इन्दिरा गान्धी बन्दैछिन् विद्या

इन्दिरा गान्धी बन्दैछिन् विद्या


भारतकी पूर्वप्रधानमन्त्री स्व. इन्दिरा गान्धीको जीवनीमा आधारित रही एक महिला पत्रकारले लेखेको पुस्तकमाथि फिल्म बन्ने भएको छ । निर्माता सिद्धार्थ राय कपुरले ती लेखिकासँग फिल्मको राइट्ससमेत लिइसकेका छन् । इन्दिरा गान्धीको भूमिकामा सम्भवतः विद्या बालन देखिने छिन्, किनकि विद्या उनै रायकी पत्नी हुन् ।

यसभन्दाअघि पनि इन्दिरा गान्धीका जीवनीमा थुप्रै हिन्दी सिनेमा बनेका छन् । गान्धीको जीवनी कुनै महाभारतभन्दा कम छैन । त्यसैले उनको जीवनीमा फिल्म बनाउनुलाई निकै चुनौतीपूर्ण मानिन्छ । रायले उक्त पुस्तकको राइट किनेर फिल्म बनाउने निर्णय गरे पनि अहिलेसम्म इन्दिरा गान्धीको भूमिका कसले निभाउने भन्नेबारे कुनै जानकारी गराइएको छैन । विद्याले पनि मुख नखोलेकी हुनाले यो विषयमा व्यापक होमवर्क भइरहेको अड्कल काटिएको छ । उक्त फिल्मलाई अविष्मरणीय बनाउन गहन छलफल भइरहेको बताइन्छ । कुरो जे भए पनि अन्त्यमा विद्या नै यो फिल्ममा इन्दिरा गान्धीको भूमिकामा देखिने सम्भावना प्रवल रहेको बलिउड–विश्लेषकहरूको धारणा छ ।