अस्पतालमा छैन प्रसुती सेवा, सुत्केरी गराउनका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता

अस्पतालमा छैन प्रसुती सेवा, सुत्केरी गराउनका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता


हिमालपारीको जिल्ला मनाङका महिलाहरु बच्चा जन्माउनका लागि हेलिकप्टर नै चार्टर गरेर ठूला अस्पतालहरुमा धाउनुपर्ने बाध्यता कुनै नयाँ विषय होइन । उनिहरु विगत लामो समय अघिदेखि नै यो समस्याबाट ग्रसित छन् । सरकारले जिल्लामा रहेको एकमात्रै जिल्ला अस्पतालमा सुत्केरी गराउन नसक्ने महिलाहरुको लागि शल्यक्रियाको ब्यवस्था नगरिदिदाँ उनिहरुले यस्तो सास्ती खेप्नुपरेको हो ।

हिमाली जिल्ला मनाङमा रहेको एकमात्र जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेका महिलाहरुको लागि शल्यक्रियाको ब्यवस्था हुन नसकेको् स्थानियहरु बताउँछन् । अस्पताल ब्यवस्थापन समितिले पहल नगरेका कारण यहाँका महिलाहरुले सास्ती खेप्नु परेको हो । चारवटा गाउँपालिका रहेको मनाङ भौगोलिक रुपमा अति विकट भएपनि सरकारले जिल्लाका नागरिकहरुलाई भने उचित स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको महिलाहरु बताउँछन् । सामान्य बाहेक आकस्मिक रुपमा प्रसुतीका लागि अस्पतालमा आउने महिलाहरुले शल्यक्रियाको अभावमा ज्यानै गुमाउनुपर्ने बाध्यता मनाङमा रहेको छ ।

मनाङ एकातिर भौगोलिक विकटता र अर्कोतिर जिल्ला अस्पतालमा शल्यक्रियाको ब्यवस्था नहुँदा यहाँका महिलाहरु बर्षो अघिदेखि पिडा बोकेर बस्न बाध्य भएको स्थानिय समाजसेवी साङ्दो लामा बताउँछन् ।

जिल्लाका केही सम्पन्न महिलाहरु हेलिकप्टर चार्टर गरेर काठमाडौं, पोखरा, चितवन लगायतका शहरहरुमा जाने गरेपनि गरीब जनताहरुले भने शल्यक्रियाको अभावमा ज्यान नै गुुमाउनु पर्ने उदाहरण रहेको स्थानिय एक महिलाले बताइन् । उनले भनिन्, ‘गरिब जनताले हेलिकप्टर चार्टर गर्न सक्दैनन् । गर्भवती भएँ भन्ने थाहा पाएपछि हेलिकप्टर चार्टर खर्च जुटाउनुप¥यो की त शहर नै झनुप¥यो ।’

बेसीशहर–चामे सडक खण्डमा मोटर चलेपनि कच्ची सडकका कारण भनेको समयमा पुग्न नसकिने र ८ घण्टाको कच्ची सडकमा सुत्केरी लैजाँदा ज्यानै पनि जान सक्ने स्थानिय महिलाहरुको गुनासो छ । जिल्ला अस्पतालमा १५ बेडको अनुमती भएपनि अहिले अस्पतालले ७ वटा बेड मात्रै संचालनमा ल्याएको छ । अस्पतालमा बिरामीहरुको चाप हुने गरेपनि सरकार, अस्पताल प्रशासन र ब्यवस्थापन समितिले खासै चासो नराख्दा मनाङका जनताले सास्ती खेप्नुपरेको छ ।