कालो झण्डाबाट बच्न उपेन्द्रले समाते सहायक बाटो

कालो झण्डाबाट बच्न उपेन्द्रले समाते सहायक बाटो


वीरगन्ज महानगरपालिकाको पहिलो नगर परिषद्को उद्घाटन कार्यक्रमा सरिक हुने क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार विरोधको सामना गर्नुपर्यो । प्रादेशिक राजधानीको माग गर्दै आन्दोलनरत संघर्ष समितिले यादवको विरोधमा कालो झण्डा र नारावाजीसहित वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेपछि उनी मुख्य सडक छोडेर्र सहायक बाटो हुँदै नगरसभा स्थलमा पुगेका थिए ।

ज्ञात रहोस्, संघर्ष समितिको शनिबार बसेको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गर्ने निर्णय गरेको थियो ।

नगर परिषद् उदघाटन समारोहलाई सम्बोधन गर्दै नेता यादवले मुलुकमा विकास निर्माण र रोजगार सिर्जना नै अब राजनीतिक दलको मुख्य एजेण्डा हुनुपर्ने बताए । नेताको भाषणले जनताको आवश्यकता पूर्ति नहुने भएकाले सबै राजनीतिक दलहरुको मुख्य एजेण्डा नै विकास र रोजगारी हुनु आवश्यक रहेको उनको भनाई थियो ।

अध्यक्ष यादवले मुलुकमा विकास भए मात्र रोजगारीको सिर्जना हुने भएकाले राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै मुलुकमा विद्यमान अभाव र बेरोजगारी अन्त्यका लागि राजनीतिक दलहरुले प्रयास गर्न जरुरी रहेको तर्क पनि गरे । पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले तराईका जिल्लामा स्वास्थ्य र शिक्षाको स्तर कमजोर रहेकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक रहेको बताए भने नगर परिषद्को सफलताको शुभकामना दिँदै यादवले देशकै आर्थिक राजधानी हुने पूर्वधार र सम्भावना रहेको वीरगन्जलाई प्रान्तीय राजधानीको झगडामा नअल्झाउन आग्रह गरे ।

नगर परिषद्लाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले रु चार अर्ब २२ करोड २५ लाख ८९ हजारको आर्थिक वर्ष २०७४÷७५ को अनुमानित बजेट प्रस्तुत गरे । व्ययतर्फ चालु खर्चमा रु एक अर्ब २३ करोड ५९ लाख ६८ हजार र पूँजीगततर्फ रु दुई अर्ब ९८ करोड ६६ लाख विनियोजन गरिएको जानकारी उनले दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, विमल श्रीवास्तव र हरिनारायण रौनियारले सिंहदरबारको अधिकार स्थानीयस्तरमा आएकाले जनताको विकास लागि उक्त अधिकारको सदुपयोग गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।



प्रणय साह