सेवामा समर्पित एउटा महान् अस्पताल

सेवामा समर्पित एउटा महान् अस्पताल


बिन लादेन र उदाउद इब्राहिमजस्ता विध्वंशकारी मानिस मात्र यस धर्तीका उपज होइनन्, मानव कल्याणका लागि समर्पित मानिस पनि यहाँ छन् । समाजसेवामा समर्पित कैयन मानिस संसारका कुना–कुनामा पुगेर आफ्नो कीर्ति विछ्याइरहेका छन् । यस्तै कर्ममा जुटेको छ– अमेरिकी युवाहरूको संस्था ‘न्याय हेल्थ’ र त्यसमा आबद्ध स्वयम्सेवक तथा कर्मचारी । हाइटी र युगाण्डामा पनि लाखौं नि:शुल्क औषधोपचारको सेवा पुर्‍याइरहेको उक्त संस्थाले नेपालमा पनि विगत ६ वर्षदेखि काम गरिरहेको छ । न्याय हेल्थले नेपालको विकट जिल्ला अछामको बयलपाटामा पच्चीस शøयाको ‘बयलपाटा अस्पताल’ सञ्चालन गरिरहेको छ । हाल कन्ट्री डाइरेक्टरका रूपमा गे्रगरी केरलस रहनुभएको उक्त अस्पतालले आपतकालीन, ओपीडी, सुत्केरी, बिरामी भर्ना, ल्याब, एक्सरे, अल्ट्रासाउण्डको नि:शुल्क सेवा उपलब्ध गराइरहेको छ । त्यति मात्र होइन, बिरामी परीक्षण र बिरामीका लागि आवश्यक पर्ने औषधिसमेत त्यहाँ नि:शुल्क उपलब्ध गराइन्छ । त्यसैले अछाम र आपपासका जनताको एउटा बलियो स्वास्थ्य सहारा उक्त अस्पताल बन्न पुगेको छ, जहाँ उपचार गराउन आउनेको सङ्ख्या प्रतिदिन तीन सयको हाराहारीमा हुने गर्दछ । वार्षिक चारदेखि पाँच करोडसम्म खर्च लाग्ने सो अस्पतालका लागि नेपाल सरकारले चाहिँ रु. तीस लाख मात्र अनुदान सहयोग गर्ने गरेको छ । कतिपय अस्पतालहरूमा बिरामीको सेवा गर्ने नाममा विभिन्न प्रभुका वाणी राखेर ब्ल्याकमेलिङ शैलीमा धर्म प्रचार गर्ने गरेको पनि पाइन्छ । औषधिको गोलीसँगै ‘प्रभुको बोली’ बोलेर लठ्याउने काम पनि कतिपय अस्पतालहरूमा हुने गरेको छ । तर, बयलपाटा अस्पताल त्यस किसिमको तुच्छ कुराहरूबाट पूर्ण मुक्त छ । जहाँ प्रभुले होइन डाक्टर र औषधिले नै बिरामीलाई ठीक पारिन्छ ।
गे्रगरी आफ्नो सम्पूर्ण समय अस्पतालमै बिताउँछन् र स्वयम्सेवक–कर्मचारीहरूलाई उत्साह बढाउने काम गर्छन् । तीन एमबीबीएस चिकित्सक र नौजना हेल्थअसिस्टेन्ट कार्यरत अस्पतालमा सेवा पुर्‍याउनेहरूमध्ये एक हुन् डा. रोशन विष्ट (स्टाफ फिजिसियन) ।
अछामको कालिकास्थान गाविसमा जन्मेका विष्टले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जबाट एमबीबीएस गरेका हुन् । काठमाडौंमा काम गर्ने अवसर पाउँदापाउँदै उनले दुर्गम क्षेत्रका जनताको सेवा गर्नु उचित ठाने । नेपाली काङ्गे्रसका नेता एवम् पूर्वसांसद रामबहादुर विष्ट, जो रोशनका पिता हुन्, उनले पनि छोराको इच्छामा पूर्ण सहमति जनाए । २८ वर्षीय रोशनले बयलपाटा अस्पतालमा सेवा गर्न पुग्नुअघि उनी दाङस्थित अस्पतालमा सेवारत थिए । भविष्यमा हाडजोर्नी विशेषज्ञ या इन्टरनल मेडिसिन विज्ञमध्ये एक बन्ने लक्ष्य लिएका रोशन आगामी केही वर्ष भने उक्त अस्पतालमै बसेर सेवा पुर्‍याउन प्रतिबद्ध छन् । कति समय यो अस्पतालमा सेवा गर्नुहुन्छ त भन्ने हाम्रा प्रतिनिधिको प्रश्नमा विष्टले भने, ‘एमडी गरेपछि कम्तीमा पनि तीनदेखि पाँच वर्ष त गर्छु नै, त्यसपछि पनि जति सकिन्छ बढी समयसम्म गर्ने इच्छा छ ।’
० तपाईंसम्बद्ध अस्पतालमा कुन रोगका बिरामी बढी आउँदारहेछन् ?
– ग्यास्ट्रिकका बिरामी त अत्यधिक भइहाले, ग्यास्टिक सबैजसोमा छ । एचआईभीका बिरामी पनि धेरै भेटिँदै छन् । विभिन्न दुर्घटनामा परी हातखुट्टा भाँचिएर या चोटपटक लागेर आउनेको सङ्ख्या पनि धेरै ठूलो छ । टीबीका बिरामी पनि धेरै छन् ।
० अस्पताल सञ्चालन गर्न मुख्य समस्याचाहिँ के बनेको छ नि ?
– मुख्य समस्या दुईवटा छन्, पिउने पानीको अभाव छ र बिरामीका कुरुवा बस्ने ठाउँको समस्या छ । हामी अस्पतालमा नि:शुल्क उपचार गर्छौं, नि:शुल्क परीक्षण र औषधि पनि नि:शुल्क दिन्छौँ, भर्ना भएर उपचार गर्ने बिरामीको पनि हामी शुल्क लिँदैनौँ र कतिपय बेखर्ची बिरामीलाई बाटोखर्चसमेत दिएर उपचारपछि घर पठाउने गर्छौं । तर, पानी र कुरुवाघरको व्यवस्था गर्नचाहिँ हामीलाई पनि समस्या भइरहेको छ ।
० राजधानीमै पनि अवसर पाउनुहुन्थ्यो होला, किन यस्तो दुर्गम ठाउँ रोजिएको त ?
– मैले अन्यत्र राम्रो काम पाएको थिएँ । तर, मैले चिकित्सा विषय लिएर पढ्दादेखि नै गाउँमा गएर सेवा गर्छु भन्ने सोच बनाएको थिएँ । मैले सुरुमा दाङमा काम गरँे, त्योभन्दा बढी दुर्गम अछाम भएकोले अछाम आएँ । दुर्गम क्षेत्रका जनताको सेवा गर्ने इच्छाले मलाई यहाँ ल्याइपुर्‍याएको हो ।
० राजनीतिक परिवारको सदस्य, भविष्यमा राजनीति गर्ने आधार बनाइएको त होइन ?
– मलाई अहिले राजनीति गर्ने कुनै इच्छा छैन । अहिले बिरामीकै सेवा गर्ने इच्छा छ/गर्छु । भविष्यको कुरा अहिले नै भन्न सक्दिनँ ।