पानीको अकाल परेपछि अत्याधुनिक वासिङ मेसिनको सेवा

पानीको अकाल परेपछि अत्याधुनिक वासिङ मेसिनको सेवा


चरिकोटमा ड्राइ क्लिनर्स प्रालिले रु ७२ लाख लगानी गरेर दोलखामा नेपालको पहिलो आधुनिक लुगा धुने मेशिन ल्याएको छ । चरिकोटका स्थानीयवासी र अन्य व्यक्तिको भौगोलिक, सामाजिक र दैनिक व्यस्त जीवनलाई दृष्टिगत गरी चरिकोट ड्राइ क्लिनर्स शुरु गरिएको आइतबार पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

चिसो मौसम र सुख्खायाममा पानीको हाहाकारका बेला अधिक व्यस्त जीवनशैलीलाई सघाउन सेवामुखी व्यवसायका रुपमा ड्राइ क्लिनर्स सञ्चालन गर्न लागिएको चरिकोट ड्राइ क्लिनर्स प्रालिका अध्यक्ष अर्जुन बुढाथोकीले जानकारी दिए ।

भारतको पञ्जाव तथा चीनको गोन्जाउ प्रान्तबाट आधुनिक मेशिन ल्याई शुरु गरिएको हो । कम्पनीले हाल ६ जनालाई रोजगारी दिएको र कम्पनी पूर्ण रुपमा सञ्चालनमा आउँदा थप आठ जनालाई रोजगारी दिन सक्ने बताइएको छ । कारखानाबाट दैनिक ५५० केजीसम्म कपडा धुनसक्ने क्षमता छ ।

कम्पनीका अर्का लगानीकर्ता नसिब कायस्थका अनुसार लगानी साँढे चार वर्षभित्र उठाइसक्ने छ । राससका अनुसार उनीहरुले लुगा धुने यो मेशिन नेपालमा नै पहिलो रहेको पनि दाबी गरेका छन् । यो क्लिनर्सबाट होटल, लज, रिसोर्ट, हस्पिटल, व्यस्त कर्मचारी, व्यापारी र गृहिणीलाई लक्षित गरिएको बताइएको छ ।