श्रीदेवीको निर्देशन : नो ब्वाइफ्रेन्ड, नो किस

श्रीदेवीको निर्देशन : नो ब्वाइफ्रेन्ड, नो किस


चर्चित बलिउड अभिनेत्री श्रीदेवीले ‘नो ब्वाइफ्रेन्ड, नो किस’को निर्देशन जारी गरेकी छिन् । उनले यो नियम अरूका निम्ति नभई आफ्नै घरमा, त्यो पनि छोरीका लागि मात्र जारी गरेकी हुन् । आफ्नी छोरी जान्ह्वी कपुरका लागि श्रीदेवीले यसरी अनुशासन तोक्नुपर्ने अवस्था आउनुमा केही समय पहिले जान्ह्वीले आफ्नो ब्वाइफ्रेन्ड शिखर पहाडियासँग एक पार्टीमा किस गर्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल हुनुलाई मानिएको छ ।

जान्ह्वी पनि आफ्ना बाबुआमाकै पदचाप पछ्याउँदै बलिउडमा डेब्यु गर्दैछिन् । फिल्म दुनियाँमा उनको प्रवेश हुनुअगावै सचेत तुल्याउन श्रीदेवीले यस्तो कडा नियम बनाएकी हुन् । पार्टीमा जान्ह्वीलाई उनका ब्वाइफ्रेन्ड पहाडियाले अँगालोमा कसेर गाला र ओठमा किस गरेका थिए । उक्त रोमान्टिक अनि फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि श्रीदेवी निकै रिसाएकी थिइन् । त्यसपछि उनले ब्वाइफ्रेन्डबाट टाढा राख्न ‘नो ब्वाइफ्रेन्ड, नो किस’को उर्दी जारी गरेकी हुन् । श्रीदेवीले जान्ह्वीलाई सेल्फी खिच्नबाट पनि रोक लगाएकी छिन्, यसको कारणचाहिँ प्रस्टिएको छैन ।

जान्ह्वी यतिबेला फिल्म ‘धडक’को सुटिङमा व्यस्त छिन् । बलिउडमा उनको यो डेब्यु फिल्म हो । ‘धडक’मा जान्ह्वीको को–स्टारको रूपमा शाहिद कपुरका भाइ इशान खट्टर रहेका छन् । यी दुवैको भविष्य यही फिल्ममा टिकेको छ । दुवै नायक–नायिका स्टार परिवारका सदस्य भएकाले ‘धडक’बाट उनीहरू निकै आशावादी पनि बनेका छन् । ‘धडक’ करण जोहरले निर्माण गरेका हुन् ।