चेली बिक्री गर्ने पाँच लाख धरौटीमा रिहा

चेली बिक्री गर्ने पाँच लाख धरौटीमा रिहा


भारतका बेश्यालयमा गाउँका २ सय भन्दा धेरै चेलीलाई लगेर बिक्री गरेको आरोपमा पक्राउ परेका नुवाकोटका एक वडाअध्यक्षलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ।

मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर मुद्दामा नुवाकोटको दुप्चेश्वर–१ का वडाअध्यक्ष सुनबहादुर तामाङलाई आइतबार काठमाडौं जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

प्रहरीको अनुसन्धानमा उनले गाउँका २ सय भन्दा धेरै चेलीहरु बम्बई तथा दिल्लीका बेश्यालयहरुमा लगेर बिक्रि गरेको खुलेको थियो । एक महिलासँग मिलेर उनी आफैंले पनि दिल्ली र मुम्बईमा बेश्यालय चलाउदै आएको प्रहरी अधिकारीहरु बताउँछन् ।

बेश्यालयबाट भागेर आएका युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई पक्राउ गरी मानब बेचबिखन मुद्दा दायर गरेको थियो ।  १५ वर्ष कैद सजाय माग गरी मुद्दा दायर गरेकोमा उनलाई धरौटीमा छाड्ने आदेश भएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु आश्चर्यमा परेका छन् ।

सुनबहादुर २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न व्यक्ति हुन् । २०५१ सालमा झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।