एमाले र माओवादी एकअर्काका पूरक : प्रचण्ड

एमाले र माओवादी एकअर्काका पूरक : प्रचण्ड


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ ।

शनिबार बालकोटस्थित अध्यक्ष ओली निवासमा करिब डेढघण्टा भएको दुई नेताबीच भएको वार्तामा राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठन, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ ।

भेटपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकको एजेण्डा तयार गर्न दुई अध्यक्षबीच छलफल भएको बताउनुभयो । उहाँले समितिको भोलि बस्ने बैठकले महत्वपूर्ण निर्णय गर्ने बताउनुभयो ।

भेटवार्तामा संयुक्त कार्यदलले तयार पारेको राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठनसम्बन्धी रिपोर्टका बारेमा छलफल भएको बताइएको छ । साथै कार्यदलको बैठकमा दुई पार्टीको साझा अवधारणा बनाएर जाने र साझा दस्तावेज तयार पारेर जानेबारेमा छलफल भएको बताइएको छ । छलफलमा पार्टी एकतालाई अन्तिम रुप दिनेबारेमा समेत छलफल भएको बताइएको छ ।

यसैबीच नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अनुमोदन गरेकाले पछाडि फर्केर जाने अवस्था कोही कसैलाई नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार पार्टी निकट जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रका केही व्यक्तिले एकताको विरोध गरिरहेको भए पनि त्यसको कुनै औचित्य नभएको र त्यसले कुनै पनि प्रभाव नपार्ने दाबी गरे ।

एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका तर्कसहित उनले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एकअर्काका पूरकको भूमिकामा रहँदै आएको बताएर उपस्थित कार्यकर्तालाई चकित पारे ।

नेपालका कम्युनिष्टलाई सधैँ शत्रुको व्यवहार गरिँदै आएको भन्दै उनले एमालेलाई आक्रमण गर्ने शक्तिले नै माओवादी केन्द्रलाई समेत आक्रमण गरेको बताए ।

आफ्नो भनाई राख्ने क्रममा उनले भने, ‘हामीले माओवाद छोडेका छैनौँ, एमालेले पनि जनताको बहुदलीय जनवाद छाडेको छैन । नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरु पनि सहमत हुनुहुन्छ, हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौँ त्यसकारण समान राजनीतिक विचारधाराको हैसियतमा छौँ ।’

तस्बिर रासस