हाच्छ्युँ रोक्न खोज्नु खतर्नाक !

हाच्छ्युँ रोक्न खोज्नु खतर्नाक !


हाच्छ्युँ आउँदा त्यसलाई जबर्जस्ती रोक्न खोज्नु अत्यन्त घातक हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । हाच्छ्युँ रोक्ने दुस्प्रयत्न गर्दा हालै एक व्यक्ति सख्त घाइते बन्न पुगेपछि विज्ञले यस्तो चेतावनी दिएका हुन् ।

उक्त बेलायती युवकले आफूलाई विशेष क्षमतावान दर्शाउने प्रयत्नस्वरूप नाक–मुख बन्द गरी हाच्छ्युँ रोक्न खोजेका थिए । तर, उक्त प्राकृतिक प्रक्रिया यति शक्तिशाली बन्न पुग्यो कि स्वाभाविक रूपले बाहिर निस्कन नसकेपछि भित्रै ‘विस्फोट’ हुँदा युवकको घाँटीको भित्रीभागका कोषिका छिया–छिया भए ।

हाच्छ्युँ रोक्ने बेला पैदा भएको हावाका फोकाहरू घाँटीदेखि चर्चराहट पैदा गर्दै युवकको छातीसम्म पुग्यो । किनकि, हाच्छ्युँ गर्ने बेला ८० किलोमिटर प्रतिघन्टाको वेगले शरीरभित्रबाट हावा बाहिर निस्करहेको हुन्छ । त्यस्तो तीव्र वेगलाई रोक्न खोज्नु निश्चय पनि शरीरभित्र एकप्रकारको विस्फोट निम्त्याउनु नै हो ।

अमेरिकाको युनिभर्सिटी अफ टेक्ससका साइन्स सेन्टर हेड घाँटी विशेषज्ञ डा. योङ जियाङका अनुसार एक हाच्छ्युँ मानव शरीरका लागि यति नोक्सानदायी साबित हुन सक्छ कि जति चोट घाँटीमा गोली लाग्दा पुग्न सक्छ । यति मात्र नभई हाच्छ्युँलाई जबर्जस्ती रोक्न खोज्दा कहिलेकाहीँ फोक्सो पूरै ध्वस्त हुन पनि सक्छ ।

उनले प्रस्ट्याएका छन्– हाच्छ्युँ आउनुको तात्पर्य शरीरबाट भाइरस या ब्याक्टेरियाहरूलाई बाहिर निकाल्नु हो । यसर्थ यसलाई रोक्ने प्रयत्न गर्नुहुँदैन, बरु आरामले हाच्छ्युँ गर्नुपर्छ । तर, यसो गर्दा वातावरण दूषित हुने हुनाले नाकमा रुमाल राख्नु अपरिहार्य हुन्छ ।