‘कांग्रेसलाई गुट-उपगुटबाट मुक्त तुल्याइने’ भन्दै भक्तपुर-भेला सम्पन्न

‘कांग्रेसलाई गुट-उपगुटबाट मुक्त तुल्याइने’ भन्दै भक्तपुर-भेला सम्पन्न


नेपाली कांग्रेसको शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियानअन्तर्गत भक्तपुरबाट शुरु भएको पहिलो कांग्रेस भेला पार्टीलाई गुट उपगुटबाट मुक्त गर्नुपर्नेलगायत बुँदा राखिएको घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘हाम्रो अभियान हाम्रो कांग्रेस’ भन्ने नाराका साथ नेपाली कांग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि सात प्रदेशबाट सहभागी कांग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सम्पन्न भएको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थलाई उद्धृत गर्दै राससले जनाएको छ ।

बताइएअनुसार सो भेलाले देशमा हालै सम्पन्न तीन वटै तहको निर्वाचनको समीक्षा गरेको छ भने कांग्रेसले भोग्नुपरेको पराजयका कारण खोजी गर्दै समस्या केलाउने काम गरिएको छ । अबका चुनौती के के छन् ? पार्टीको अबको कार्यदिशा के हुनुपर्छ ? भन्ने बारेमा बृहत् छलफल भएको, पार्टीको विधानलाई समयानुसार परिमार्जन गर्नुपर्ने सुझावसमेत नेतृत्वलाई दिनेबारेमा छलफल भएको बायस्थले बताएका छन् । तल्लो तहदेखि कांग्रेसलाई मजबुत बनाएर लैजानुपर्ने, देशको नयाँ संरचनानुसार पार्टीलाई रुपान्तरण गरेर लैजानुपर्ने, पार्टीमा निरन्तर रुपमा लागिरहेका पुराना नेता एवं कार्यकर्तालाई जिम्मेवारी दिइनुपर्नेलगायत बुँदा घोषणापत्रमा छ ।

भेलामा कांग्रेसमा धेरै वर्ष योगदान दिएका, प्रजातन्त्रका लागि पटक पटक कारागार परेका, अवसर र जिम्मेवारीबाट वञ्चित भएका, पार्टीको राजनीतिमा निरन्तर क्रियाशील रहेका, तरुण– विद्यार्थी– महिला तथा देशभरका १३० पुराना नेता एवं पूर्व सांसदको सहभागिता थियो । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै पार्टीलाई मजबुत बनाउने उद्देश्यले शुरु भएको भेला सात वटै प्रदेशमा गरिने तय भएको भेलामा सहभागी युवा नेता उमेशजंग रायमाझीले जानकारी दिए ।

यसैगरी, कांग्रेसका सभापतिहरुको भेला सोमबार खोटाङको हलेसीमा बस्ने भएको छ । निर्वाचनको समीक्षा गर्ने तथा आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल हुने भक्तपुरका अध्यक्ष दुर्लभ थापाले जानकारी दिए । दुईदिने भेलाले जिल्ला सभापतिको राष्ट्रिय भेला तत्काल बोलाउन अनुरोध गर्नाका साथै राष्ट्रियसभामा अवसर नपाएका जिल्ला सभापतिलाई कसरी प्रतिनिधित्व गराउन सकिन्छ भन्ने बारेमा छलफल हुने बताइएको छ ।