सांसद बन्न आरजुको लबिङ

सांसद बन्न आरजुको लबिङ


प्रतिनिधि सभा निर्वाचनमा कैलालीबाट अकल्पनीय हार ब्यहोरेकी देउवापत्नी आरजु राणाले राष्ट्रिय सभामा आउन लबिङ शुरु गरेकी छन् ।

आफू निकटका केही प्रदेश सभा सदस्यहरु मार्फत आरजुले आन्तरिक लविङ शुरु गरेकी हुन् ।
राष्ट्रिय सभामा आउन आरजुले कांग्रेस डडेलधुराका सभापति तथा कांग्रेस प्रदेशसभा सांसद कर्णबहादुर मल्ललाई समेत आफ्नो हातमा लिएको बुझिएको छ ।

मल्ललाई प्रभावमा पार्दै आरजुले आफूनिकट प्रदेश नं ७ का केही महिला सांसदहरुलाई प्रलोभनमा पारेर सोमबार विज्ञप्ति समेत जारी गराएकी छन् । उनीनिकटका केही महिलाले जारी गरेको विज्ञप्तिमा कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय बोर्डसँग नेतृ राणालाई राष्ट्रियसभाको उमेदवार बनाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या न्यून हुने भन्दै राणालाई उम्मेदवार बनाउन आग्रह गरिएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु दिब्यश्वरी शाह, उमादेवी बादी, नन्दा बम र अम्बिकाकुमारी थापाले मागपत्रमा हस्ताक्षर गरेका छन् ।

मंसिर २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली ५ बाट उम्मेदवार बनेकी राणा नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन् । चुनावमा पराजित भएकी पत्नीलाई जसरी पनि सांसद बनाउन प्रधानमन्त्री देउवाले भित्रभित्रै गतिवीधि गर्दै आएको चर्चा कांग्रेसवृत्तमा चल्दै आएको छ ।