चितवन क्याटका अभियन्ता भुवन भेटेपछि…

चितवन क्याटका अभियन्ता भुवन भेटेपछि…


-डिल्लीराम अम्माई/बेल्जियम

नेपालीपनको मन्द मुस्कान, सामाजिक र परोपकारी भावनाले सजिएका आँखा, अनुहारमा अलिकति कौतुहलता र छट्पटी । व्यवस्थापकीय जिम्मेवारीले थिचिएर होला अलिक बढी नै छट्पटाहट देखिन्थ्यो उनको बोली र हाउभाउमा ।

परोपकारी उद्देश्यका साथ बेल्जियममा प्रदर्शन हुन गैरहेको चलचित्र ‘ए मेरो हजुर’ को प्रदर्शनीको लागि उनी हलमा टिकट बेच्दै थिए र चितवन क्याटका उपाध्यक्ष श्रीराम प्रसाई तथा अन्य सहकर्मीलाई केही निर्देशन दिँदै थिए। आफै पनि व्यवस्थापनतर्फ सक्रिय थिए। उनी, अर्थात् चितवन क्याटका अध्यक्ष भुवन सुवेदी । साथीहरुले मायाले बोलाउने नाम रामचन्द्र भाइ उनी, अर्थात् चितवन क्याट् मार्फत सन् २००५ देखि डायस्पोरामा परोपकारी अभियान चलाएर सम्पूर्ण चितवनवासीका हृदयमा बसाइँ सरेका एक सामाजिक अगुवा ।

लामो बाउला भएको सेतो धर्के सर्ट माथि कालो ज्याकेट, हल्का छोटो कालो कपाल, चुपुक्क मिलेका दाँतका लहर । देख्नेवित्तिकै हात मिलाइहाल्ने र मुसुक्क मुस्कुराउने, कसैलाई मुखले नबिझाउने यी युवक सामाजिक क्षत्रमा कसैले विश्वास गर्न नसक्ने किसिमले हौसिन्छन् । ब्याक्तिवादी जीवनशैलीले ग्रस्त प्रवासमा यति दरिलो सामाजिक भावना र परोपकारी मनहरु भेट्टाउन मुस्किल नै पर्छ। त्यसमा पनि आफ़्नो परिवार र ब्यावशायिक व्यस्तताको बीच समय निकालेर परोपकारी अभियानमा लाग्नु चुनौतीपूर्ण हुँदाहुँदै पनि उनले सबैतिर भ्याएका छन्।

पंक्तिकारले झोलाबाट कागज निकालेर उनको हाउभाउ र अन्तर्मनको उकुसमुकुसलाई मनैमन महसुस गर्दै केही जिज्ञासा थुपार्दै थियो। उनी दर्शकका गतिविधि, प्रस्तुति र प्रतिकृयासँग गिजोलीइरहेका थिए ।

पंक्तिकारको जिज्ञासाको जवाफमा उनी भन्दै थिए, ‘सानै उमेरदेखि परोपकारी भावना जाग्थ्यो, समाजसेवामा छुट्टै आनन्द छ जस्तो लाग्दथ्यो, नेतृत्व तहमा मौका मिलेको थिएन समाज सेवाको लागि । तर बेल्जियम आएपछि २००५ बाट क्याटकी संस्थापक सिता दिदीको अद्भुत खटाई र यो अभियानलाई सुन्यको बिन्दुबाट माथि उठाउने सबै बेल्जियमका चितवनवासी अग्रजहरुको प्रेरणाले म पनि क्याट मार्फत यो अभियानमा जोडिन पुगें ।’ उनै भन्दै गए, ‘अझै थाकेको छैन, अहिले त झन् संस्थाले अध्यक्षको जिम्मेवारी दिएको छ। गर्नु धेरै छ , देखि हाल्नुभो नि… यो अभियानमा कति धेरै साथीहरु लागिपरेका छौं।’

उनले चितवन क्याटका शंकर बजगाईं, चिजकुमार श्रेष्ठलगायतका साथीहरुतर्फ देखाउदै भने, ‘यो अभियान हो, यसमा चितवन क्याट र गैरआवासीय नेपाली संघको समन्वयात्मक भूमिका समेत देखिन्छ कतिपय अवस्थामा। चितवन सहायता कोष बेल्जियम तपाईंहामी बीचको चिरपरीचित सस्था भैसकेको छ। यो सस्थाले स्थापनाकाल देखी हाल सम्म दीनदुःखीहरूको सेवामा संलग्न भएर उनीहरुको पीडामा मल्हम लगाऊने काम गरिरहेको छ। त्यस्तै यसले महाबिनाशकारी भूकम्पमा, अन्य दैवीप्रकोपमा, स्वास्थ्य शिवीरहरू सन्चालनमा उल्यख्य योगदान गरेको छ भने अति विकट ठाँउँ चितवनको स्यामराङमा विद्यालय भवन निर्माण, चितवनमा रेडक्रश भवन निर्माण, सडक बालबालिकाको लागि सहयोग र भरतपुर अस्पतालमा सहयोग गरिसकेको छ ।’ उनले हाँस्दै थपे, ‘यस सस्थाले पचास लाखको अक्षयकोष खडा गरिसकेको छ जसबाट धेरै चितावानवासीका साथै छिमेकी जिल्लाका वानवीय काममा समेत सघाउने नीति लिएका छौँ ।’

‘शुष्कतामा परोपकारी हातहरुले छोएर, मानवताको झरनाले पखालेर, डायस्पोरालाई उच्च सामाजिक सम्वेदनाले सुसज्जित गराउँदै समर्पणको सपना देख्ने बनाउनु असजिलो तर हाम्रो पुस्ताले कर्तब्य सम्झेर गर्नुपर्ने पहिलो कर्म हो। परिवर्तनको भाषण गर्दै हिँडेर भोका, नांगाकै गीत गाएर मात्र मुलुकको ऋण तिरिंदैन । त्यसैले परोपकारको दियो निभ्न दिनु हुँदैन, तेल थपिरहनु पर्छ …’ उनले यसो भनिरहँदा चलचित्र हेर्न आउने नेपालीहरु समेत भावुक बनेका थिए।

निर्देशक धर्म थापाको उपस्थितिमा प्रदर्शित ‘ए मेरो हजुर’ चलचित्रबारे उनले मुसुक्क हाँस्दै स्पष्ट पारे, ‘आम्दानीको केहि भाग निर्मातालाई दिए पनि बचेको आम्दानी क्याटको परोपकारी कोषमा रहन्छ । यो कुनै ब्याक्तिगत प्रयोजनको लागि हैन।’

आगामी कार्ययोजनाबारे प्रश्न गर्दा उनले ‘सोच र मनमा कुनै तालमेल नभए पनि हामी पुरानाको निरन्तरता, थप कार्यक्रमको लागि छलफल र आकस्मिक कार्यक्रमको लागि तयारि आवस्थामा रहन्छौ । कोष वृद्धिको लागि कार्यक्रम गरिरहेका छौँ। संस्था नियमित प्रक्रियामा चलिरहेको छ। समय चक्रअनुसार अभियानमा हामी ब्याक्ति बदलिन्छौँ तर अभियान नदी झैं अगाडी बढिरहन्छ। सफा मनले लाग्ने हो भने परोपकारी अभियानकर्मीलाई आनन्द मात्र हुँदोरहेछ ।’

उनको उत्तर सुन्दा लाग्थ्यो उनको सोच र मनमा तालमेल छ । मनभित्र मानवताको सञ्जिवनी, मस्तिस्कमा बोधिसत्व बनेर उनको जीवनलाई निर्देशित गरीरहेको छ । उनको जाँगरले चितवनका निमुखाको लागि प्रत्येक अवसरमा सुकीमोहर पनि बटुलेकै छ। परोपकारी कर्मगत शैली जान्दै नजानेका र सुन्दै नसुनेका प्रवाशी बालबालिकालाई बोधीसत्वको अनुभुति गराउने प्रेरणा पनि दिएकै छ ।

बेल्जियममा धेरै मानिस विभिन्न संघ संस्थाका नेता बने । कोही जातीय समाज, सामाजिक सङ्संस्थाका सदस्य बने, कोही अनेक रङका राजनैतिक गोठका मालिक । सरकारको विभिन्न ओहदाका सेवारत ब्यक्तित्व आउँदा घेरा हालेर मज्जाले घुमाउने प्रथा मौलाउँदो छ, तर यति महान कार्यको बारेमा कहीकतै कोहिबाट उचित चर्चा र सम्मान भए जस्तो लाग्दैन । नेपाली राजदुतावासले पनि यस्ता संस्थालाई उत्प्रेरणा दिँदै जानुपर्ने हो, मानवीय गुणको विकास र नयाँ परोपकारी योजनाको लागि एकबध्दता जनाउनुपर्ने हो । हामी सबैलाई थाहा छ, मोनाको अभियान, चितवन क्याटको अभियान र सोफियाको नेपाली भाषिक अभियान केवल सेलिब्रेटी मात्र होइन, यो चेतना र भावनाको बिस्तार पनि हो । यस्ता परोपकारी अभियानमा सबैले सहयोग गर्नु आजको आवश्यकता हो। चितवन क्याटलगायत सम्पूर्ण परोपकारी अभियान र अभियन्ताहरुलाई सलाम ।