बरु जनताले नै यिनलाई सिकाउँछन्

अन्तर्राष्ट्रिय हुने सौभाग्य पाएको क्रिस्तानी धर्मप्रवर्तक इशु क्राइष्टको नाममा चलेको इस्वी सम्वत् २०११ को सुरुवातसँगै नेपालमा सत्ता सञ्चालक समूहहरूका दुईवटा ‘साहसी अभियान’ सुरु भएका छन् । सरकारबाट घोषित पर्यटन वर्ष २०११ र नेपाली काङ्ग्रेसबाट घोषित जनजागरण अभियान । मुलुकमा आएको कथित शान्तिपछिको उपहार अकस्मात् हुने बन्द, तोडफोड, जलस्रोतको धनी भनेर सबैको फलाको भएको मुलुकमा बिजुली, पानीको चरम अभाव, शान्तिसुरक्षाको दयनीय अवस्था अनि मुलुकका जनशक्तिको विदेशपलायनको ताँती लागेको बेला पर्यटन वर्ष घोषणा गरिनु हदैसम्मको हिम्मत हो । विदेशी सद्भावना र सहायताले नै चल्ने नयाँ नेपालमा आफ्नो राष्ट्रिय ध्वजावाहकसँग विमान नै नभए पनि विदेशी हवाई कम्पनीहरूलेे पनि नेपालको पर्यटन वर्षको लाभ पाउने भए । जे होस्, थोरै भए पनि पैंचो त तिरियो । पर्यटन वर्षप्रति शुभकामना र शुभेक्षा प्रत्येक नेपालीले गरेका छन् ।
इतिहास बोकेको भनेर दाबी गर्ने नेपाली काङ्ग्रेसको जनजागरण अभियान भने पर्यटन वर्ष घोषणाभन्दा ज्यादा दुस्साहसपूर्ण छ । दशकौंदेखि जनसाधारणको सामना गर्न नसकेको र आफ्नै जीवित रहेका संस्थापकहरूबाट परित्यक्त नेपाली काङ्ग्रेस दुई सय चालीस वर्षको नेपाल एकीकरणको इतिहासलाई कुनामा पन्छाएर छ/सात दशकको आफ्नो इतिहास देखाएर जनता भुल्याउन सकिन्छ भन्ने भ्रममा परेको छ । देशको निमित्त मरिमेट्ने आफ्ना संस्थापक कार्यकर्ता तथा हजारौँ राष्ट्रियतालाई आत्मामा राख्ने शुभेच्छुकहरूलाई लोप्पा ख्वाउँदै नेपालको राष्ट्रिय झन्डालाई टेबुलपोस बनाएर रमझम गर्न मनपराउने नेताहरू जनतालाई राष्ट्रियता खतरामा परेको सुनाउन अघिसर्नु आफै मा कम रोचक छैन । नेपाल र नेपालीको गौरव र वीर पुर्खाहरूको रगतले रक्षित झन्डाको अपमान गर्नेहरूले सिकाउने राष्ट्रियता कस्तो होला भन्ने कुतूहल स्वाभाविक छ ।
उपलब्धिको शिखर ठानिएको विस्तृत शान्ति-सम्झौता सम्पन्न हुँदा नेपाली काङ्ग्रेसले युगपुरुष विशेषण दिइएका गिरिजाले सबैले माओवादी लोकतान्त्रिक शक्ति होइन भनेको र आफूले माओवादीलाई लोकतान्त्रिक शक्ति सावित गरेको आसययुक्त उद्गार व्यक्त गरेका थिए । हिजो आफ्ना सयौँ कार्यकर्ताको हत्यालाई अवमूल्यन गर्दै जनतालाई माओवादी लोकतान्त्रिक शक्ति हो भन्ने वकालत गरेको नेपाली काङ्ग्रेस अब त्यही माओवादीलाई गैरलोकतान्त्रिक शक्ति हो भनेर भन्न जनतासमक्ष आउँदैछन् अरे । यो लबस्तरोपनको हिसाब आफ्ना परिवारजन गुमाउने नेपाली काङ्ग्रेसका शुभेच्छुकले नेतृत्वसँग पक्कै माग्नेछन् ।
नेतृत्वलाई अनुकूल हुँदा आफ्ना कार्यकर्ता तथा शुभेच्छुकहरूलाई कसैको गुणगान गर्न लगाउने र नेतृत्वको प्रतिकूल हुँदा त्यसैको खोइरो खन्न लगाउने कार्य आफूलाई मालिक र जनतालाई नोकर सम्झने प्रवृत्ति हो । सम्भवतः वामपन्थीहरूले भन्ने गरेको सामन्ती संस्कार भनेको यही हो
कि – गणेशमान सिंहको काङ्ग्रेससँगको असन्तुष्टि र कृष्णप्रसाद भट्टराईको काङ्ग्रेस परित्यागले पनि तानाशाही समाप्त पार्न नसकेको नेपाली काङ्ग्रेसको नेतृत्व वंश परम्परामा जाँदै गरेको जगजाहेर छ । नेपाली काङ्ग्रेसमा स्थान पाउन कुनै न कुनै प्रभावशाली नेताको नातेदार वा कृपापात्र हुनुपर्छ भन्ने आमसोचाइ बनेको छ । के यो प्रश्न राख्ने मौका तल्ला तहका कार्यकर्ता वा सर्वसाधारणले पाउलान् त – काङ्ग्रेसी सिद्धान्तलाई बोकेका कारणले नै आफ्ना प्रियजन मारिएको र श्रीसम्पत्ति सबै कब्जामा परेको दुःख र त्यसमा काङ्ग्रेस नेतृत्वले लिएको उदासीनता सबैले चटक्कै बिर्सेका होलान् र – राष्ट्रियताकै सवालमा पनि काङ्ग्रेस उच्च नेतृत्वमा बस्नेहरूले प्रदर्शन गरिआएका हेपाहाभाव के क्षमायोग्य छ त – सर्वसाधारणसँग यस्ता प्रश्नको ठूलै पेटारो छ ।
गिरिजाको विदेशी नातेदारहरू र नेपालको शासनमा तिनका हालिमुहाली अनि र्डार्फर काण्डताकाका गृहमन्त्री कृष्ण सिटौलाको चुरिफुरी नेपाली काङ्ग्रेसमाथि लागेको ठूलै दाग हो । जनताले यी नामहरू लिँदा स्थानीय काङ्ग्रेस कार्यकर्तालाई मुख लुकाउँदै भाग्ने अवस्था आइपर्छ । मीनेन्द्र रिजाल र गगन थापाको राष्ट्रिय झन्डालाई टेवुलपोस बनाएर पार्टी गरेको फोटोको पनि स्थानीय कार्यकर्तासँग कुनै जवाफ छैन । काङ्ग्रेसले राष्ट्रियताको बारेमा जागरण अभियान गर्नुभन्दा बरु आप+mै आफ्नो उच्च संयन्त्रमा नै राष्ट्रियताको पाठ पढ्ने वा पढाउने गरे उपयुक्त हुन्छ । नेपालीहरू र तल्ला तहका काङ्ग्रेसीहरू राष्ट्रियताले ओतप्रोत छन् बरु तिनीहरूले नै काङ्ग्रेस उच्च नेतृत्वलाई राष्ट्रियताको दीक्षा दिन सक्छन् । झन्डाको अपमान गर्ने र जर्मनी काङ्ग्रेसका पिछलग्गुहरूले कसैलाई राष्ट्रियताको पाठ पढाउनै पर्दैन । बरु पढ्न आएमा कसैले पनि उनीहरूलाई नै राम्रैसँग प्रशिक्षण गर्न सक्छ ।
– स्वयम्भुनाथ कार्की, विराटनगर-१

मनपरी पार्किङ शुल्क कायमै
राजधानी सहरका सवारीधनीहरू पार्किङ शुल्कका नाममा जथाभावी रकम असुल गरिने समस्याबाट पीडित बन्दै आएको कुरा नौलो होइन । लामो समयसम्म यस विषयमा आँखा चिम्लँदै आएको सम्बन्धित निकायले हाल जथाभावी पार्किङ शुल्क उठाउनेहरूलाई कारबाही गर्ने सूचना जारी गरेको थियो । सूचनाअनुसार तोकिएको निश्चित स्थानमा पार्किङ गर्दा मोटरसाइकलवालाले पाँच र कारधनीले बीस रुपैयाँ शुल्क बुझाउनुपर्ने, त्यसभन्दा बढी असुल्न खोज्नेलाई प्रहरी कारबाही हुने भन्ने छ । तर, यसरी सूचना जारी गरेर सवारीधनीहरूमा खुसीको सञ्चार गराएको निकाय फेरि निदाएजस्तो अनुभूति भएको छ । अहिले पनि लुकेर होइन अनेक नामधारी क्लबको नाममा खुल्लमखुल्ला रसिद छापेर मोटरसाइकलको प्रतिघन्टा १० र चारपाङ्ग्रेसँग २० रुपैयाँ असुल्ने काम काठमाडौंका अनगिन्ती स्थानमा भइरहेका छन् । यस्तो अवैध काम गर्नेहरू कारबाहीको अधिकार बोकेका सम्बन्धित निकायको नजरमै नपरेका हुन् कि कारबाही गर्नै नसकिएको हो – कि पीडित आफैंले फिल्डमै ‘जनकारबाही’ गर्नुपर्ने हो – बुझ्न सकिएन । कृपया सम्बन्धित पक्षको ध्यान यसतर्फ शीघ्रातिशीघ्र पुगोस् ।
– आरएन पीडित, पाको -न्यूरोड), काठमाडौं

प्रतिक्रिया