‘कृ’की अदिती परिन् तानातानीमा

‘कृ’की अदिती परिन् तानातानीमा


– राजन घिमिरे, सिड्नी

मोडलिङमा रमाइरहे पनि सिनेमा क्षेत्रको लागि भने अदिती बुढाथोकीको नाम, उनको यात्रा र अनुभव नयाँ नै हो । अभिनय गरेको पहिलो चलचित्र ‘कृ’ प्रदर्शनमा नआइकनै भएको चर्चाले भने अदितीको नाम नेपाली सिनेमा क्षेत्रको लागि नयाँं हो भनी पत्याउनै नसकिने जस्तो लाग्न थालेको छ यतिबेला । अदितीले पहिलोपटक अभिनय गरेको चलचित्र कृ रिलिज हुन अझै तीन साता बाँकी छ । उनले कस्तो काम गरेकी छिन्, त्यो हेर्न बाँकी नै छ । तर, उनको चर्चा वा अनेक गसिपले पराकाष्टा नै नाघिसकेको छ अहिले । यतिबेलाका ‘हट केक’ नायक अनमोल केसीको जोडी बनेकी अदितीको क्रेज अनमोलँंगै चुलिएको छ ।

नेपालमा त अदितीको चर्चा चुलियो–चुलियो, हुँदा–हुँदा प्रवासी नेपालीमाझ पनि उनी गरम बनिरहेकी छिन् । चलचित्र कृ सिड्नी आउने चर्चासँगै अदितीको नाम पनि चर्चामा आएको छ । विशेष गरेर सिड्नीको ‘शो’मा अदितीको उपस्थिति हुने चर्चाले सिड्नीवासी नेपाली चलचित्रप्रेमी माझ तरङ्ग पैदा गरेको छ । तर, सिड्नीमा रहेको यो पंक्तिकारसँग काठमाडौंमा रहेकी अदितीले त्यहीँबाट भनिन्– ‘आउन त आउने हो, तर कसले बोलाएर आउने ? धेरैले कुरा गरेका छन्, ठोस कुरा आएको छैन ।’ उनले थपिन्– ‘कसको आमन्त्रण स्वीकार गरी आउने हो, नर्णय भएपछि म आफै जानकारी गराउने छु ।’

नेपालपछिको नेपाली चलचित्रको राम्रो बजार मानिन्छ अष्ट्रेलिया । त्यसमा पनि सिड्नीको बजार नेपाली सिनेमाको लागि बलियो बजार हो । त्यसकारण पनि सिड्नीबाटै कार्यक्रमका लागि धेरैले प्रस्ताव गरेको तर ठोस वा आधिकारिक प्रस्ताव नआएको अदितीले प्रस्ट्याइन् । भन्छिन्– ‘आफ्नो पहिलो सिनेमा रिलिजको लागि म निकै उत्साहित छु । जहाँ–जहाँ यो सिनेमा रिलिज हुन्छ त्यहाँ–त्यहाँं गएर खुशी बाँड्न चाहन्छु, तर ठोस कुरा आएन, हल्ला मात्र आयो । तानातानमा मात्र परेँ म त ।’

यसरी, अदिती सिड्नी आउने कुरा भुसको आगो झैँ फैलिएको छ, तर यो कुरालाई उनले इन्कार गरेकी छिन् । एउटी अदितीको लागि यसरी सिड्नीमा तानातानीको अवस्था देख्दा उनको क्रेज ह्वात्तै बढिसकेको रहेछ भन्नेचाहिँ स्पष्टै भएको छ ।