सिड्नीमा वाक फर वेलफेयर हुँदै, एक लाख डलर संकलन गर्ने लक्ष्य

सिड्नीमा वाक फर वेलफेयर हुँदै, एक लाख डलर संकलन गर्ने लक्ष्य


राजन घिमिरे, सिड्नी

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी मार्च १० तारिख शनिबारका दिन अष्ट्रेलियाको सिड्नीमा ‘वाक फर वेलफेयर वेलफेयर फर ओमन’ नारासहित वाकाथन कार्यक्रम आयोजना गर्ने भएको छ । वाक फल वेलफेयर मार्फत एक लाख डलर सहयोग संकलन गर्ने लक्ष्य लिइएको छ ।

यसरी संकलित रकम अष्ट्रेलियामा परोपकारी कार्यमा खर्च हुनेछ, जसको ६० प्रतिशत नारी निकुञ्जले र ४० प्रतिशत एनआरएन अष्ट्रेलियाकै अर्को परियोजना ‘वेलफेयर फन्ड’मा जम्मा गरिने भएको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा वाकाथन कार्यक्रमकी संयोजक एवं नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक प्रतिज्ञा अधिकारीले वाक फर वेलफेयर कार्यक्रमको विषयमा जानकारी दिएकी थिइन् । यस वर्षको वाक फर वेलफेयरको उद्देश्य अष्ट्रेलियामा रहेको नेपाली समाजमा महिलाविरुद्धको हिंसाका विषयमा जनचेतना फैलाउने र बढ्दै गएको मानसिक समस्या न्यूनिकरण गर्न भूमिका निर्वाह गर्ने रहेको छ । यस्ता समस्याबाट पीडित बनेकाहरुको साथी बन्ने, आवश्यक सहयोग गर्ने, मनोबल उच्च बनाउने उद्देश्य पनि कार्यक्रमको रहेको छ ।

यसैक्रममा सिड्नीमा गर्न लागिएको वाक फर वेलफेयर कार्यक्रम अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मार्च १० तारिख शनिबारका दिन गरिने भएको छ । BAY Council मा पर्ने Cook Park बाट सुरु भएर ब्राईटन बिचमा गएर वाकाथन टुंगिनेछ । करिब तीन किलोमिटरको यो दूरीमा सञ्चालन गरिने वाकाथनमा सहभागी हुनका लागि www.nrn.org.au मा आफ्नो नामा दर्ता गरेको हुनुपर्नेछ भने यस्तो दर्ता सहभागिता शुल्क वापत प्रति परिवार १ सय ५० अष्ट्रेलियन डलर र प्रतिव्यक्ति ६० अष्ट्रेलियन डलर लाग्नेछ । अष्ट्रेलियामा भिजिट भिसामा आउनुभएका नेपालीहरुको लागि भने यो शुल्क ३० मात्र हुनेछ ।

सिड्नीमा मात्र होइन वाक फर वेलफेयर , वेलफेयर फर ओमन कार्यक्रम भिक्टोरिया, क्वीन्सल्याण्ड, वेष्टर्न अष्ट्रेलिया, अष्ट्रेलियन क्यापिटल टेरेटरी क्यानबेरा, साउथ अष्ट्रेलिया मा पनि गरिनेछ । पत्रकार सम्मेलनमा उठेका विभिन्न जिज्ञासाको जवाफ संयोजक प्रतिज्ञा अधिकारी र एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले दिएका थिए ।

उक्त अवसरमै एनआरएन अष्ट्रेलियाले हालसम्म गरेका विविध गतिविधि, टास्कफोर्सहरुको निर्माण र आगामी दिनमा सञ्चालन गर्ने परियोजनाहरुको बारेमा समेत अध्यक्ष घोताने र सचिव देव गुरुङले जानकारी दिएका थिए ।