अष्ट्रेलियाबाट स्क्रिप्ट लेखन प्रतियोगिताको उदघोष

अष्ट्रेलियाबाट स्क्रिप्ट लेखन प्रतियोगिताको उदघोष


राजन घिमिरे, सिड्नी

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका एक चलचित्रकर्मी हुन्– मनोज अधिकारी । अष्ट्रेलियाको प्रवासी जीवनको ब्यस्ततामा पनि उनले चलचित्रकर्मलाई छाड्न सकेका छैनन् । अष्ट्रेलियाबाट चलचित्र ‘ऋतु’ बनाएका उनले त्यसपछि पनि चलचित्र विधामा आफ्नो उपस्थितिलाई निरन्तरता दिइरहेका छन् ।

‘चलचित्र निर्माणको क्षेत्र एउटा भोक नै रहेछ, जति खाए पनि नअघाइने…’, मनोज भन्छन् । वास्तवमा अष्ट्रेलियामा चलचित्रसम्बन्धी कुनै कार्य या छायाङ्कन गर्नुपर्दा सबैले सम्झने नाम नै मनोज अधिकारी हो । यसरी चिनिएका मनोजले अब नेपाली चलचित्रको कथामा देखिँदै आएको कमजोरीलाई महसुस गर्दै ‘स्टोरी’ पक्षलाई बलियो तुल्याउन चलचित्रको स्किृप्ट प्रतियोगिता आयोजना गरेका छन् । उनको यो सोचलाई मूर्तरूप दिएको छ– बाबा एजुकेशन कन्सल्टेन्सीले । बाबाले यस्ता विभिन्न क्रियाकलापमा सहभागिता जनाइरहेको छ ।

आयोजक संस्थाका प्रमुख एवम् फिल्म निर्देशक मनोज अधिकारीका अनुसार यो संस्करणको प्रतियोगितामा उत्कृष्ट हुने एक स्क्रिप्ट राइटरलाई रु. ३ लाख पुरस्कार प्रदान गरिने छ भने उक्त स्क्रिप्टमा फिचर फिल्मसमेत बनाइने छ । प्रतियोगितामा भाग लिन इच्छुक ब्यक्तिले सर्वप्रथम १ देखि ३ पेजभित्र समेटिने गरी कुनै पनि एक विषयमा आफ्नो कथासार तयार पारी संस्थाको आधिकारिक इमेल [email protected] मा पठाउनु पर्नेछ ।

त्यसपश्चात प्रतियोगिहरूले पठाएका कथासारलाई आयोजकले जुरी सदस्यको निर्णयअनुसार उत्कृष्ट २५ छनोट गर्नेछ र छनोट भएका ती २५ कथाका लेखकलाई ३ महिनाको समयसीमा दिएर पूर्ण स्क्रिप्ट लेखनका लागि मुख्य प्रतिष्पर्धामा सहभागी गराइने छ । उक्त प्रतियोगितामार्फत एक स्क्रिप्ट छनोट गरी विजेता घोषणा गरिने उनले बताए ।

आयोजक न्यू नेपाली सिनेमाका अनुसार यो प्रतिष्पर्धामा भाग लिनका लागि अन्तिम समयसीमा आगामी फाल्गुन ४ गते (16th Feb) तोकिएको छ भने प्रतियोगितामा भाग लिनका लागि कुनै पनि शुल्क लाग्ने छैन । यस प्रतियोगिताले नेपाली फिल्म उद्योगमा खट्किएको फिल्म लेखकको अभावलाई केही हदसम्म भए पनि परिपूर्ति गर्ने विश्वास आयोजकले लिएका छन् ।