‘पार्टीबाहेक मेरो अर्को स्वार्थ छैन’

‘पार्टीबाहेक मेरो अर्को स्वार्थ छैन’


० शर्मनाक पराजय ब्यहोरेपछि बसेको नेपाली काङ्ग्रेसको केन्द्रिय समितिको बैठक हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भयो किन ?
– नेपालको ठूलो पार्टी काङ्ग्रेसको हैसियत अहिले तल झरेको छ । प्रदेश सरकार र केन्द्रीय सरकार अरुले नै बनाउँदैछन् । यस्तो अवस्थामा चुनावमा किन हारियो, पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने लक्ष्यसहित केन्द्रिय समितिको बैठक बोलाइयो, बसियो, तर समीक्षा हुन सकेन । राष्ट्रियसभाको चुनावतिर बैठक मोडियो । चुनावपछि समीक्षा बैठक गरौँ भन्ने सभापतिको जोड रह्यो । दुई दिनको बैठकमा पनि साथीहरूले राम्रो कुरा राखेका थिए । विधि र विधानबाट पार्टी चलेन, सरकार सञ्चालनमा कमजोरी भयो भन्ने लगायतका कुरा उठे । अबका दिनमा गल्ती सुधारेर जानुपर्छ भन्ने धारणा आयो । मैले पनि यही कुरा राखे । कमजोरीप्रति हामी आत्मालोचित हुनुपर्छ । विधानविपरीतका समितिहरू विघटन गरौँ भनेर मैले पनि कुरा राखेँ ।

० तपाईंहरूले भन्दैमा शेरबहादुर देउवाले गल्ती स्विकार गरेर अगाडि बढ्नुहोला ?
– सुधारका लागि धेरै आवाज उठे । सभापतिजीले कुनै पनि निर्णय नगरी बैठक स्थगित गरिदिनुभयो । दुई दिनको बैठकको उपलब्धि खासै केही हुन सकेन । उहाँ सच्चिएर अघि बढ्न तयार हुनुहोला भन्नेमा साथीहरू कमै आशावादी देखिनुहुन्छ ।

० अब के गर्ने त ? यसरी नै कांग्रेस चलाइरहने हो ?
– पार्टीलाई करेक्सन गरेर लानुको विकल्प छैन । जहाँ–जहाँ गल्ती भएको छ, त्यसलाई सुधार गर्नुपर्छ । आगामी केन्द्रिय समितिको बैठकमा सबै समीक्षा गर्ने भनिएको छ । मैले भनेको छु, मेरो भागमा कति पर्छ, त्यसको जिम्मेवारी लिन म तयार छु । जसको भागमा जति पर्छ सबैले बेहोर्नुपर्छ । जिम्मेवारी सबैले लिनुपर्छ । अब सशक्त बनाएर कांग्रेसलाई अगाडि लैजानुपर्छ । काम चलाउनका रुपमा बनाइएका समितिहरू विघटन गर्नुपर्छ । म ती समितिमा भाग लिन्नँ ।

० सभापतिसँग तपाईंको सम्बन्ध बिग्रिएको हो ?
– विधानविपरीतका समितिको बैठकमा जान्न भनेको हुँ । अरु अनौपचारिक छलफलमा त म जान्छु । सभापतिजीसँग मेरो पानीबाराबारको सम्बन्ध होइन । पार्टीको सिङ्गो सभापति भइसकेपछि यो पक्ष त्यो पक्ष नभनिकन सबै साथीहरूको नेतृत्व गर्न तयार हुनुहोस्, म सहयोग गर्न तयार हुनुहोस भनेर भनेकै छु । मैले विगतमा पार्टी र प्रजातन्त्रका लागि जोखिम मोलेर काम गरेको छु । मैले पार्टीको हित होस् भन्नका लागि परेको बेला सभापतिलाई सधैँ सहयोग गरेको छु ।

० तर तपाईं र शेरबहादुर देउवाबीच द्वन्द्व छ भनिन्छ नि ?
– पार्टीलाई कसरी चलाउने भन्ने विषयमा विवाद छ । पार्टीलाई मनपरी तरिकाले चलाउने प्रयास गरिएको छ । विधिवत रुपमा समिति र विभागहरू बन्नुपर्छ । केन्द्रिय समितिले पूर्णता पाउँनुपर्छ भन्ने कुरामा विमति हुन सक्छ । पार्टीलाई राम्रो बनाउनका लागि तीनवटा कुरामा ध्यान दिनुपर्छ । विधि र परम्परा दुवैलाई मनन गरेर पार्टी चलाउनुपर्छ । अर्को कुरा सबैलाई स्वामित्व हुने खालको व्यवहार हुनुपर्छ । कांग्रेसका सबै कार्यकर्ताले म उपेक्षित छैन भन्ने महसुश गर्न पाउनुपर्छ ।

० यी कुरा भएको छ त ?
– भएको भए त पार्टीले चुनाव पनि हार्ने थिएन । त्यसकारण धेरै कमी–कमजोरी छन् । मैले केन्द्रिय समितिमा पनि आफ्ना कुरा राखेको छु । अब हुने समीक्षा बैठकमा पनि राख्नेछु । म मेरो स्वार्थका लागि केही पनि भन्दिनँ । लोकतन्त्रको जगमा अडिएर पार्टी बलियो होस् भन्ने मेरो चाहानाअनुसार आफ्ना कुरा राख्छु ।

पार्टीलाई करेक्सन गरेर लानुको विकल्प छैन । जहाँ–जहाँ गल्ती भएको छ, त्यसलाई सुधार गर्नुपर्छ । आगामी केन्द्रिय समितिको बैठकमा सबै समीक्षा गर्ने भनिएको छ । मैले भनेको छु, मेरो भागमा कति पर्छ, त्यसको जिम्मेवारी लिन म तयार छु । जसको भागमा जति पर्छ सबैले बेहोर्नुपर्छ । जिम्मेवारी सबैले लिनुपर्छ ।

० विगतमा तपाईंले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग मिलेर काम गर्नुभयो । तर अहिले शेरबहादुर देउवासँग किन कुरा मिल्न सकेन ?
– मैले धेरै नेताहरूसँग नजिक रहेर काम गरेँ । चित्त नबुझ्दा मैले विपीको कुरामा पनि विमति राखेको थिएँ । महत्वपूर्ण सल्लाह पनि आवश्यकताअनुसार सबैलाई दिएँ । निमुखालाई न्याय, विपन्नलाई आयको व्यवस्था गर्नुपर्छ भनेर पनि सुझाब दिएँ । शुशील कोइराला सभापति हुँदा कांग्रेस दोस्रो पार्टी थियो । मैले मेचि महाकाली अभियान संचालन गरेर नै पार्टी पहिलो बन्न सक्यो । संविधानमा प्रजातान्त्रिक समाजवाद राख्नका लागि कम्युनिष्टहरूसँग म सात वर्ष लडेँ । संविधानका प्रत्येक अक्षर–अक्षरमा मैले लडाइँ गरेको छु । त्यसो भएकाले म जुन पदमा रहँदा पनि प्रजातान्त्रिक पद्धतिका लागि लडेको छु ।

० विगतमा पटकपटक बहुमत ल्याउन सफल नेपाली काङ्ग्रेस आज संविधान जारी भएपछि किन हार्यो ?
– मैले पार्टीमा विधिवत रुपमा आफ्नो कुरा राख्दै आएको छु । बाँकी कुरा समीक्षात्मक बैठकमा पनि राख्छु । काङ्ग्रेसलाई कसरी नवजीवन दिन सकिन्छ भन्ने विषयमा म आफ्नो एजेण्डा लिएर आगामी बैठकमा जान्छु ।

० त्यो एजेण्डा के हो ?
– धेरै छन् । केन्द्रिय समितिको बैठकमा नै राख्छु । आफ्नो फोरम एजेण्डा प्रस्तुत गरेर मात्रै म प्रेससँग भन्छु । अहिले म सामान्य झलक मात्रै दिन सक्छु । पार्टीले जनतालाई हेर्ने दृष्टिकोण, गरिबलाई हेर्ने दृष्टीकोणमा पनि परिष्कार हुनु जरुरी छ । जनमुखी, गाउँमुखी र विपन्नमुखी कांग्रेस बन्नुपर्छ । प्रजातान्त्रिक समाजवाद भनेको निमुखालाई न्याय र विपन्नलाई आयको स्थितीमा नेपाललाई पुऱ्याउनुपर्छ । यही अनुसारको मेरो आर्थिक, सामाजिक नीति हुनेछ । संघीयतामा देश गइसकेको छ । सिंहदरबारको अधिकार गाउँमा पुगेको भनिएको छ । त्यसलाई कसरी कार्यान्वयन गर्ने ? स्थानीय निकायका प्रतिनिधीको हातमा सत्ता पु¥याउनका लागि मेरो लडाई सुरु हुन्छ । केन्द्रबाट सत्ता संचालन हुन खोज्यो भने म त्यसलाई रोक्छु ।

० जनताको मनमा अझै पनि काङ्ग्रेस छ । तर काङ्ग्रेसको मनमा जनता हुन सकेनन् । नेतृत्व कमजोर भयो । किन ?
– मैले सभापतिलाई स्पष्ट रुपमा भनेको छु । नेपाल भनेको भोगको होइन, त्यागको पूजा गर्ने मुलुक हो । सबैभन्दा ठूलो भगवान महादेव– नाङ्गो । नेपालको ठूलो नेता को ? गणेशमानजी । उहाँले प्रधानमन्त्री पद त्याग्नुभयो । त्यागको आधारमा ठूलो पूजा हुन्छ नेपालमा । तर तपाई चाहिँ भोगको आधारमा ठूलो बन्न खोज्नुहुन्छ, ४–५ पटक प्रधानमन्त्री बन्नुहुन्छ, अझ सातपालि बन्छु भन्नुहुन्छ । त्यसरी हुने भए त शेरबहादुर देउवा ठूलो भइसक्नुपर्ने नि । यदि तपाईलाई पार्टीको माया छ भने तपाईंले त्यागबाट सुरु गर्नुस्, र सबैका आँखामा ठूलो पनि हुनुस् भनेर सुरु गरेको छु ।

० शेरबहादुर देउवाको एउटा समुह छ । त्यो समुहले देउवाको विकल्प छैन भनिरहेको छ नि ?
– भन्न त भनिहाल्छन् नि । किनभने शेरबहादुरलाई के भन्दा उहाँ खुशी हुनुहोला भन्ने मानसिकताले काम गर्ने साथीहरू पनि छन् । खुशी पार्न सकियो भने पद पाइएला । उपसभापति, महामन्त्री, संगठनका विभाग आदि पाइन्छ, हालीमुहाली गर्न पाइन्छ भन्नेहरू पनि छन् । त्यसैले म देउवाजीलाई भन्छु कि सीमित घेराबाट मुक्त हुनुहोस् । त्यसो गर्न सक्नुभएन भने पार्टी र राष्ट्रका लागि योगदान हुन सक्दैन । मैले पछिल्लो पटक प्रधानमन्त्री हुन खोज्दा सोधेको थिएँ । किन प्रधानमन्त्री हुने ? मेरो प्रश्नको उत्तर अहिलेसम्म आएन ।

० शेरबहादुर, तपाईं लगायतका नेताहरूको पुस्ताले केही पनि काम गरेको छैन ?
– हाम्रो पुस्ताले केही पनि गरेको छैन भनेर म भन्दिनँ । वीपी र गणेशमानले संविधानसभाबाट संविधान भनेर बोल्नुभएको थियो । कल्पना गर्नुभएको थियो । त्यसलाई हामीले पूरा गर्यौं । संविधानलाई कार्यान्वयनमा ल्याउनका लागि चुनाव पनि हामीले सम्पन्न गर्यौं । विगतमा राजाको तत्व भनेर बीपीलाई गाली गर्ने कम्युनष्टिहरूले पनि अहिले मान्न थालेका छन् । बीपीलाई राष्ट्रियताको प्रतीकका रुपमा मानेका छन् । मधेशमा आगो बल्दा राष्ट्रियताको परिभाषा जोगाउने काम हामीले गरेको हो । हिमाल, पहाड, तराई र मधेश एक भएर जानु नै राष्ट्रियता हो भन्ने परिभाषा हामीले दियौँ । निर्वाचनमा सबैलाई समावेश गराएर राष्ट्रलाई सङ्कटबाट जोगायौँ । आफूले हारेर पनि राष्ट्रलाई जोगाउने काम ग¥यौँ ।

० कम्युनिष्टहरूले सर्वसत्तावाद ल्याउँछन् भनेर काङ्ग्रेसले गलत प्रचार गर्दा झन नकारात्मक असर परेको हो ?
– संविधानअनुसार देशलाई चलाउनका लागि नैतिक शक्तिको आवश्यकता पर्छ । दुईवटा कम्युनिष्ट मिल्न लागेका छन् । कम्युनिष्टको चरित्र नै सर्वसत्तावाद हो । केपी ओली र प्रचण्डले नचाहाँदा नचाहँदै पनि चरित्रका कारण त्यतैतिर लान खोज्छ । त्यसलाई रोक्ने काम हाम्रो हो ।

० उहाँहरूसँग दुई तिहाई छ, कसरी रोक्नुहुन्छ ?
– दुई तिहाई होस् कि चार तिहाई होस्, त्यसमा मलाई मतलब छैन । नैतिक शक्ति सबैभन्दा ठूलो कुरा हो । जनता र राष्ट्रको हित कहाँनेर छ भन्ने कुरा मलाई थाहा छ । म त्यसमा अडिन सक्छु । जनतालाई जगाउन सक्नुपर्छ । त्यसपछि कसैले पनि अधिनायकवाद र केन्द्रियतातिर देशलाई लान सक्दैन । देशलाई संघीयता र समावेशीतिर लाने हो । त्यही अनुसार आर्थिक र सामाजिक कार्यक्रम बनाउन म लागिपर्छु ।

० अब बन्ने सरकारलाई तपाईंहरूको सहयोग र समर्थन रहन्छ ?
– राम्रो काम गर्नुभयो भने सहयोग हुन्छ । नराम्रो कुरालाई खबरदारी । त्यही हो हाम्रो ।

० प्रतिपक्षी दलको रुपमा अब कांग्रेसको भूमिका कस्तो हुन्छ ?
– लोकतान्त्रिक प्रतिपक्षको धर्म भनेका सरकार र सत्ता गलत बाटोमा जान लाग्यो भने खबरदारी गर्ने हो । तत्काल रोक्ने हो । राम्रो काम भयो भने ठिकै गर्यौ भन्ने हो । प्रजातन्त्रमा सत्तापक्षभन्दा बढि प्रतिपक्ष जिम्मेवार हुन्छ । ७० वर्षदेखि हामी व्यवस्थाका लागि लडेका हौँ ।

शेरबहादुरलाई के भन्दा उहाँ खुशी हुनुहोला भन्ने मानसिकताले काम गर्ने साथीहरू पनि छन् । खुशी पार्न सकियो भने पद पाइएला । उपसभापति, महामन्त्री, संगठनका विभाग आदि पाइन्छ, हालीमुहाली गर्न पाइन्छ भन्नेहरू पनि छन् । त्यसैले म देउवाजीलाई भन्छु कि सीमित घेराबाट मुक्त हुनुहोस् ।

० वाम गठबन्धनले प्रत्यक्ष निर्वा्चित राष्ट्रपतीय प्रणालीको पक्षमा कुरा गरिरहेका छन् नि ? त्यो सम्भव छ ?
– मेरो त्यसमा असहमति छ । नेपालमा यस्तो चल्दैन । अहिले यहाँ संसदले चुनेको प्रधानमन्त्री त निरङ्कुश हुन खोज्छ । मौका पाउनासाथ हैकम चलाउन खोज्छ । प्रजातन्त्र भनेको नियन्त्रण र सन्तुलनको प्रक्रिया हो । जनप्रतिनिधीको नियन्त्रणमा सत्ता हुनुपर्छ । जनप्रतिनिधिभन्दा बाहिर सत्ता जानुहुँदैन । महिला, मधेशी, थारु, मुस्लिम, जनजाती, दलित लगायतका पिछडिएका वर्गको नियन्त्रणमा सत्ता हुने कि नहुने ? एउटा मान्छे चुनिएर आउने, अरु जनप्रतिनिधि जहाँसकै जाओस् भनेर हुँदैन । जनप्रतिनिधी ताली बजाउने मात्रै हुने कि अधिकारप्राप्त हुने ? त्यसो भएकाले जनप्रतिनिधी शासनमा हस्तक्षेप गर्न सक्ने हैसियतका हुनुपर्छ । त्यसको लागि संसदीय प्रजातन्त्र नै आवश्यक छ ।

० दुई तिहाई बहुमतले संविधान संशोधन गरेर प्रत्यक्ष राष्ट्रपतीय पद्धति लागु गर्न सकिने अवस्था त छ नि ?
– त्यसको म विरोध गर्छु । जनतासँग मिलेर विरोध गर्छु । दुनियामा यस्ता कुरा नहुने होइन । तर ति सबै कुरालाई खबरदारी गर्ने म जस्ता लोकतन्त्रवादी हो । बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउनुस् । दुईवटा कम्युनिष्ट पार्टीले सरकार चलाउने म्यान्डेट ल्याउनुभएको छ । मुलुकलाई राम्रोसँग चलाउनुस भनेकै छु नि मैले । देशलाई विकास गर्ने बेला हो यो । देशलाई स्थायी सरकार दिनुस् भनेको छु ।

गठबन्धनलाई तोड्ने, फुटाउने खेलमा म कहिल्यै पनि लाग्दिन । म सभामुख हुँदा राप्रपा फुट्न लागेको थियो । मैले फुट्नु हुँदैन भनेर सल्लाह दिएको मान्छे हुँ । एमाले फुट्न लाग्दा आज दर्ता नगर्नुस् भनेर म सुदुरपश्चिम गएको थिएँ । म सभामुख थिएँ । मैले दर्ता गर्न मानेको थिइन । तर पछि फुटेरै छाड्यो । अहिले एमाले र माओवादी मिलेर काम गरुन् । मलाई देशको विकास चाहिएको छ ।


० तपाईहरू वाम गठबन्धन टुटाउने खेलमा लाग्नुहुन्न ?

– लाग्दिनँ । जनताले जुन म्यान्डेट दिएका छन्, त्यसलाई मैले स्विकार गरेको छु । सन्तुष्ट छु । गठबन्धनलाई तोड्ने, फुटाउने खेलमा म कहिल्यै पनि लाग्दिन । म सभामुख हुँदा राप्रपा फुट्न लागेको थियो । मैले फुट्नु हुँदैन भनेर सल्लाह दिएको मान्छे हुँ । एमाले फुट्न लाग्दा आज दर्ता नगर्नुस् भनेर म सुदुरपश्चिम गएको थिएँ । म सभामुख थिएँ । मैले दर्ता गर्न मानेको थिइन । तर पछि फुटेरै छाड्यो । अहिले एमाले र माओवादी मिलेर काम गरुन् । मलाई देशको विकास चाहिएको छ ।

० तर कांग्रेसकै शीर्ष नेताहरूले गठबन्धन फुटाउने कुरा गर्नुभएको थियो ?
– त्यो अपरिपक्वता हो । यस्तो कुरा गरेर काम छैन । उहाँहरूले काम गरेर देखाउनुस् । आफैँ फुट्नुभयो भने त मैले के गर्न सक्छु र ?

० अब कांग्रेसले संसदमा प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्छ ?

– सकारात्मक भूमिका देखाउनुपर्छ ।

० संसदीय दलको नेता को बन्ने ? कसरी भूमिका खेल्ने ?
– नेता को बन्ने भन्ने पक्षमा म छैन । प्रतिनिधिसभाका सदस्यहरू आउन्, बसुन्, छलफल गरुन्, देश, पार्टी र लोकतन्त्रलाई ख्याल गरुन् ।

० तपाईले प्रकाशमान सिंहलाई अघि सार्न खोज्नुभएको हो ?
– मैले कसैलाई अघि सार्न खोजेको छैन । कसैको पनि नाम प्रस्तुत गरेका छैनौँ । कसले राम्रोसँग चलाउन सक्छ भन्ने विषयमा छलफल हुन्छ ।

० शेरबहादुर देउवाले आफै संसदीय दलको नेता बन्ने इच्छा देखाउनुभएको छ नि ?
– खै अब उहाँको व्यक्तिगत इच्छा के छ । त्यतातिर म जान चाहन्नँ । सबै कुराको मूल्याङ्कन गर्न काम सासंदहरूको हो ।

० कांग्रेसभित्र धेरै गुटउपगुटहरू छन् । किन ?
– राजनीति शास्त्रले एउटा शब्द क्वाइन गरेको छ । इन्ट्रेस ग्रुप । राजनीतिक विज्ञानले नै यस्ता शब्दहरू निर्माण गरेको छ । तर समग्रमा कांग्रेसको मूल ध्यय के हो भन्ने कुरा महत्वपूर्ण छ । कांग्रेसलाई कुन बाटोबाट कहाँ पु¥याउने कुरामा एक हुनुपर्यो । यसको विकल्प छैन । अहिले भएका गुटहरू त क्षणिक हुन् । म त पार्टीको मूल धारलाई अगाडि बढाउनका लागि मेरो शक्ति र शरिरले भ्याएसम्म सेवा दिन्छु ।

० कांग्रेसमा गुटको अन्त्य हुन सक्छ ?
– राजनीतिमा गुटको अन्त्य कहिल्यै पनि हुँदैन । तर गुटलाई मर्या्दित तरिकाले चलाउनुपर्छ ।

० कांग्रेसभित्र शेरबहादुर देउवाले राजीनामा दिनुपर्छ भन्ने मत छ । त्यसबेला तपाई कांग्रेसलाई हाँक्न तयार हुनुहुन्छ ?
– म यत्रो उमेरको भइसकेँ । शब्द मात्रै फालेर कही उपलब्धि हुँदैन । केही गरेर, दृष्टान्त देखाएर, प्रेरणा जगाएर, पार्टीलाई योगदान दिएर अगाडि बढ्न म चाहन्छु । त्यत्ति हो ।

० कांग्रेसमा चाकडी गर्नेहरूले अवसर पाउने दुःख गर्नेहरूले दुःखै मात्रै पाइरहने प्रवृत्ति किन मौलायो ?
– यस्तो हुनु हुँदैन । योगदान दिने र नदिने पहिल्याएर पार्टीले सोही अनुसारको जिम्मेवारी दिनुपर्छ । योगदानलाई कदर गर्ने पक्षमा म छु । मैले सकेसम्म गरेको छु । तर पार्टीको नेतृत्वले त्यसो गर्न सकेको छैन ।

० अहिले केही युवा नेताहरूले शेरबहादुर र रामचन्द्र अभिभावक भएर बस्नुपर्छ भनिरहेका छन् नि ?
– यसमा मेरो केही आपत्ति छैन । उहाँहरूले पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ । युवा नेताहरूले आफूलाई पार्टीको मर्मअनुसार चलाउनुपर्छ । गहिराईमा पुग्दै नपुग्ने अनि सतहमा शब्द फ्याकिदिएर मात्रै त हुँदैन नि । भनेर मात्रै भएन, विकल्प दिन सक्नुपर्यो नि । केन्द्रिय समिति बैठकमा कसैले पनि आफूले भनेका कुरा निर्णयमा पुऱ्याउन सकेनन् । युवाहरूलाई प्रतिबद्धताका साथ उभिनुस् भन्ने सुझाव दिन्छु । शब्द मात्रै फ्याकेर तरङ्ग पैदा गर्ने कुरालाई म विश्वास गर्दिन । आफूलाई चर्चित बनाउने कुरा मात्रै नगर्नुस् । के लक्ष्यमा कांग्रेसलाई पुऱ्याउने हो, प्रतिबद्ध हुनुस् ।

० कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीसँग के छलफल भयो ?
– पार्टीकै साथीहरू हुन् । छलफल भइरहन्छ । सबैसँग छलफल त गर्नुपर्छ नि ।

मैले देउवालाई साथीहरूलाई न्याय दिलाउने कुरा हो, तपाई समग्र पार्टीको सभापति हो, यो पक्ष र त्यो पक्ष नभनीकन मूल्याङ्कनका आधारमा व्यवहार गर्नुस् भनेर सुझाब दिएँ । तर त्यसो हुन सकेन ।

० तपाईंलाई पार्टी सभापति बन्न नदिने कृष्ण सिटौलासँग अहिले कुरा मिल्न थालेको हो ?
– कुरा मिलेको र नमिलेको केही पनि होइन । कुनै किसिमको साँठगाँठ गर्ने पक्षमा म छैन । मैले त कांग्रेस संकटमा पर्यो, कस–कसले कहाँ गल्ती गर्यो ? अब जोगाउनुपर्छ भन्ने पक्षमा छलफल गरिरहेको छु ।

० सभापति देउवासँग धेरै कुरामा तपाई टक्कर दिनुहुन्छ । तर कुनै पनि कुरा नटुङ्गिदै पछि हट्नुहुन्छ किन ?
– मैले सम्झौता त कहिले पनि गरेको छैन । तर कुरा के हो भने मैले पार्टीभित्र विवाद, छलफल सबै गर्छु । आफ्नो कुरालाई सुझावका रुपमा दिएको पनि छु । तर यति हुँदाहुँदै पनि म पार्टीको मायाले नरम भएको छु । ज्यादै नङ्ग्याउने तरिकाले जाँदा पार्टीलाई असर गर्ला भन्ने चिन्ता लाग्छ । पार्टीलाई केही असर गर्छ कि भन्ने कुराले मेरो दिमागलाई हिट गरिरहेको हुन्छ । यो कमजोरी हो भने म स्विकार गर्न तयार छु ।

० तर भागबण्डामा गएर तपाई कहिलेकाँही सम्झौता गर्नुहुन्छ नि ?
– भागबण्डा होइन । मैले देउवालाई साथीहरूलाई न्याय दिलाउने कुरा हो, तपाई समग्र पार्टीको सभापति हो, यो पक्ष र त्यो पक्ष नभनीकन मूल्याङ्कनका आधारमा व्यवहार गर्नुस् भनेर सुझाब दिएँ । तर त्यसो हुन सकेन । त्यसैले अन्यायमा पर्न लागेका साथीहरूका लागि मैले काम गरेको हुँ । भागबण्डाको पछि लागेको छैन । सबैलाई मिलाउँदा यस्तो हुन्छ । अहिले एमाले र माओवदीबिचमा पनि भइरहेको छ । राष्ट्रसंघमा पनि हुन्छ । त्यसैले भागबण्डा भन्ने शब्दको दुरुपयोग गर्नु हुँदैन ।

० पार्टीले चुनावमा हारेपछि अधिकांशले सभापति देउवाको कमजोरीका कारण हारियो भने । तर सभापतिले त आफू चुनाव हारेर आउने दोष मलाई दिने भन्ने जवाफ दिनुभयो नि ?
– हारेको मान्छे बोल्न नपाउने हो र । उहाँ मात्रै बोलिरहे भयो नि अब । सिङ्गो कांग्रेस हारोस्, अनि उहाँ एक्लै जितेर कोही पनि नबोल म राजा भन्न मिल्छ ? त्यस्तो जवाफ दिन हुँदैन सभापतिले ।

० कांग्रेस त सामुहिक नेतृत्वमा चलेको छ नि ?
– पार्टी सभापतिले पार्टी पार्टीका उम्मेदवारलाई जिताउनु पर्दैन ? जिताउन सक्नुपर्छ नि त । कस्तो कुरा गरेको ? हारेको भन्न पाइन्छ ?

० अब केन्द्रिय समिति बैठकपछि के हुन्छ ?
– केन्द्रिय समितिको बैठकले महासमितिको बैठकको मिति तोक्छ ।

० विशेष महाधिवेशनको सम्भावना के छ ?
– अब विशेष महाधिवेशनमा जानुपर्छ । अन्यौलबाट पार्टीलाई मुक्त गर्नुपर्छ । यो आँट गर्नुपर्छ । महाधिवेशनमा जानुअघि गर्नुपर्ने काम तुरुन्त गर्नुपर्छ । राष्ट्रियसभाको चुनावपछि पार्टी विश्राम लिएर अल्छी गर्न पाईंदैन । पार्टीले नयाँ काँचुली फेरर नयाँ जीवन दिन सक्नुपर्छ ।

० तपाई नेतृत्व लिन तयार हुनुहुन्छ ?
– मैले लिउँला अथवा जसले सक्छ उसैले लिन्छ । संकटमा पुगेको कांग्रेसलाई जोगाउनुपर्छ ।

– प्रस्तुति : ऋषि धमला