थाहा पाउनुहोस् बहुगुणी बेलको महत्व

थाहा पाउनुहोस् बहुगुणी बेलको महत्व


मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेलको महत्व नबुझ्दा वनमै झरेर खेर गइरहेको छ । कञ्चनपुरस्थित चुरे क्षेत्रका वनमा जताततै पाइने आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने बेल संकलन नगरिँदा वनमै कुहेर जाने गरेको छ । यसको महत्वबारे जानकारी नहुँदा बेल दाउरा र सोत्तरका रुपमा प्रयोग हुन थालेको छ ।

चुरे क्षेत्रमा बेलका रुख प्रशस्त रहेका छन् । बेलको प्रयोग धार्मिक अनुष्ठान र यसको फलको रस मानव स्वास्थ्यका लागि अचुक औषधिका रुपमा रहेको भए पनि धेरैलाई यसबारे जानकारी नहुँदा नासिँदै गएको छ । जंगली जनावरको आहाराको रुपमा प्रयोग हुँदै आएको बेलको फल प्रशोधन गर्नुपर्नेमा स्थानीयवासी सुरत साउद बताउनुहुन्छ ।

“सामुदायिक वनका उपभोक्ताको आयस्तरमा वृद्धि गर्न सकिने हुन्छ”, उहाँले भन्नुभयो । जुनसुकै ठाउँमा पनी बेलका बिरुवा हुर्कन सक्ने भएकाले वनको बाँझो जग्गामा यसको बिरुवा रोप्नुपर्ने उहाँको भनाइ छ । रासस समाचारमा उल्लेख गरिएअनुसार आयुर्वेदिक औषधिका रुपमा समेत बेलको पात, जरा, बोक्रा र फललाई प्रयोग गरिँदै आएको छ ।

बेलपत्र शिवरात्रि, गणेशको पूजनका बेला अनिर्वाय चढाउनु पर्ने चलन छ । बेलको महत्वबारे धार्मिक ग्रन्थ ऋग्वेद, शिवपुराण, अग्निपुराण, स्वस्थानी व्रतकथा लगायतमा वर्णन गरिएको छ । बेलको आयुर्वेदमा उपयोग गरिँदै आएको छ । प्राचीनकालदेखि नै ऋषिमुनिले बेलको प्रयोगलाई विभिन्न रोग निवारणका लागि प्रयोग गरिँदै आएको पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ ।

कञ्चनपुर झलारीस्थित आयुर्वेद औषधालयका वैद्य दिवाकर जोशी बेल पेट दुखेका बेला, आउँ परेका बेला, पित्त रोगको संक्रमण भएमा, झाडापखाला लागेमा, अजीर्ण भएमा, दमको रोग भएमा, दाँतको गिजाको रोग लागेमा, बान्ता रोक्न र रुघा खोकी लागेमा औषधिका रुपमा प्रयोग हुने गरेको बताउनुहुन्छ ।

फल झाडापखाला, आउँ, पाकेको फल कब्जियत निको पार्न, पात, फल जरा मधुमेहको रोग निको पार्न प्रयोग गरिन्छ । बेल औषधिका रुपमा र धार्मिक रुपमा समेत महत्वपूर्ण भएकाले वनमा खेर जाँदै गरेका फललाई प्रयोगमा ल्याउन र नासिँदै गएका क्षेत्रमा रुख जोगाउन अनिवार्य देखिएको छ ।