९ स्वर्ण जित्दै तेक्वान्दोमा आर्मीले बाजी माऱ्यो

९ स्वर्ण जित्दै तेक्वान्दोमा आर्मीले बाजी माऱ्यो


नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सर्वाधिक ९ स्वर्ण जितेको छ । दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण विजेता एवं छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली खेलाडी संगीना वैद्यको प्रशिक्षणमा रहेको आर्मीले गेरोगीमा ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो भने पुम्सेमा २ स्वर्ण, २ रजत र १ कांस्य हात पाऱ्यो ।

दोश्रो स्थानमा रहेको नेपाल प्रहरी क्लबले गेरोगीमा ६ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो । पुम्सेमा प्रहरीले २ स्वर्ण, १ रजत र २ कांस्य प्राप्त गऱ्यो । नेपाल एपीएफ क्लबले तेश्रो स्थानमा चित्त बुझायो । गेरोगीमा २ स्वर्ण, ३ रजत र ३ कांस्य जितेको एपीएफले पुम्सेमा १ स्वर्ण र २ कांस्य हासिल गऱ्यो ।

विभागीय टिम बाहेक गेरोगी र पुम्सेमा मध्यमाञ्चल र पूर्वाञ्चलका १–१ खेलाडीले स्वर्ण जिते । गेरोगीको पुरुष ८७ केजीमा मध्यमाञ्चलका भुपेन श्रेष्ठ र महिला पुम्सेको २० वर्षमुनि पूर्वाञ्चलकी सिना मादेनले आ–आफ्नो क्षेत्रलाई स्वर्ण पदक दिलाएका थिए ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको प्रतियोगिताको गेरोगीतर्फ पुरुषमा १२ औं सागका रजतधारी प्रहरीका वीरबहादुर महरा तथा महिलामा एपीएफकी अस्मिता खड्का उत्कृष्ट खेलाडी चुनिए । वीरबहादुरले ६३ केजीमुनि स्वर्ण जिते । प्रतियोगिताको अन्तिम दिन स्वर्ण जितेकी अस्मिताले ४९ केजीमुनि फाइनलमा आर्मीकी काजल श्रेष्ठलाई समग्रमा १२–६ अंकले पराजित गरेकी थिइन् ।

पुम्सेको पुरुष्मा एपीएफका नवीन श्रेष्ठ तथा महिलामा आर्मीकी निता गुरुङ उत्कृष्ट ठहरिए । नवीनले १६ वर्षमुनि र निताले २० वर्षमाथि स्पर्धामा स्वर्ण जितेका थिए । उत्कृष्ट चारैले जनही ५ हजारका दरले नगद पुरस्कार प्राप्त गरेका थिए ।

अन्तिम दिन महिला ४९ केजीमुनि बाहेक अन्य चार स्पर्धाको फाइनल पनि भएको थियो । महिलाको ५३ केजीमुनि १२ औं सागकी रजत विजेता प्रहरीकी निमा गुरुङले पहिलो स्थान हात पारिन् । निमाले फाइनलमा पूर्वाञ्चलकी सन्ध्याकुमारी सिंहलाई हराइन् । त्यस्तै ४६ केजीमुनि आर्मीकी कल्पना चौधरीले स्वर्ण जितिन् । कल्पनाले प्रतियोगिताकै अन्तिम फाइनलमा पश्चिमाञ्चलकी सरिता श्रेष्ठलाई २९–२३ ले पाखा लगाएकि थिइन् ।

पुरुष ५८ केजीमुनि आर्मीका सागर गुभाजु र ५४ केजीमुनि प्रहरीका अनोज मल्ल पहिलो भए । फाइनलमा सागरले मध्यमाञ्चलका कपिल थापा र अनोजले एपीएफका चन्द्र राणा मगरको चुनौती समाप्त पारेका थिए ।

तीनदिने प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय टोलीका १ सय ७६ खेलाडीले गेरोगीमा १६ र पुम्सेमा ६ गरी विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपाल तेक्वान्दो संघले जनाएको छ । राष्ट्रिय तेक्वान्दोको समापनसंगै राखेप च्याम्पियनसिपअन्तर्ग उपत्यकामा तय भएको सम्पूर्ण प्रतियोगिता सम्पन्न भएका छन् ।