यी हुन् अनुभवका खानी, नगरौँ दुर्व्यवहारको बानी

यी हुन् अनुभवका खानी, नगरौँ दुर्व्यवहारको बानी


– निर्जला कक्षपति

महिला र बालबालिकामाथि हुने गरेका हिंसा र दुर्व्यवहार समाजमा निकै रहेको हामीलाई जानकारी छ, तर वृद्धवृद्धामाथिका हिंसा र दुर्व्यवहारसम्बन्धी समाचार सञ्चारमाध्यममा कमै आउने गरेका कारण यस्ता घटनाबारे कमै सुनिन्छन् र चर्चा पनि कम हुने गर्छ । के घटना कमै भएका कारण समाचार कम भएका हुन् त ? पक्कै होइन । किनभने, हामीकहाँ वृद्धवृद्धामाथि हुने गरेका हिंसा र दुर्व्यवहारका आवाज उठाइदिने खास कोही भएनन् ।

केही दिन पहिले एक आफन्तकहाँ जाने मौका मिलेको थियो । त्यहाँका वृद्ध बा–आमालाई नभेटेको धेरै भयो भनी भेट्न गएकी थिएँ । पङ्क्तिकार पुग्नासाथ बुढीआमाले बर्बर्ती आँखाबाट आँसु झारिन् र छोरा–बुहारी नाता–नातिनीले गर्ने गरेको दुर्व्यवहारका बारे सुनाउन थालिन् । मेरो मनले भन्न थाल्यो, हत्तेरिका यस्तो बुढाबुढी बा आमालाई के गरेको होला ! करौडौंको सम्पत्ति छ, बुढाबुढीको हातमा केही छैन । सम्पत्ति बुढाबुढीकै नाममा भएपनि घरभाडा सबै छोरा बुहारीले उठाउने रहेछन् । औषधि उपचार गर्न रुपैयाँ माग्यो भने सुतेर खाएर बस्नेलाई केको पैसा चाहियो भन्दै हकार्ने रहेछन् । बुढाबुढीलाई कोही भेट्न गयो भने छोराबुहारी, नातीनातिना उल्टै बुढाबुढीलाई फोन गरेर किन बोलाएको हँ ? भन्दै हकार्ने रहेछन् । भएभरको सम्पत्ति जति मेरो नाममा गरिदेउ भनेर छोराले आमालाई जहिले मानसिक तनाव दिने रहेछन् । जति समय त्यहाँ रहियो, बुहारीको कर्कसे व्यवहारले कतिबेला फर्कौं जस्तो लाग्यो । तर घर फर्किसकेपछि पनि ‘हे दैव ! बाबुआमाले कमाएको सम्पत्तिमा पूरै हक जमाएर बस्ने, त्यसैबाट पालिने, तर बाबुआमालाई भने के व्यवहार गर्या होला’ भन्ने कुराले भत्भती मन पोलिरह्यो ।

यस्तो समस्या अहिले एउटा घरमा मात्र छैन । घरका सबभन्दा जेठाबाठा बाआमा नै समस्याका जड बनेका छन् । जति मानिस शिक्षित हुँदै गएको छ, बुढाबुढीलाई हेला गर्ने प्रवृत्ति बढ्दै गएको छ । पहिले–पहिले मानिसहरू संयुक्त परिवारमा बस्थे । एकअर्कामा माया प्रेम हेरचाह सबै हुन्थ्यो । ठूुलाबडाले भनेका कुराहरूलाई कदर गरिन्थ्यो । आदर गर्ने गरिन्थ्यो । तर अहिले जमाना पूरै परिवर्तन भएको छ । संयुक्त परिवारमा बस्नै नपरे हुन्थ्यो भन्ने कुरा नयाँ आउने बुहारीले सोच्ने गर्छिन् । बुबाआमासँग बस्दा झन्झट हुन्छ भनेर प्रायजसो युवाहरू छुट्टै बस्न रुचाउँछन् । जिन्दगीभर छोराको आश गरेर बस्ने बिचरा बाबुआमा सन्तानले देखाएको व्यवहारले आँखाबाट तुरुतुरु आँसु झार्दै बस्न बाध्य हुनुपर्छ ।

बृद्धवृद्धाले बोलेका कुरालाई गिज्याउनु, तुच्छ रुपले बोल्नु, गनगन गर्छ भनेर दूर्व्यवहार गर्नु र सम्पत्ति देउ भनेर हरेक दिन वृद्धवृद्धालाई मानसिक यातना दिनु पनि हिंसाकै रुप हो ।

अहिले हाम्रो समाजमा बुढाबुढी भनेको केही काम नलाग्ने अथवा काममा नआउने सामग्री जस्तो ठानिएको छ । यो विल्कुल गलत सोंचाई हो । वृद्धवृद्धासँग अरु केही नभए पनि अनुभव हुन्छ । यो अनुभव भन्ने कुरा वर्षौ खर्चिएर मात्र प्राप्त हुने ज्ञान हो । यो ज्ञान कितावी ज्ञान जस्तो तुरुन्त बिर्सीएर जान पनि सक्दैन । हामीले हाम्रा वृद्ध बा–आमासँग अनुभवको ज्ञान लिन सक्छौं । तर हामी यो कुरा गर्दैनौँ, किनभने हामीसँग २४सै घण्टा हातमा मोवाइल छ र हामी यस्तै–यस्तैमा अभ्यस्त छौं । एउटा कोठामा चारजना व्यक्ति सँगै रहे पनि त्यहाँ कुनै कुराकानी अथवा बोलचाल नै हुँदैन । पहिले–पहिले दुइजना व्यक्ति भेट हुने वित्तीकै कति लामो गफ हुने गर्थ्यो । रातको समयमा परिवारका सबै सदस्य भेला भएर गफ गर्ने प्रचलन हुन्थ्यो । यसले गर्दा परिवारमा प्रेम, सद्भाव र विश्वास कायम हुन्थ्यो । तर अहिले मानिस धेरै व्यस्त भएर हो अथवा पहिलेका भन्दा जान्ने–बुझ्ने भएर हो, घरका सबभन्दा ठुलाबडामाथि नै तिरस्कार गरिएको छ ।

जस्तो विरुवा रोप्यो उस्तै फल फल्छ भनी गीतामा भनिएको छ । हामीले केटाकेटीलाई जस्तो सिकायो उस्तै सिक्ने गर्छन् । आफनो बाबुआमाले वृद्धवृृद्धालाई माया गरेको देख्यो भने भोली गएर उसले पनि आफ्ना वृद्ध बा–आमालई माया गर्छ । हेला र तिरस्कार गरेको देख्यो भने भोली गएर उसले पर्नि तिरस्कार नै गर्छ । त्यतिबेला मेरो छोरोलाई राम्रो संस्कार किन दिन सकिएन अथवा राम्रो संस्कार किन सिकेन भनेर पछुताएर के गर्नु ? त्यति बेला मेरो छोराले मलाई किन यति हेला गरेका होला भनेर पुर्पूरोमा हात राखेर के गर्नु ? त्यसैले राम्रो संस्कारको सुरुवात आफैबाट गर्न सिक्नुपर्छ । श्रीमान् आफ्नो हुने छोराछोरी आफ्नो हुने, त्यही श्रीमान्लाई जन्मदिने बाबुआमालाई छिःछीः र दुरदुर गर्नुपर्ने किन ? बुढेसकाल भएपछि वृद्धाश्रम अथवा बुढाबुढीको हेरचाह गर्ने ठाउँमा पठाउनुपर्ने किन ? बुढाबुढीले आफूले दुःख गरेर कमाएको सम्पत्तिमा छोरा बुहारीले रजाइँ गर्ने, तर हात–खुट्टा नचल्ने अवस्थामा छोरा–बुहारीको दुर्व्यवहार खेपेर बस्नुपर्ने ?

स्वाभाविक हिसावले वृद्ध उमेर भएपछि मानिसहरू अलि बढी गनगन गर्छन् । यसरी गनगन गर्नुलाई चिकीत्सकहरू स्वाभाविक रुपमा लिन्छन् । बुढाबुढीहरूलाई यहि आरोप लाग्ने गर्छ कि यो बुढा अथवा बुढीले जतिबेला पनि गनगन गर्छ । आफूले आफ्नो उमेरमा भोग्दै गर्दै आएको कुरा आफूअनुकूलको नहुँदा असन्तुष्टि व्यक्त गरिनु स्वभाविक हो । बुढाबुढीको गनगन पनि यहि कुरामै हुने गर्छ । कसैकसैको स्वभाव नै एउटै कुरा दोहोर्याई–तेहर्याई भन्ने खालको हुन्छ । कसैको बानी एउटा कुरालाई लिएर दिनभर कराइरहने हुन्छ । यी सब उमेरकै कारणले पनि भएकाहुन सक्छ । फेरि मानिसको स्वभाव नै हुन्छ कि उसले भनेका कुराहरू ध्यान दिएर सुनिदियोस् । एक अनुसन्धाने पनि के देखाएको छ भने वृद्धवृद्धा र केटाकेटीको स्वभाव एकैखाले हुन्छ । जस्तो बच्चालाई त्यति ध्यान पुर्याउन सकिएन भने उ चिच्याएर रुन्छ र सबैको ध्यान खिच्छ । बुढाबुढी भएपछि पनि स्वभाव उस्तैखाले हुन्छ । यदि वृद्धवृद्धालाई ध्यान दिन सकिएन भने उनीहरू पनि कराउने, बिरामी जस्तो हुने र के गर्दा सबैको ध्यान खिच्न सकिन्छ त्यही नै गर्ने गर्छन् ।

त्यसैले वृद्धवृद्धालाई बोझ नठानी उनीहरूलाई माया र आदर गर्ने अनि उनीहरूले भनेका कुराहरू ध्यान दिएर सुनिदिने हो भने यस्ता समस्याहरू उत्पन्न हुँदैनन् । यहाँ त हामीसँग, वृद्धवद्धासँग सँगै बसेर कुरा गर्ने अनि उनीहरूलाई समय दिन त एकछिन पनि फुर्सद हुँदैन । जति नै व्यस्त भए पनि आफ्नो छोराछोरीको लागि भने समय निकालिन्छ किनभने छोराछोरीप्रति बाबुआमाले ठूलो आशा र भरोसा पालेका छन् । भोली त्यही छोरछोरीले पाल्छ, बुढेसकालमा स्याहार गर्छ भन्ने हेतुले आफनो बच्चाप्रति कर्तव्य पूरा गरिरहेका हुन्छन् तर त्यही जन्म दिने बाबुआमा बोझ बनिदिने गर्छ । भोली गएर मैले अहिले बाबुआमालाई जे व्यवहार गरेको छु त्यही व्यवहार मेरो छोराछोरीले देखाए भने भन्नेकुराको समेत ख्याल गरिँदैन ।

कोही व्यक्तिलाई कुट्नु पिट्नु मात्र हिंसा होइन । यसको परिभाषा व्यापक छ । बृद्धवृद्धाले बोलेका कुरालाई गिज्याउनु, तुच्छ रुपले बोल्नु, गनगन गर्छ भनेर दूर्व्यवहार गर्नु र सम्पत्ति देउ भनेर हरेक दिन वृद्धवृद्धालाई मानसिक यातना दिनु पनि हिंसाकै रुप हो । यस्ता हिंसाका बारे हामीकहाँ त्यति धेरै उजुरी पर्ने गरेका छैनन् । आफ्नै छोराबुहारी हो भनेर धेरै वृद्ध बा–आमाले यस्ता कुरा सहेरै बसेका छन् । सम्पत्तिलाई लिएर बाबुआमालाई मानसिक यातना दिने क्रम बढ्दो छ । फेरि, मेरो छोराले यस्तो दुर्व्यवहार गर्यो भनेर प्रहरी–प्रशासनसम्म जाने ताकत बुढाबुढी बा आमासँग कहाँबाट हुनु ? बा–आमा भनेका त जिउँदो देवता हुन् । आफ्ना सन्तानले गरेका हरेक गल्तीलाई सजिलै माफ गरिदिन हरदम तम्तयार हुन्छन् । आफूलाई जन्म दिने बाबुआमालाई घृणा र तिरस्कार गर्न सक्ने छोराछोरीलाई त्यहि बाबुआमाले कमाएको सम्पत्तिचाहिँ किन प्यारो लागेको होला ?

नेपालको संविधानमा २०७२ मा प्रत्येक नागरिकलाई कानुनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचविखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक छ ।

वंशजको आधारमा बाबुआमाको सम्पत्ति छोराले पाउने भएपनि ३५ वर्षसम्म विवाह नगरी बसे अविवाहित छोरीले पनि सम्पत्ति प्राप्त गर्न सकिने व्यवस्था कानूनमा छ । तर सम्पत्तिलाई लिएर बाबुआमालाई दिनहुँ यातना भने दिन पाइँदैन । आफ्नो जन्म दिने बाबुआमालाई सम्मान र इज्जत दिन नसक्नेले बाउआमाले कमाएको सम्पत्तिमाथि आँखा लगाउने हक पनि वास्तवमा नहुनुपर्ने हो । बाचुन्जेल माया, इज्जत आदर दिन नसक्नेले मरेपछि एक डल्लो पिण्ड खान दिने किन ? सक्यो भने बाँच्दाखेरि नै आफ्ना बा–आमालाई इज्जत गरौँ, मिठो बोली बचनले दुई शब्द भए पनि झर्को नमानी बोलौँ, हैन भने जसले बा–आमालाई रुवाउँछ उ पनि छोराछोरीको कारण बुढेसकालमा रुनैपर्छ । पाप फर्केर आउँछ भन्ने कुरा कलियुगमा पनि त्यत्तिकै लागू हुन्छ है ।