तीन वर्षले कान्छा ह्यारी मोडलसँग यसरी बाँधिँदै

तीन वर्षले कान्छा ह्यारी मोडलसँग यसरी बाँधिँदै


अमेरिकी अभिनेत्री मेगन मार्करसँग प्रेममा परेका ब्रिटेनका राजकुमार ह्यारीको विवाह–तिथि पक्का भएको छ । उनको विवाह आगामी मे १९ मा शाही परम्पराअनुसार हुने भएको छ । ह्यारीको केही महिना पहिले प्रेमिका मेगनसँग स्वयम्बर भने भइसकेको छ ।

मेगनसँग राजकुमार ह्यारीको पहिलो भेट सन् २०१६ मा भएको थियो । एक साथीमार्फत यी दुई नजिकिएका थिए । उनीहरूको सम्बन्धबारे सञ्चारमाध्यमहरूले विभिन्न अड्कल लगाउँदै समाचार प्रेषित गरे पनि दुवैले अस्वीकार गर्दै आएका थिए । पछि हार खाएर दुवैले आफूहरू ‘रिलेसन’ (प्रेम सम्बन्ध)मा भएको स्वीकार गरेका थिए ।

ह्यारी र मेगन पहिलोपटक गत सेप्टेम्बरमा क्यानाडाको टोरन्टोमा सँगै देखिएका थिए । उनीहरू त्यहाँ पूर्वसैनिकको आयोजनामा भइरहेको एउटा खेलकुदको कार्यक्रममा सार्वजनिक रूपमा देखिएको प्रसङ्गलाई मिडियाले ठूलो कभरेज दिएको थियो । ब्रिटेनको शाही परिवारबाट हालै जारी गरिएको वक्तव्यमा पनि ह्यारी र मेगन प्रेमसम्बन्धमा रहेको पुष्टि गरिएको छ । त्यस्तै, मेगनका बाबु–आमाले यो सम्बन्धबारे खुसी व्यक्त गरेका छन् । आफ्नी छोरी शाही परिवारको सदस्य बन्न लागेकोमा दुवै निकै उत्साहित बनेका छन् ।

मेगनको जन्म ४ अगस्त १९८१ मा अमेरिकाको लसएन्जलसमा भएको थियो । उनी चर्चित अभिनेत्रीका साथै मोडल पनि हुन् । मेगन विशेष गरेर टीभी सिरियल ‘सुट्स’मा गरेको अभिनयका कारणले चर्चित छिन् । मेगनले सन् २०११ मा अभिनेता तथा प्रोड्युसरसँग विवाह गरेकी थिइन् । दुर्भाग्यले दुई वर्षमै उनी सम्बन्धविच्छेद गर्नुपर्ने अवस्थामा पुगेकी थिइन् ।

ज्ञात रहोस्, मेगन ह्यारीभन्दा तीन वर्ष जेठी छिन् । मेगन ३६ वर्षकी भइन् भने राजकुमार चाल्र्स र राजकुमारी डायनाका कान्छा छोरा ह्यारी ३३ वर्षका छन् । शाहीगद्दीको दाबेदारीको क्रममा पाँचौँ नम्बरमा पर्ने ह्यारीले आफूभन्दा जेठी महिलालाई श्रीमती बनाउन खोज्दा सम्बन्धित परिजनले खुसी नै व्यक्त गर्नु सकारात्मक सन्दर्भ हो ।