गर्न पैसा नै चाहिन्छ भन्ने छैन,’ कार्यक्रममा उनले भने, ‘नेपाली विद्यार्थी र यस शैक्षिक संस्थाबीच एक पुलको भूमिकामा जुट्न पाउँदा म प्रसन्न छु ।’

क्यूआर्इआई र यसका सदस्यहरुसँग धेरै संवाद र गहन छलफल गरेपछि यसले प्रदान गर्ने शैक्षिक योग्यता र गुणस्तरबारे आफू छर्लङ्ग भएको उनको भनाइ छ । माघ १९ गते आफ्नै क्याम्पसमा राखेको कार्यक्रममा काउन्सिल अफ इन्टरनेसल स्टुडेन्ट्स अस्ट्रेलिया (सिसा) का अध्यक्ष विजय सापकोटाले क्यूआर्इआईले विद्यार्थीको आवाजका लागि क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट स्टुडेन्ट एसोसिएसन सम्मान लायक भएको बताए ।

संस्थाकी प्रमुख ट्रेनर डायन एडवर्ड्स ले यस संस्थाले विद्यार्थीको रुचि, रहर, पृष्ठभूमि र आवश्यकता बुझ्ने र गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगरेको दाबी गर्दै नेपाली विद्यार्थीमाझ पुग्न ब्रान्ड एम्बासाडर हरिहर अधिकारीको भरपुर सहयोग एवं योगदान रहने विश्वास व्यक्त गरिन् ।

गैरआवासीय नेपाली संघ, अस्ट्रेलियाका महासचिव नारायण कोइरालाले एनआरएनए अस्ट्रेलियाले विद्यार्थीका कुनै पनि कठिनाइमा गर्दै आइरहेको सहयोग निरन्तर गरिरहने बताए ।