प्रमुख प्रशासनिक भवन र अतिथि गृहको शिलान्यास

प्रमुख प्रशासनिक भवन र अतिथि गृहको शिलान्यास


रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बनाउन लागेको प्रमुख प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृहको आज शिलान्यास गरिएको छ । वडा नं ६, कुञ्जलापुरमा निर्माण हुने प्रशासनिक भवनको पूर्वअर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेका हुन् । यस्तै वडा नं ७ र ९ को केउलानीमा निर्माण हुने सभाहलसहितको अतिथि गृहको प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले उदघाटन गरे ।

कार्यालय भवन र अतिथि गृह एवं सभाहलकोे निर्माण एकैसाथ सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले राखेको छ । नगर कार्यपालिकाको गत बुधबारको बैठकले प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृह निर्माण स्थलको सर्वसम्मत निर्णय गरेको थियो । नौ बिघा क्षेत्रफलमा बनाइने प्रशासनिक भवनका लागि तिलोत्तमा नगरपालिकाले चालू आवमा दुई करोड विनियोजन गरेको छ ।

अतिथि गृहमा २० कोठाका साथै एक हजार मानिस अट्ने सभाहल र उद्यानसमेत निर्माण गरिने नगरपालिकाले जनाएको छ । प्रशासनिक भवनको शिलान्यास गर्दै पूर्व अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य पौडेलले निकट भविष्यमै बुटवल, तिलोत्तमा, सिद्धार्थनगर र आसपासका गाउँपालिका समेटेर महानगरपालिका बन्ने भएकाले महानगरको आवश्यकतालाई पूरा गर्नेगरी प्रशासनिक भवन बनाउन आग्रह गरे ।

बुटवल र भैरहवाको बीच भागमा पर्ने भएकाले निकट भविष्यमैं बन्ने महानगरको केन्द्र तिलोत्तमामा राख्न उपयुक्त हुने भन्दै प्रशासनिक भवनलाई अत्याधुनिक बनाइनुपर्नेमा उनले जोड दिए ।

यस्तै सभाहलसहितको अतिथिगृह शिलन्यास गर्दै अर्का पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले एक हजार जना अट्ने सभाहल र अतिथिगृहको निर्माणले तिलोत्तमा नगरमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । दुवै जनाले शिलन्यास गरिएका दुवै भौतिक संरचनाको निर्माण समयमैं पूरा गराउन आफ्नो तर्फबाट यथासक्य सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

सो अवसरमा नगर प्रमुख वासुदेव घिमिरेले शिलान्यास गरिएका दुवै भौतिक संरचनाहरुलाई अत्याधुनिक र सुविधासम्पन्न बनाइने बताउँदै सार्वजनिक जग्गालाई संरक्षण गरेर राख्ने सबैलाई धन्यवाद दिएका थिए ।