न्यायालय र पत्रकारिता समाजको ऐना : प्रधानन्यायाधीश

न्यायालय र पत्रकारिता समाजको ऐना : प्रधानन्यायाधीश


प्रेस काउन्सिल नेपालले अनलाइन उजुरी प्रणाली शुरुवात गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीले सञ्चारग्राममा कम्प्युटरको माउस क्लिक गरी उजुरी प्रणालीको सुरुवात गर्नुभएको हो । यसअघि पीडित पक्षले उजुरी गर्नुपर्दा काउन्सिलको कार्यालय सञ्चारग्राम जानुपर्थ्यो। अनलाइन प्रणाली शुरु भएपछि जुनसुकै स्थानबाट उजुरी गर्न सजिलो भएको छ ।

जानाजान वा अनजानमा कसैप्रति लाञ्छना लगाउने, चरित्र हत्या गर्ने, अमर्यादित व्यवहार देखाई समाचार सम्प्रेषण गर्ने सञ्चार गृहलाई कारबाहीको माग गर्दै उजुरी गर्न यसपछि सजिलो भएको छ ।

यसवर्ष अनलाइन प्रदायक संस्थाविरुद्ध धेरै उजुरी परेको छ । ३५ अनलाइन, १६ छापामाध्यम र चार टेलिभिजन गृहले सत्यतथ्यमा आधारित नभई हचुवाका भरमा समाचार सम्प्रेषण गरेको अभियोग लगाई उजुरी दर्ता गरिएको सो अवसरमा जानकारी दिइयो ।

काउन्सिलमा करिब एक हजार अनलाइन प्रदायक संस्था दर्ता भएको तथ्याङ्क छ । त्यसैगरी छापामाध्यम, एफएम रेडियो र टेलिभिजन गरी झन्डै एक हजार २०० को हाराहारीमा सञ्चारगृह सञ्चालनमा रहेको तथ्याङ्क छ । सरकारले यसवर्ष उक्त संस्थालाई लोककल्याणकारी विज्ञापन प्रयोगगरेवापत रु १४ करोड लगानी गरेको छ ।

पछिल्लोपटक प्रतिलिपि अधिकार ऐनको बर्खिलाप, हुबहुपत्रकारिता गर्ने, जनउत्तरदायी नहुने र विभिन्न व्यक्तिलाई धम्काउने, चरित्रहत्या गर्ने र अमर्यादित पत्रकारिता गर्ने जमात बढेकाले अनलाइनमार्फत उजुरी दर्ताको सुरुवात गरेको काउन्सिलले जनाएको छ । काउन्सिल छापा माध्यम, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमका नियमनकारी निकाय हो । त्यसो त काउन्सिल समग्र पत्रकारिताको आचारसंहिता अनुगमन गर्ने निकाय पनि हो ।

अनलाइन उजुरीको सुरुवात गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायलय र पत्रकारिता पेशा समाजको ऐना भएको बताउनुभएको छ । उहाँले प्रेस जनउत्तरदायी नभए लोकतन्त्र कमजोर हुने बताउँदै निष्पक्ष, स्वतन्त्र र सत्यतथ्यमा आधारित भई समाचार सम्प्रेषण नभए विधिको शासनको कल्पनासमेत गर्न नसक्ने बताउनुभयो । प्रधानन्यायाधीश पराजुलीले जिम्मेवार, जवाफदेही र उत्तरदायीपूर्ण क्रियाकलाप पत्रकारिताका सुन्दर पक्ष भएको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले जनताको करबाट सञ्चालनमा आएका केही सञ्चार गृहले कपोलकल्पित, भ्रामक, तथ्यहीन समाचार सम्प्रेषण गरी व्यक्तिको चरित्र हत्या गरेकाले उनीहरुलाई ऐनअनुसारको कारबाही गर्न माग गर्नुभएको छ भने काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल प्रेस जगत्को प्रहरी भएको बताउँदै अभिव्यक्ति स्वतन्त्रताको दुहाई दिँदै अनर्गल, तथ्यहीन समाचार सम्प्रेषण गर्ने पत्रकारको पत्रकार परिचयपत्र रद्द गर्नेसम्मको अधिकार काउन्सिलसँग भएको जानकारी दिनुभएको राससले जनाएको छ ।