प्रचण्डलाई बाबुरामभन्दा सूर्यबहादुर प्यारो

प्रचण्डलाई बाबुरामभन्दा सूर्यबहादुर प्यारो


कम्युनिस्टहरूको दाबी छ उनीहरू पदलोलुप हुँदैनन्, तर पछिल्लोपटक माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्टहरूको परम्परागत दाबीलाई झुटो प्रमाणित गरिदिनुभएको छ । जनवादी क्रान्तिको ठूलठूला कुरा गर्दै कार्यकर्ताहरूलाई सहादत प्राप्त गर्न तयार रहन ‘र्सर्कुलर’ गर्नुहुने प्रचण्डले भित्रभित्रै भने विभिन्न शक्तिकेन्द्रहरूसँग प्रधानमन्त्री पदका लागि ‘बार्गेनिङ’ गर्दै हुनुहुन्छ । आफूलाई प्रधानमन्त्री बनाइदिए बनाइदिनेका लागि जेसुकै गर्न पनि तयार प्रचण्डले स्वदेशी शक्तिकेन्द्र मात्र होइन विदेशी शक्तिकेन्द्रलाई पनि आफू हरेक र्सत मान्न तयार रहेको सन्देश पठाउनुभएको छ । तर, बोली र व्यवहारमा ठेगान नभएका व्यक्तिका रूपमा स्थापित प्रचण्डका कुरालाई अहिलेसम्म कसैले पत्याएका छैनन् । माओवादीकै नेतृत्वमा सरकार गठन गर्ने हो भने बरु डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाइनुपर्छ भन्ने धारणा विकास भएको छ । अर्थमन्त्रीका रूपमा सफल भूमिका निर्वाह गरेर धेरैको मन जित्नुभएका बाबुराम भट्टराई साधारण जीवनशैली र व्यावहारिक सोचका कारणले पनि जनस्तरमा लोकप्रिय हुनुहुन्छ । माओवादी पार्टीभित्र उहाँको स्थिति जस्तो भए पनि पार्टीबाहिरकाहरू धेरै भट्टराईको प्रशंसक छन् । भट्टराई बोली कम र काम बढी गर्ने नेता भएर मात्र होइन बोलेको कुरामा विश्वास गर्न सकिने भएकोले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वास आर्जन गर्न सफल हुनुहुन्छ । बोली र व्यवहारमा विश्वास बढेकै कारण धेरै नेपाली तथा नेपालका शुभचिन्तक विदेशी मित्रहरूले समेत डा. बाबुरामलाई नेपालको प्रधानमन्त्रीका रूपमा हेर्न चाहेका छन् । प्रधानमन्त्री माधवकुमार नेपालले स्वयम् प्रचण्डसँग बाबुरामको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव राखिसक्नुभएको छ । काङ्गे्रस र अन्य दलहरू पनि बाबुरामकै नेतृत्वमा हो भने राष्ट्रिय सरकार बनाएर जान सकिन्छ भन्ने सोचमा छन् । तर, माओवादीकै अध्यक्ष रहनुभएका प्रचण्ड भने आफ्नै पार्टीका वरिष्ठ नेतालाई प्रधानमन्त्रीको जिम्मेवारी दिन अनिच्छुक रहनुभएको छ । भनिन्छ, प्रचण्ड आफ्नो पार्टीभित्र कुनै अर्को नयाँ शक्तिकेन्द्र विकास हुन दिन चाहनुहुन्न । बाबुरामलाई प्रधानमन्त्री बनाए सिङ्गै देशमा उहाँको प्रभाव बढ्ने र त्यस्तो प्रभावको असर माओवादीभित्र पनि पर्ने निष्कर्षसहित प्रचण्डले बाबुराम भट्टराईको बाटो छेक्ने प्रयास गर्नुभएको बताइन्छ । बाबुरामलाई प्रधानमन्त्री बनाइनुभन्दा बरु सूर्यबहादुर थापा या जोसुकै प्रधानमन्त्री बनोस्, आफ्नो पार्टी नै सरकारमा जाँदैन भन्ने भनाइ प्रचण्डको रहने गरेको छ । स्वदेशभित्र र बाहिरबाट समेत बाबुरामलाई प्रधानमन्त्री बनाउन दबाब आउनसक्ने सङ्केत देखिएपछि प्रचण्डले केही महिनाअघि ‘भारतले बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव ल्याएको’ भन्दै कार्यकर्ताहरूलाई बाबुरामविरुद्ध भड्काउन प्रयास गर्नुभएको थियो । त्यतिमात्र होइन, त्यसपछि प्रचण्डले राष्ट्रिय स्वाभिमानको आन्दोलन भन्दै नेपाली जनतालाई छिमेकी मित्रराष्ट्र भारतविरुद्ध भड्काउने अभियान सुरु गर्नुभएको थियो । तर, अहिले पछिल्लो चरणमा प्रचण्डको राष्ट्रियताको आन्दोलन शिथिल भएको छ । उहाँ कृष्ण सिटौला र शेखर कोइरालाहरूमार्फत ‘कुरा मिलाउने र प्रधानमन्त्री पद पड्काउने’ अभियानमा लाग्नुभएको छ । प्रचण्डको पछिल्लो प्रयासले घ्यू लाग्ने स्थिति बनाइन नसकेको भए पनि पहिलेभन्दा केही सुधार ल्याउने सफलता भने प्राप्त गरेको बुझिन्छ । प्रचण्ड प्रधानमन्त्री पद पाउन जसरी ‘क्रेजी’ भएर लागिपर्नुभएको छ, त्यसले उहाँको नियतमाथि खोट हुनसक्ने अनुमान गर्न थालिएको छ । ‘पहिले प्रधानमन्त्री बन त्यसपछि त्रि्रो सत्ता टिकाउन हामी कुनै पनि तरहले सहयोग गर्नेछौँ’ भनी उत्तरतर्फका छिमेकीले भनेयता प्रचण्ड प्रधानमन्त्री बन्न ज्यादा छटपटिनुभएको हो । ‘दक्षिणको सहयोग लिएर प्रधानमन्त्री बन्ने र उत्तरको सहयोग लिएर प्राप्त सत्तालाई स्थायित्व दिने’ जुन रणनीतिक चालबाजीका साथ प्रचण्ड बढिरहनुभएको छ यसले प्रचण्डप्रतिको आशङ्का मात्र बढाएको छैन उहाँको इमेजमा समेत धक्का पुर्‍याएको छ । प्रचण्डलाई प्राप्त लोकतन्त्र र देशको अलिकति पनि माया छ भने उहाँ प्रधानमन्त्री पद डा. बाबुराम भट्टराईलाई छोड्न राजी हुनैपर्ने अवस्था छ । आफैं प्रधानमन्त्री बन्नुपर्छ भन्ने सोच नत्यागेसम्म राष्ट्रिय सहमति बन्ने या माओवादीलाई सरकारको नेतृत्व प्राप्त हुने दुवै सम्भावना देखिँदैन । सूर्यबहादुर, शेरबहादुर या त्यस्तै कुनै बहादुरको नेतृत्वमा सरकार गठन भएमा त्यसका विरुद्ध जनता भड्काउन, कार्यकर्ता परिचालन गर्न र बलजफ्ती सत्ताको वागडोर आफ्नो हातमा लिन सकिन्छ भन्ने विश्वास सायद प्रचण्डमा छ । त्यसैले प्रधानमन्त्रीका रूपमा बाबुरामलाई भन्दा सूर्यबहादुरहरूलाई ‘रोज्ने’ सोचमा प्रचण्ड रहनुभएको बुझिन्छ । प्रचण्डको यस किसिमको सोचले देशमा तनाव र द्वन्द्व बढाउने त निश्चित छँदै छ, यसबाट प्रचण्डपथ भनेको प्रचण्ड एक्लै सधैं प्रधानमन्त्री बनिरहनुपर्छ भन्ने विचार-पथ रहेछ भन्ने पनि पुष्टि गराउँदै लगेको छ ।

डाफर काण्डमा यिनलाई आपत
सुडानमा शान्ति स्थापना गर्न संयुक्त राष्ट्रसङ्घीय मिसनमा भाग लिन जाने नेपाल प्रहरीको टोलीका लागि सामान खरिदमा व्यापक भ्रष्टाचार भएको आशङ्कामा सार्वजनिक लेखा समितिले छानबिन प्रक्रिया अघि बढाएको छ । प्रहरीका लागि खरिद गरिएका एपीसी, पाल तथा अन्य सामानहरू अत्यन्त कमसल गुणस्तरको भएकोले सुडानको डाफरमा खटिएका प्रहरीले कठिनाइ मात्र भोगिरहेका छैनन्, सामानका कारण नेपालको बेइज्जतीसमेत भइरहेको छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, झापाका कृष्ण सिटौला गृहमन्त्री तथा उमेश मैनाली सचिव र ओमविक्रम राणा आईजीपी भएका बेलामा भएको उक्त भ्रष्टाचार काण्डलाई ‘डाफर काण्ड’ का रूपमा पनि चिन्ने गरिएको छ । त्यस प्रकरणमा तत्कालीन गृहमन्त्री तथा गृहसचिवको व्यापक दबाबमा कमजोर सामान खरिद गर्न नेपाल प्रहरी बाध्य भएको बुझिएको छ । करिब आठदेखि दस करोडसम्म भ्रष्टाचार भएको अनुमान गरिएको उक्त प्रकरणमा सिटौला र मैनालीको विशेष संलग्नता रहेको देखिएकै कारण उहाँहरूलाई लेखा समितिले बयान लिएको छ । बयानका क्रममा संसारका अन्य भ्रष्टाचारीहरूले जस्तै सिटौला र मैनालीले पनि आफूलाई केही थाहा नभएको बताएका छन् । करोडौंको सामान खरिद गर्दा पनि आफूलाई थाहा नभएको भनी गैरजिम्मेवार जवाफ दिएपछि उहाँहरूबाट भ्रष्टाचार भएको रहेछ भन्ने विश्वास बढाएको छ । डाफर काण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्ने बुझिएको छ । विस्तृत छानबिनका क्रममा राजनीतिकर्मी तथा अन्य केही व्यक्ति पनि तानिन सक्ने देखिएको छ ।

राष्ट्रिय सहमति कसको नाममा ?

प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने अन्तिम तयारीमा रहेको माओवादी अचानक राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सोचमा फर्किएपछि मुलुकमा कसको नेतृत्वमा सहमतिको सरकार गठन हुनसक्ला भन्ने चासो उत्पन्न भएको छ । अविश्वासको प्रस्ताव पारित हुने अवस्था नरहेको र बहुमतीय पद्धतिको सरकार गठनले मुलुकको विद्यमान समस्यालाई सम्बोधन गर्न पनि नसक्ने विचार माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राख्नुभएपछि उहाँको मतमा पार्टीका अन्य नेताहरूले पनि सहमति जनाउनुभएको बताइन्छ । भनिन्छ, यतिबेला माओवादी पार्टीभित्र डा. भट्टराईलगायत केही नेताहरू सहमतिको सरकारका पक्षमा दर्बिलो ढङ्गले उभिनुभएको छ । यही अडान राख्दै भट्टराईले अविश्वास प्रस्ताव गर्दा गर्न तयार गरिएको कागजमा दस्तखत गर्न पनि अस्वीकार गर्नुभएको थियो । माओवादी तत्काल सहमतिको सरकारका पक्षमा उभिएपछि प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली काङ्गे्रस पनि सिद्धान्तत: सहमतिकै सरकारको पक्षमा देखिएका छन् । प्रधानमन्त्री नेपालले आफू सहमतिमा बाधक नबन्ने धारणा बारम्बार प्रकट गर्दै आउनुभएको छ । सहमतिका लागि उहाँ पद त्याग गर्न पनि तयार रहनुभएको बताइन्छ । तर, सहमति कसको नाममा – यस प्रश्नको स्पष्ट जवाफ भने कसैसँग पनि देखिँदैन । आफूले पद छोड्नुपरेको अवस्थामा माधव नेपालको समर्थन नेपाली काङ्गे्रसका नेता रामचन्द्र पौडेल या माओवादी नेता डा. बाबुराम भट्टराईमध्ये एकलाई रहने बुझिन्छ । उहाँले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने कार्य सम्भव नहुने धारणा बनाउनुभएको छ । बरु एमालेकै नेतृत्वमा सरकार गठन गर्ने अवसर प्राप्त भएमा झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन पनि नेपाल तत्पर रहनुहुने बताइन्छ । रामचन्द्र पौडेल, डा. बाबुराम भट्टराई र झलनाथ खनालबाहेक अरू कसैको नेतृत्वमा सहमतिको सरकार बन्न सक्छ भन्ने विश्वास प्रधानमन्त्री नेपालमा नरहेको बुझिन्छ । तर, नेपाली काङ्गे्रस भने वर्तमान सत्तासमीकरण र सरकारका पक्षमा दर्बिलो ढङ्गले उभिएको छ । काङ्गे्रस यही सरकारले संविधान निर्माण गर्ने कार्यको अगुवाइ गर्नुपर्छ र अर्को चुनावसम्म सरकारको निरन्तरता हुनुपर्छ भन्ने पक्षमा छ । कदाचित राष्ट्रिय सरकार गठन गर्ने, हुने या गर्नुपर्ने अवस्था आयो भने त्यस्तो अवस्थामा काङ्गे्रस बाधक बन्ने देखिँदैन । तर, प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने पक्षमा भने काङ्गे्रस पनि छैन । आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठनको निम्ति काङ्गे्रस जुट्ने देखिन्छ । आफ्नो नेतृत्वमा सहमतिको सरकार बन्ने स्थिति नभएमा काङ्गे्रसले पनि माओवादी नेता डा. बाबुराम भट्टराईलाई समर्थन गर्ने सम्भावना छ । यर्सथ यतिबेला राष्ट्रिय सहमतिको सरकार गठन हुने भएमा त्यसको नेतृत्व रामचन्द्र पौडेल या डा. बाबुराम भट्टराईभन्दा बाहिर जान सक्ने देखिएको छैन । तर, माओवादी अध्यक्ष प्रचण्ड भने जस्तो प्रकृतिको सरकार बने पनि नेतृत्वचाहिँ आफ्नै हुनुपर्छ भन्ने दृढ अडानमा हुनुहुन्छ । जब कि प्रचण्डको नेतृत्वलाई स्वीकार गर्न काङ्गे्रस, एमाले, फोरम, तमलोपालगायत अधिकांश दलहरू तयार छैनन् । त्यसैले प्रश्न उठेको छ- ‘के सहमतिको सरकार डा. बाबुराम भट्टराईको नेतृत्वमा बन्न सक्ने अवस्था सिर्जना भयो भने त्यसका लागि प्रचण्ड तयार होलान् ?’

अमरेश सुटुक्क दिल्लीतिर

नेपालको शान्तिप्रक्रियामा विशेष भूमिका निर्वाह गर्नुहुने नेपाली काङ्गे्रसका युवा नेता अमरेशकुमार सिंह भारतको राजधानी नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । संविधानसभाद्वारा संविधान निर्माणको निर्धारित समय सकिनै लाग्दा नेकपा माओवादीले सत्ता प्राप्तिका निम्ति निर्णायक सङ्घर्ष सुरु गर्ने तयारी गरिसकेपछि सिंह गत सोमबार दिल्ली जानुभएको हो । उहाँको दिल्ली भ्रमणको उद्देश्य स्पष्ट हुन सकेको छैन । बाह्रबुँदे सम्झौता भएदेखि नै पाश्र्वमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका सिंहको यसपटकको भ्रमण राजनीतिक रूपमा विशेष अर्थपूर्ण हुने मानिएको छ । उहाँको भ्रमणपश्चात् माधव सरकारको भविष्यबारे स्पष्ट सङ्केत मिल्ने अनुमान विश्लेषकहरूको छ । कतिपयले भने उहाँ माओवादी अध्यक्ष प्रचण्डको विशेष सन्देश लिएर जानुभएको पनि ठानेका छन् । जे होस्, सिंहको यो दिल्ली भ्रमणपश्चात् नेपाली राजनीतिमा नयाँ मोड आउनसक्ने सम्भावना छ । तर, उहाँ दिल्लीबाट कहिले नेपाल र्फकनुहुने हो सो भने थाहा हुन सकेको छैन । निकटवर्तीहरूले दुई साताभित्रै उहाँ र्फकनुहुने बताएका छन् ।

क्षेत्रीहरूलाई अमान्य †
नेकपा एमालेसहित केही दलहरू संविधानसभाको कार्यकाल थप गर्न-गराउन क्रियाशील हुन थालेपछि क्षेत्री समाजले संविधानसभाको कार्यकाल थप गरिए आफूलाई स्वीकार्य नहुने र त्यसविरुद्ध राष्ट्रव्यापी सङ्घर्षमा उत्रने चेतावनी दिएको छ । समाजका सहअध्यक्ष कुमारबहादुर थापाले घटना र विचारसँगको भेटमा भन्नुभयो, ‘दुई वर्षको समय पाउँदा पनि संविधान निर्माण गर्न नसक्नेहरूलाई फेरि मौका दिनु या समय लम्ब्याउनु भनेको देशको समय र पैसा बर्बाद गर्नु मात्र हो । हामी जेठ १४ भित्रै सर्वमान्य लोकतान्त्रिक संविधान जारी गरिनुपर्छ भन्ने चाहन्छौँ । संविधान जारी नगरेर म्याद बढाइयो भने हामी सङ्घर्षमा उत्रने छौँ ।’ थापाले अगाडि भन्नुभयो, ‘संविधानसभामा रहेका धेरै क्षेत्री सभासद्हरू खाइपाई आएको तलब-भत्ता राज्यलाई फिर्ता गरी आन्दोलनमा उत्रने पक्षमा छन् ।’ उहाँले देशको स्थिति असामान्य रहेकोले आफूहरू समूहगत स्वार्थ होइन सिङ्गै देशको हितको निम्ति सङ्घर्षरत रहने स्पष्ट गर्दै भन्नुभयो, ‘हामी हतियार बोक्न बाध्य हुँदै छौँ ।’
स्मरणीय छ, पूर्वप्रहरी तथा सेनाको ठूलो सहभागिता रहेको क्षेत्री समाजमा हतियार चलाउन जान्नेहरूको सङ्ख्या मात्र कम्तीमा एक लाख रहेको बताइन्छ । तर, समाजले आफ्नो सेनाको सङ्ख्या पचास हजारमा सीमित गर्ने सोच बनाएको छ । यतिबेला देशका ६१ जिल्लामा क्षेत्री समाजको जिल्ला शाखा बनिसकेको र बाँकी चौध जिल्लामा पनि निकट भविष्यमै सङ्गठन विस्तार गरिने बताइएको छ । अहिले गाउँ-गाउँमा क्षेत्री सुरक्षा दल गठन भई तालिमहरू चलिरहेको पनि बुझिएको छ । आगामी एक हप्तामै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुत गरी आन्दोलनमा उत्रने तयारी क्षेत्री समाजले गरिरहेको छ । देशभरका साठी लाख क्षेत्रीलाई आकरि्षत गर्न सफल क्षेत्री समाज साँच्चै सङ्घर्षमा उत्रने हो भने यसले मुलुकमा असामान्य स्थिति सिर्जना गर्नेछ । तर, सहअध्यक्ष थापाको भनाइ छ, ‘हामी असामान्य र अराजक स्थितिका लागि होइन, देशको शान्ति, स्थिरता, अखण्डता र विकासका लागि लड्न तयार भएका हौँ ।’

सरकारले मित्रराष्ट्रको चित्त दु:खाएपछि…
भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कम्पनी र नेपाल सरकार, परराष्ट्र मन्त्रालयबीच मेसिन रिडेबल पासपोर्ट छाप्नेसम्बन्धी भएको निर्णय नेपाल सरकारले अचानक रद्द गरेकोमा भारतीय दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
भारतले सरकारी सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कम्पनीमार्फत सहुलियत मूल्यमा दुई देशबीचको सद्भाव तथा मैत्री सम्बन्धलाई ध्यानमा राखी मेसिन रिडेबल पासपोर्ट आपूर्ति गर्ने सहमति गरेको थियो भन्दै दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पारस्परिक सहयोगको भावनास्वरूप भारत सरकारले आफ्नै लागतमा सफ्टवेयर तथा हार्डवेयर सामग्रीसहितको प्राविधिक सहयोग, यी उपकरणहरूलाई काठमाडौंस्थित केन्द्रीय राहदानी कार्यालयमा जडान एवम् सरकारी अधिकारीहरूलाई राहदानीसम्बन्धी तालिमसमेत प्रदान गर्ने सहमति गरेको थियो ।’ यस विषयमा गत मार्च २३, २०१० का दिन नेपाल सरकार परराष्ट्र मन्त्रालयका सचिव र भारतीय राजदूतबीच पत्रहरू आदनप्रदान गरिएको थियो भने मार्च २६, २०१० मा परराष्ट्र मन्त्रालय र सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कम्पनी -भारत)बीच पासपोर्ट छाप्ने सम्झौतामा हस्ताक्षर भएको थियो । नेपाल सरकारसँगको सम्झौताअनुसार २०६७ जेठ महिनाभित्रै ती राहदानीहरू प्रकाशित गरिसक्नुपर्ने भएकोले सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कम्पनी तथा भारत सरकारले एमआरपी छपाइसम्बन्धी काम प्रारम्भ गरिसकेको पनि दूतावासले जानकारी गराएको छ ।
एमआरपी छपाइको विषयलाई नेपालमा राजनीतिकरण गरिएको र दूतावासको गोप्य डकुमेन्टलाई आमसञ्चारकामाध्यमबाट प्रचार-प्रसार गरिएको कार्य खेदजनक रहेको पनि दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तथापि, ‘भारत सरकार समयसँगै खारिएको भारत-नेपाल सम्बन्ध सुदृढ गर्न प्रतिबद्ध छ’ भन्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
– कामना घिमिरे

‘नाजा’को नेतृत्व अब कसको पोल्टामा ?
नेपाल-अमेरिका पत्रकार सङ्घ (नाजा) को दोस्रो अधिवेशन यही अप्रिल महिनाको २४-२५ तारिखमा अमेरिकाको एटलान्टिक सिटीमा सम्पन्न हुने भएको छ । नेपालमा सक्रिय पत्रकारितामा संलग्न नेपाली पत्रकारलाई एउटै छातामुनि ल्याएर एक-अर्कासँग भेटघाट, सरसहयोग र समन्वय गराउने उद्देश्यले सुरु गरिएको नाजाको पहिलो कार्यकाललाई सफलतापूर्वक दोस्रो अधिवेशनको सङ्घारमा पुर्‍याउने काम गर्न सफल भएका छन् अध्यक्ष गिरिश पोखरेल, जो लामो समयदेखि नेपाली पोस्ट डट कम अनलाइन न्युज पोर्टल चलाउँदै आएका छन् ।
संस्था स्थापनाको प्रारम्भिक अवस्थामा अमेरिकी-नेपाली सञ्चारकर्मीहरूमाझ त्यति चासोको विषय बन्न नसकेको नेपाल अमेरिका पत्रकार सङ्घ -नाजा) को दोस्रो अधिवेशन जति नजिक हुँदै छ यसप्रति चासो पनि त्यत्तिकै बढ्दै गएको छ । प्रारम्भमा डीसी, भर्जिनिया र बाल्टिमोरको गोलार्धवरिपरिबाट नेतृत्व गरिएको नाजाको आउँदो अधिवेशनको चर्चा अहिले व्यापक रूपमा न्युयोर्क, न्युजर्सी, कनेक्टिकेट र बोस्टनतिर पनि सरेको देख्दा पक्कै पनि नेपाल-अमेरिका पत्रकार सङ्घले एउटा स्वरूप लिएको भान हुन्छ ।
नेपालमा व्यावसायिक पत्रकारिता गरेका र गर्दागर्दै अमेरिका आइपुगेका पत्रकारहरू झन्डै डेढ सयजनाको हाराहारीमा अमेरिकामा छन् । त्यसमध्ये धेरैजसो पत्रकारले आफ्नो नेपालको व्यवसायलाई त्यति नियमियता दिएको पाइँदैन र तिनै पत्रकारको माझ कतिपय पत्रकारले भने विभिन्न मिडियाहरूमा सक्रिय योगदान दिइरहेका छन् । कतिपय नेपालमा स्थापित पत्रकारहरू अमेरिका आएपछि वर्षमा एकपटक भए पनि कलम चलाऊँ भनेर सोच्न भ्याएका छैनन् । तर, त्यसो भन्दैमा सबै पत्रकारले आफ्नो काम छाडेका पनि छैनन् ।
जम्मा १३९ जना हाराहारीमा सदस्य रहेको अमेरिकामा रहेका नेपाली पत्रकारको संस्थामा १३ वटा त माथिल्लो स्तरको पद नौ छ भने अधिवेशनमा सहभागिता जम्मा ५०/६० जनाको प्रतिनिधिको हाराहारीमा रहने अड्कल गरिरहँदा, अरूको नराम्रा कुराहरूको आलोचना गरेर कलम चलाउने पत्रकारहरू आफैं अस्वस्थ प्रतिस्पर्धा गरेर अमेरिकामा आफैं आलोचित हुने छैनन् भन्ने अड्कलसम्म गर्न सकिन्छ ।
– विजय पौडेल/न्युयोर्क

व्यवसायी दिँदै छन् विमान खरिदको दबाब
नेपाल पर्यटन वर्ष- २०११ लाई सफल बनाउन नेपालका पर्यटन व्यवसायीहरूले सरकारलाई राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई आवश्यक दुईवटा जेट विमान खरिद गर्न दबाब दिन थालेका छन् । आफ्नै विमानको भरपर्दो सेवाको अभावमा यस्तो बृहत् अभियान सफल पार्न कठिन हुने निष्कर्षमा पुगेका व्यवसायीहरूले समयमै विमान खरिद गर्नका लागि सरकारलाई तत्पर बनाउन जहाज खरिद सरोकार समितिसमेत गठन गरेका छन् ।
ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसन अफ नेपाल -नाटा)का पूर्वअध्यक्ष ध्रुवनारायण श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिको सचिवमा ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल -टान)का पूर्वअध्यक्ष सुमन पाण्डे रहनुभएको छ । नेपाल पर्यटन वर्षको औपचारिक घोषणा भइसक्दा पनि विमान किन्ने प्रक्रिया अगाडि नबढेकोले व्यवसायी तात्नुपरेको हो । ‘अब पनि विमान निदाएर बस्ने हो भने समयमा विमान आउन सक्दैन । भ्रमण वर्ष पनि सफल हुँदैन,’ सचिव पाण्डेले भन्नुभयो । सरकारले गत फागुन १४ गते पर्यटन वर्षको भव्य समारोहका बीच काठमाडौंको टुँडीखेलमा घोषणा गरिसकेको छ । गत आइतबार मात्र नेपालको सुन्दर पर्यटकीय नगरी पोखरामा पनि यसको भव्य समारोहका बीचमा घोषणा भएको छ ।
नेपाल वायुसेवा निगमको सञ्चालक समितिले झन्डै वर्ष दिन अगाडिदेखि आफूलाई आवश्यक पर्ने दुईवटा जेट विमान खरिद प्रक्रिया टेन्डरलाई अन्तिम रूप दिई योग्य ठहरिएको युरोपको एअर बस कम्पनीलाई बैनासमेत पठाइसकेको थियो । तर, सार्वजनिक लेखा समितिले प्रक्रिया मिचिएको अत्तो थापेर सो प्रक्रिया स्थगन गरी पुन: टेन्डर गर्न सञ्चालक समितिलाई आदेश दिएपछि समिति निर्णयहीन बनेको छ । सरकारको प्रत्याभूति नपाएकोले सञ्चयकोषले ऋण लगानीको निर्णय पनि गर्न सकेको छैन । यसरी विमान खरिद-प्रक्रिया अड्कन पुगेको छ । ‘सरोकार समितिले प्रधानमन्त्री, पर्यटनमन्त्री र अर्थमन्त्रीलाई भेटेर अविलम्ब जहाज किन्ने प्रक्रिया थाल्न दबाब दिनेछ,’ सचिव पाण्डेले भन्नुभयो । स्मरणीय छ, पर्यटन व्यवसायमा अन्तर्राष्ट्रिय पर्यटक ओसार्ने विमानले चोखो डलर कमाउँछ । लक्ष्यअनुरूप १० लाख पर्यटक विमानबाट ल्याउन सक्ने हो भने झन्डै ५० अर्ब नेपाली रुपैयाँ पर्यटन वर्षमा विमान भाडाबाटै आर्जन गर्न सकिने व्यवसायीहरू बताउँछन् । नेपालको पर्यटनको जीवनआधार मानिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा विमान खरिद गराउन दबाब दिने यस पुनीत कार्यमा सघाउने सरोकार समितिका सदस्यहरूमा नाटाबाट अध्यक्ष अर्जुन शर्मा र मदन आचार्य, टानका अध्यक्ष्ँ सीताराम सापकोटा र महासचिव राजेन्द्र बजगाईं, नाटाका अध्यक्ष अशोक पोखरेल र पाटाका अध्यक्ष पवन तुलाधर, साटोका हरिमान लामा र कृष्ण अर्याल, एक्सपिडिसन अपरेटर्सका डम्बर पराजुली र नेपाल पर्यटन वर्ष- २०११ का सचिवालयका योगेन्द्र शाक्य रहेका छन् ।
– प्रतिभा कँडेल

प्रहरीचौकी तोडफोडमा सशस्त्र प्रहरी
महानगरीय प्रहरी प्रभाग मुड्खुमा तोडफोड गर्ने कार्यमा नीलबाराही गणमा कार्यरत सशस्त्र प्रहरी जवान धनबहादुर तामाङसमेत संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ । गत ३ गते धादिङ छत्रेदेउरालीबाट नुवाकोटको ककनीतर्फ बेहुली लैजाने क्रममा बसको छतमा नबस्न प्रहरीले आग्रह गर्दा जन्ती हिँडेकाहरूमध्येका केही उछृङ्खल व्यक्तिले प्रहरीमाथि आक्रमण गरी कार्यालयको झ्यालको सिसा, टेबुलकुर्सी तोडफोड गरी कार्यालयमा राखेको थ्रीनटथ्री राइफल २ नालसमेत लुटी लाने प्रयास गरेका थिए । प्रहरीले हवाइफायर गरेपछि उनीहरू भागेका थिए । तत्काल पिछा गर्दै गएको प्रहरी टोलीले जितपुरफेदी-५ पाँचमानेबाट बा.२ ख ४२७० नम्बरको मिनी ट्रक तथा बा.११ प ३१३६, बा.१७ प ४७७८ र बा.१० प १२८७ नम्बरका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका सशस्त्र प्रहरी तामाङसमेत २० जनालाई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

एकता गर्नेले नै फुटाए
एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका खगेन्द्र जीसीले एकलौटी र मनोमानी ढङ्गले निर्णय गर्न थालेपछि नेपाली जनसर्म्पर्क समिति अमेरिकाको विवाद चरम उत्कर्षमा पुगेको छ । जीसीको निर्णयका विरुद्ध समितिका सदस्यहरूले बैठक नै बहिष्कार गरी पुरानै जनसर्म्पर्क समितिलाई ब्युँताएर अधिवेशन गर्ने चेतावनी दिएका छन् । समितिको आन्तरिक विवादका कारण एकता अधिवेशन हुने सम्भावना क्षीण हुँदै गएको छ । विगतमा पनि विभाजित जनसर्म्पर्क समितिलाई एकताबद्ध बनाएर अधिवेशन गराउन नेपाली काङ्ग्रेस केन्द्रीय समितिले ०६६ मङ्सिर ४ गते सुरेन्द्रराज देवकोटाको नेतृत्वमा रहेको आधिकारिक समिति र आनन्द विष्टको संयोजकत्वमा रहेको अर्को छुट्टै समितिलाई विघटन गरी खगेन्द्र जीसीको संयोजकत्वमा महाधिवेशन तयारी समिति गठन गरेको थियो ।
नेपाली काङ्ग्रेस केन्द्रीय समितिले जीसीसहित १५ सदस्य रहेको तयारी समिति गठन गरेको थियो । तर, पार्टीको निर्णयबेगर जीसीले मनोमानी ढङ्गले अरू २० जनालाई मनोनीत गरी ३५ सदस्यीय तयारी समिति गठन गरेपछि विवादको बीउ रोपिएको हो । देस्रोपल्ट संयोजक बनेका जीसीले पार्टीबाट आठजनाको नाम अपर्झ आएपछि आफू अल्पमतमा परेकाले २० जना सदस्य केन्द्रीय समितिको सहमतिबिना नै थपेका हुन् ।
पार्टीको स्थापित मान्यताविपरीत कनेक्टिकटमा अधिवेशनको मर्मविरुद्ध विधान ल्याएपछि कनेक्टिकटमा अधिवेशन गरेकाहरूले विरोध जनएका थिए । त्यसका बाबजुद आफ्नो नामसमेत राखेर ल्याएको विधान पार्टीबाट अस्वीकृत गरी कनेक्टिकटको मर्मअनुसार विधान बनाउनु भनेर पार्टीको पत्र समितिमा आएको थियो । तर, संयोजक जीसीले पार्टीको नीतिविपरीत विधान ल्याएपछि अधिवेशन तयारी समितिका अधिकांश सदस्यले असहमति जनाउँदै आगामी बैठकदेखि उपस्थित नहुने घोषणा गरेका छन् । अधिवेशनको तयारीका लागि जीसीले समितिको निर्णयबेगर नै आफ्नै आसपासका व्यक्तिहरूलाई धमाधम जिम्मेवारी सुम्पन थालेपछि विवाद समिति विभाजनसम्मको अवस्थामा पुगेको छ ।
संयोजक जीसीले कुनै पनि सदस्यको सहमतिबिना नै पाँडेपजनी गरी एकलौटी ढङ्गले अमेरिकाको सम्पूर्ण राज्यका अधिवेशन तयारी समितिको संयोजकसमेत तोकेका छन् । राज्यका अधिवेशन तयारी समितिमा केन्द्रीय पदाधिकारीहरू खटाइएको थियो । जसमा जीसीका नजिकका व्यक्तिहरूलाई उनीहरूले भनेको स्थानमा खटाइएको थियो भने जीसीसँग सहमति नगर्ने केन्द्रीय सदस्यहरूलाई इस्ट कोटमा बसोबास गर्नेलाई वेस्ट कोटमा र वेस्ट कोष्टमा बसोबास गर्नेलाई इस्ट कोटमा खटाइएको थियो ।
नेपाली जनसर्म्पर्क समितिको एकताका लागि गर्ने भनिएको एकता अधिवेशन अन्तत: विवादका कारण एकता नहुने गरी बैठक टुङ्गिएको छ । समितिका सदस्यहरूले जीसीले सम्पूर्ण निर्णय फिर्ता नलिए पुरानै समितिमार्फत एकता अधिवेशन गर्ने निर्णयमा आफूहरू पुगेको बताए ।

कैलाशभक्तलाई पाँचतारा राष्ट्रिय सहकारी सम्मान

सहकारी क्षेत्रमा उल्लेखनीय काम गर्ने राष्ट्रिय स्तरको एक व्यक्तिलाई हरेक वर्ष आफ्नो स्थापना दिवसमा पाँचतारा राष्ट्रिय सहकारी सम्मान प्रदान गर्दै आएको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले ‘अग्रजको सम्मान सभ्यताको पहिचान’ भन्ने नारा र्सार्थक तुल्याउँदै सहकारी क्षेत्रका मर्ूधन्य व्यक्तित्वको उपाधिसहित कैलाशभक्त प्रधानाङ्गलाई सम्मानित गरेको छ । २०२० सालदेखि अनवरत सहकारी क्षेत्रमा लाग्नुहुने व्यक्तित्वका रूपमा सम्बन्धित क्षेत्रमा परिचित प्रधानाङ्गले नेपालमा सहकारीको विकास र स्थापना सम्बन्धमा खोज अनुसन्धान गर्ने काममा समेत आफूलाई समर्पित गर्नुभएको छ । प्रधानाङ्ग भक्तपुरस्थित सहयोगी बचत तथा सेवा केन्द्रका अध्यक्ष हुनुहुन्छ ।
सहकारी प्रवर्द्धन र विकासका लागि उहाँले देशका धेरै जिल्ला र बीसभन्दा बढी राष्ट्र घुम्नुभएको छ भने सहकारीसँग सम्बन्धित दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको अनुभव संगाल्नुभएको छ । पाँचतारा सहकारीको स्थापना दिवस तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि सहकारी विकास बोर्डका सदस्यसचिव बिन्दुराज अधिकारी र संस्थाका अध्यक्ष भोलानाथ पाठकले संयुक्त रूपमा सम्मानपत्र र खादा पहिर्‍याई सहकारीका पिता प्रधानाङ्गलाई अभिनन्दन गर्नुभयो । सोही अवसरमा संस्थाद्वारा वर्षभरिमा संस्थाका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्नेहरू बचतकर्ता, दैनिक बचतकर्ता, ऋण कारोवारकर्ता, मुद्दती बचतकर्ता, विज्ञापनदाता र सहयोगीहरू क्रमश: बिन्दा कुँवर, विष्णुप्रसाद गौचन, रेणुका प्रधान, प्रेरणा चित्रकार, विक्रमकुमार श्रेष्ठ, मुरारी सञ्जेल, मातृका कार्की, शिव कार्की र तिलक रायासमेतलाई सम्मान गरियो । संस्थाका अध्यक्ष भोलानाथ पाठकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपस्थित जनहरूलाई उपाध्यक्ष किरणप्रसाद श्रेष्ठले स्वागत गर्नुभएको थियो भने अतिथिहरू प्रतीक ढकाल, घनश्याम खतिवडा, मनमोहन श्रेष्ठ, टेकबहादुर बम, अशोक सिवाकोटी, सुमित्रा सुवेदी, रुद्र गिरी, नेत्र धिताल, विशाल सापकोटा, अवधेश पाण्डे, उद्धव रिजाल, देव गुरागाईं र लेखनाथ कोइरालालगायतका व्यक्तिहरूले सम्मानित व्यक्ति तथा संस्थालाई शुभकामना दिएका थिए । संस्थाका सञ्चालक उत्तमप्रसाद गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।- सिर्जना फुयाल

संयोजक नै निष्कासनमा
जनमोर्चा नेपालका संयोजक भरत दाहालले प्रतिगामी शक्तिहरूसँग साँठगाँठ गरी पार्टीको मूल्य-मान्यताविपरीत काम गरेको प्रमाणित भएको भन्दै सो समूहका कोषाध्यक्ष अनील शेरचन र सदस्यहरू लाहनुराम चौधरी, मीननाथ देवकोटा, खोपीराम भण्डारी, भूपबहादुर पुन र रमेश तिवारीले संयुक्त विज्ञप्ति प्रकाशित गरी साधारण सदस्यसमेत नरहने गरी दाहाललाई मोर्चाबाट निष्कासन गरिएको जनाएका छन् । आफ्ना संयोजकलाई निष्कासन नगरेसम्म पार्टीको मूल्य-मान्यता नै बचाउन गाह्रो परेको अनौठो दलिल उनीहरूले पेस गरेका छन् ।

एपीएफ अधिकृत हाइटीतर्फ
युनाइटेड नेसन्स मिसन इन हाइटीमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बलका पाँच अधिकृतहरू त्यसतर्फ प्रस्थान गरेका छन् । हाइटीस्थित संयुक्त राष्ट्रसङ्घीय सो मिसनमा एक वर्षका लागि खटिएका एपीएफ अधिकृतहरूमा सशस्त्र प्रहरी उपरीक्षकद्वय अभिकुमार खत्री, कमल गिरी तथा सशस्त्र प्रहरी नायव उपरीक्षकहरू समरबहादुर श्रेष्ठ, चन्द्रदेव भट्ट र सशस्त्र प्रहरी निरीक्षक कविन्द्र राई रहेका छन् ।

हतियारसहित माओवादी नेता पक्राउ
नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवम् वाईसीएल इञ्चार्ज कुलबहादुर केसी -सोनाम) हतियारसहित पक्राउ परेर छुटेका छन् । केसीलाई बौद्ध प्रहरीले गत हप्ता पक्राउ गरेको र उनको साथमा संयुक्त राष्ट्रसङ्घको स्टिकर लागेको अत्याधुनिक हतियार भेटिएको थियो । यसरी पक्राउ परेका केसीलाई बौद्ध प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराम परियारले आफूसँगै राखेर राति खाना खुवाएका थिए । तर, त्यसपछि केसीलाई ‘माथि’को आदेशमा छोडेको बताइन्छ, तर कति माथिको आदेशमा केसीलाई छाडिएको हो बुझिएको छैन । प्राप्त जानकारीअनुसार सोनामलाई छोड्न माओवादी हाइकमाण्डको आदेश प्रहरीमा पुगेको थियो । यसरी गैरकानुनी ढङ्गले हतियारसहित हिँडेका व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाउनुपर्नेमा खुसुक्क रिहा गरिनुले मुलुकमा अहिले पनि माओवादी राज यथावत् रहेको स्पष्ट सङ्केत गरेको छ ।

तराई कोब्राका नागराज पक्राउ

सर्लाही लुमरिया-७ बस्ने तराई कोब्राका अध्यक्ष नागराज भन्ने राजेश्वरसिंह भूमिहारलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाएको छ । सर्लाहीको सदरमुकाम मलंगवाबाट गत सोमबार भूमिहार पक्राउ परेका हुन् । भूमिहार काठमाडौं जिल्ला अदालतबाट २०६६ चैत १३ गते कर्तव्य ज्यान तथा अपहरण मुद्दामा वारेन्टसहितको म्याद पुर्जी जारी भएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
यसैगरी एयर अरेवियाको उडान नम्बर ५३४ द्वारा काठमाडौंबाट सारजहाँतर्फ जान लागेका झापा जिल्ला भद्रपुर- ९ बस्ने राहदानी नम्बर ४६८९५५१ का ललित जोघानीलाई प्रहरीले अवैध विदेशी मुद्रासहित पक्राउ गरी राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।अन्तर्राष्ट्रिय विमानस्थलको हेन्ड ब्यागेज एरियामा प्रहरी टोलीले निजको हातेझोला तथा शरीर तलासी गर्दा लुकाएर राखेको अवस्थामा बहराइन १ हजार १ सय ६९, पाउण्ड ५ हजार ८ सय ४०, साउदी अरेबियन ७१ हजार ५ सय ५०, कतारी ८ हजार ५ सय, दिराम ५२ हजार ६ सय, कुवेती ३ हजार २० र ओमन १ हजार ३ सय ५ विदेशी मुद्रा फेला पारेको थियो ।