अन्तर्राष्ट्रिय पर्यटन महोत्सवमा नेपाल

अन्तर्राष्ट्रिय पर्यटन महोत्सवमा नेपाल


– डिल्लीराम अम्माई/बेल्जियम

छुट्टी या अवकासका दिनमा आन्तरिक र वाह्य रुपमा गरिने भ्रमणको प्रेरणाको लागि अवकास शैलुन, प्रदर्शनी मेला तथा पर्यटन महोत्सवहरूको आयोजना गरिएको हुन्छ । ‘भाकान्सी सालोन २०१८’ नाम दिइएको अन्तराष्ट्रिय पर्यटन मेला बेल्जियमको आन्त्वेर्पेन एक्स्पो हलमा यही जनवरी २५ बाट शुरु भएर २८ मा सकिँदै छ भने फेब्रुअरी १ बुधबार देखि ४ फेब्रुवरी आइतबारसम्म बेल्जियमकै राजधानी ब्रुसेल्समा सोही प्रकृतिको मेला हुन गैरहेको छ । त्यो मेलाको अतिथि देश (Host country) अहिले थाइल्याण्डलाई छानिएको छ ।

उक्त महोत्सवमा नेपाली दूतावासको आयोजना र गैरआवासीय नेपाली संघ बेल्जियमको सहयोगमा एक प्रदर्शनी कक्ष बनाएर नेपालको पर्यटनसम्बन्धी जानकारी दिइरहेको देखिन्छ । जसमा दूतावासका कर्मचारीहरू, एनआरएनहरू र बेल्जियम नेपाल फ्रेन्डसीप समूह (BNFA) का प्रतिनिधिहरूले आगन्तुक र नेपाल भ्रमणमा इच्छुकहरूलाई नेपालबारे जानकारी दिइरहेका छन् ।

बेनेलक्सका राजदूत लोकबहादुर थापा, गैरआवासीय संघ बेल्जियमका अध्यक्ष लोक दाहाल, डाक्टर लुक, डानी ,एनआरएन काउन्सिल युवराज गुरूड, खड्ग केसी, नेपाली ब्यावसायी संघका अध्यक्ष सीपी भट्ट, नेपाली दुतावासका उपनियोगप्रमुख सुधीर भट्टराई लगायत दुतावास परिवार, एनआरएन महिला संयोजक रजनी प्रधान, एनआरएन सचिव जानकी गुरुङ, नेपाल सरकारका पर्यटन दूत तथा युरोप संयोजक शिव बरूवाल, पर्यटन दूत विनोद न्यौपाने, नेपालबाट आएका पत्रकार लक्ष्मण गुरुङ लगायत हजारौँ बेल्जिक तथा संसारभरिबाट मेलाको उदघाटनका अवसरमा सहभागिता देखिएको थियो । जनवरी १ तारिकबाट ब्रसेल्समा हुने महोत्सवमा समेत नेपालले आफ्नो देशको पर्यटन प्रबर्धनको लागि प्रचार कक्षसहित उपस्थिति जनाउने तयारी भैरहेको छ । जसमा आन्त्वेर्पेनमा जस्तै नेपाली राजदूतको आयोजनामा गरआवासीय नेपाली संघको सहयोग रहने छ ।

मेला किन ?
दुवै मेलाहरूको मुख्य उद्देश्य आन्तरिक तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रबर्धन गर्नु रहेको देखिन्छ । ‘आन्त्वेर्पेन एक्स्पो’मा भएको यो प्रकारको मेला अहिले ४०औं संस्करणमा पुगेको छ । यसको मुख्य आकर्षण साल्सा, तान्गो, मेरेंगु लगायत सबै प्रकारका नाच र संसारभरिका सांस्कृतिक संगीतको प्रस्तिती समेत रहेको छ । जसमा नेपाली कलाकारहरूले पनि आफ्नो प्रस्तुती देखाउने बताइएको छ । यदि कसैले ब्याक्तिगत वा सामुहिक रुपमा नाच्ने चाहना राख्छ भने सिकाउने गुरुहरूको पनि ब्यवस्था गरिएको आयोजकले बताए ।

रुचि र रोजाई :

छुट्टी र अवकासमा हुने भ्रमणलाई बढीभन्दा बढी आनन्ददायी, मनोरन्जनात्मक र सुरक्षित बनाउने सबैको चाहना हुन्छ । त्यसैले छुट्टी र भ्रमण विद्यार्थी, वृद्धदेखि उच्चपदस्थ भीआइपीहरूको पहिलो रोजाइमा पर्दछ । जसले पनि चाहेको स्थान र तरिकाले छुट्टी मनाउने योजना बनाउन खोज्छ तर त्यसको लागि त्यहाँको बस्तुस्थिति, बजेट, वातावरणीय, सामाजिक र भौगोलिक अवस्थाबारे जानकारी हुनु अति आवश्यक हुन्छ । यस्ता पर्यटन मेलाहरूले भ्रमणसम्बन्धी अधिकांश जानकारी दिन सक्दछन् । अहिले भैरहेको आन्त्वेर्पेन अन्तराष्ट्रिय मेलामा संसारभरिका ४०० भन्दा बढी प्रदर्शनी हलहरूमा सम्बन्धित देशका यात्राविदहरूले भ्रमण र त्यसको तयारिबारे जानकारी दिइरहेका छन् । त्यसैले भ्रमण प्रेमीले निःशुल्क पाइने यस्ता जानकारी लिने मौका चुकाउँदैनन् ।

छोटो रुपमा भन्दा यस्ता महोत्सव फुर्सदलाई आनन्ददायी बनाउने, छुट्टी र अवकासमा हुने भ्रमणलाई भरपुर मनोरन्जनात्मक, सुरक्षित र सक्रिय बनाउने सुबिधाको लागि फरक–फरक देशहरूमा बर्षेनी आयोजना गरिएका हुन्छन् । अहिले भैरहेको महोत्सवमा पनि पानीभित्र अक्सिजन लिने, पौडी खेल्ने, साइक्लिनिङ, माउण्टेन बाइक, स्कुटर, विद्युत सवारी साधन लगायत सिक्न सम्पर्क दिने काम समेत गरिएको छ । भन्नाले सुरक्षित भ्रमणमा काम लाग्ने सबै प्रकारका सिपहरू सिकाउने कार्यशाला पनि राखिएका छन् ।

विषयबस्तु र क्षेत्रहरू :
पर्यटन महोत्सवको हललाई चार भागमा बाँडिएको छ । पहिलो हलबाट चौथो हल अर्थात् नेपाली प्रदर्शनीशालासम्म पुग्दा आगन्तुकहरूले लगभग पुरै महोत्सव हल पुग्ने गरेर मार्ग बनाइएको छ । महिनौँसम्म सामुन्द्रिक यात्राको लागि पानीजहाजको टिकट सहित सम्पर्क त्यहाँ पाइन्छ । समग्रमा यात्रा विवरणको लागि सर्वप्रथम त्यो प्रदर्शनीबाट जानकारी लिएर घुम्ने योजना बनाउनु सबैका लागि श्रेयष्कर मानिन्छ ।