नहर मर्मतपछि २ हजार हेक्टरमा खेती

नहर मर्मतपछि २ हजार हेक्टरमा खेती


किशोर बुढाथोकी/सिन्धुपाल्चोक

भूकम्पले क्षति पुर्‍याएको सिंचाई मर्मत भएपछि चौतारा साँगाचोकगढी नगरपालिका–१ को झण्डै दुई हजार हेक्टर जमिनमा खेती सुरु गरिएको छ । सिंचाई पुनर्निर्माणले खेत तथा बारीमा पानी झरेपछि यहाँका एक सय ६५ धुरीले अहिले आफ्नो खेतीयोग्य जमिन हराभरा बनाएका हुन् ।

अहिले यहाँका किसानले वर्षको तीन बालीसमेत लगाउन थालेका छन् । भूकम्पपछि पानीको अभावले उनीहरूले वर्षको एक बाली मात्रै घरमा भित्र्याउने गरेका थिए । कारितास जर्मनी र कारितास नेपालको सहयोगमा जनहित ग्रामीण सेवा समितिको जिविकोपार्जन र खानेपानी तथा सरसफाई पुनस्र्थापना परियोजना कार्यक्रमअन्तर्गत सिंचाई मर्मतपति यहाँका किसान अहिले व्यवसायिक खेती गर्ने सोचमा समेत छन् ।

‘भूकम्पपछि खेतबारी बाँझो रहने अवस्थासम्म आयो,’ किसान अप्सरा कटुवालले भनिन्, ‘अब त ढुक्कै भएको छ, सिंचाई मर्मत भएकै कारण खेतमा चौविसै घण्टा पानी झर्छ ।’ पहिले आफ्नै प्रयोगका लागि तरकारी लगाउने उनले अब व्यवसायिकतातिर जानेसम्म सोच बनाएको सुनाइन् । ‘पहिले पानी अभावले वर्षको एक बाली मात्रै लगाउँथे, अब त तीन बाली भित्र्याउन सकिन्छ ।’ उनले भनिन् । कटुवालले अहिले आफ्नो खेतमा आलु लगाएकी छिन् । यसको उत्पादनपछि मकै रोपेर बर्खामा धान लगाउने सोचमा रहेको उनले बताइन् ।

‘सिंचाई सुविधा पाएपछि भर्खरै भित्र्याएको धान बालीको उत्पादन पनि बढ्यो,’ उनले भनिन्, ‘अहिले लगाएको आलुको उत्पादन पनि बढ्ने विश्वास गरेकी छु ।’ उनले कृषिउपजबाटै घर धान्न पर्ने भएकाले सिंचाई सुविधाले आफूलाई निकै फाइदा पुगेको बताइन् । समयमै पानी खेतमा लगाउन पाएकले यो वर्ष धानको उत्पादन अघिल्लो वर्षको भन्दा बढेको थियो ।

भूकम्पले र्सिंचाईमा क्षति पु¥याउँदा यो गाउँका करिब २ हजार रोपनी जग्गा बाँझो बसेको स्थानीय बृद्ध श्रीबहादुर कटुवाल बताउँछन् । ‘भूकम्पले कुलोमा क्षति पु¥याएपछि गाउँवासीले तरकारीसमेत बजारबाट किनेर खाने गर्दथे ।’ उनले भने । उनकाअनुसार यो राणाकालीन कुलो हो । पर्याप्त पानी पाएपछि अहिले यहाँका गाउँवासीले आलु र तोरी आफ्नो खेतमा लगाएका छन् ।

स्थानीयको श्रमदान र संस्थाको थप आर्थिक सहयोगले सिंचाई मर्मत गरिएको हो । जनहितका कार्यक्रम संयोजक रोहित शर्माले परियोजनाबाट संस्थाले १३ लाख १४ हजार रुपैयाँ सहयोग गरेको हो । ‘समुदायबाट एक लाख ३१ हजार रुपैयाँ बराबरको सहयोग श्रमदान भएको छ,’ उनले भने, ‘हामी र समुदाय मिलेर झण्डै १ हजार चार सय मिटर कुलो मर्मत गरेका हौँ ।’