काङ्ग्रेस मात्र होइन, शेरबहादुर-नैतिकता पनि सङ्कटमा !

काङ्ग्रेस मात्र होइन, शेरबहादुर-नैतिकता पनि सङ्कटमा !


एमालेभित्रको आन्तरिक समीकरण, प्रचण्डको रणनीतिक चाल र भूराजनीतिको कुटिल खेलको अल्पकालीन फाइदा शेरबहादुरको हिस्सामा परे पनि भविष्यमा काङ्ग्रेस पार्टीले भुक्तान गर्नुपर्ने दिव्यज्ञान बीपी चेलाहरूले जति छिटो बुझ्छन् त्यति नै छिटो देउवा बिदाइको वातावरण बन्नेछ ।

स्थानीय तह निर्वाचनको बीचमै राजीनामा गर्न बाध्य पारिएका तात्कालीन प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिँदै नैतिकवान, लोकतान्त्रिक, परिपक्व र राजनेताको विभूषणले सुशोभित गर्ने वर्तमान प्रधानमन्त्री देउवा आफ्नै अडान र छविलाई बिर्सने अभियानमा लागिपरेका छन् । पुरानो वाचा–कबुललाई बीचबाटोमा मिल्काउँदै हिँडेका प्रचण्डको आशीर्वादले सत्तामा टिकिरहेका देउवा नैतिकतासँग नाता गाँस्न अनिच्छुक हुँदै गर्दा देशकै पुरानो लोकतान्त्रिक पार्टी काङ्ग्रेस अलोकतान्त्रिक गतिविधिको दलदलमा फस्दै गरेको चर्चा यत्रतत्र सुनिँदै छ ।

सरकार र काङ्ग्रेस पार्टीको प्रमुख एउटै व्यक्ति भएको वर्तमान अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेतालाई फोनबाटै दिन सकिने बधाईलाई करिब एक महिनापछि धकेल्दै प्रमुख नेताको अनुपस्थितिमा बधाई दिने कार्यले उनी अत्यन्त गरिब नेतामा दरिएका छन् । लोकतन्त्रमा नैतिकताको महत्व कति हुन्छ ? बुझेर पनि बुझ पचाएका प्रधानमन्त्री देउवा संविधानको बाध्यात्मक निर्वाचन सम्पन्न गर्दा पनि काङ्ग्रेस पार्टी र लोकतन्त्रलाई धनी बनाउन असफल भएका छन् । जन्मँदै लिएको लोकतान्त्रिक सिद्धान्तलाई क्षणिक सत्ता–स्वार्थको निम्ति बलि चढाउने देउवा–रवैयाले भविष्यको काङ्ग्रेस पार्टी लोकतन्त्रको पेटेन्टराइट फिर्ता लिन पुनः परीक्षामा बस्नुपर्ने मानिँदै छ ।

अनेकौँ कठिनाइ र शङ्कालाई परास्त गर्दै सम्पन्न निर्वाचनपश्चात् जनादेशलाई सम्मान गर्दै राजीनामा दिने अपेक्षालाई झुटो साबित गर्ने प्रधानमन्त्री एवम् पार्टी सभापति देउवा कदमले एउटा सुन्दर अवसर गुमाएको मानिदै छ । ०४८ साल देखि ०७४ सालसम्म विभिन्न बहानामा हुँदै आएका तमाम विकृतिलाई विसर्जन गर्दै लोकतन्त्रले नयाँ मार्ग स्थापित गर्ने अवसर खेर फाल्न पुगेका देउवा–कदमले लोकतन्त्रवादीहरू निराश बन्दै छन् । आफ्नो पार्टीको राजनीतिक भविष्य अनिश्चित बनाउँदै लोकतन्त्रलाई मजबुत बनाएको श्रेयसमेत लिन चुक्दै गरेको देउवा–कार्यकाल अनौठो नजिर निर्माण गर्न लागिपर्दै छ ।

लोकतन्त्रमा विधि, प्रक्रिया, परम्परा र संस्कारको ठूलो महत्व रहन्छ भन्ने कुरालाई सुन्न पनि नचाहने शेरबहादुर प्रधानमन्त्री पद लम्ब्याउन संविधानको छिद्र खोज्ने सस्तो कदमले ‘नैतिकता’ कोमामा पुगेको मानिदै छ । संविधानको बाध्यात्मक निर्वाचनलाई कुशलतापूर्वक सम्पन्न गरेको जस लिँदै राजीनामामार्फत काङ्ग्रेस पार्टी र लोकतन्त्रलाई मालामाल बनाउन चुकेका देउवा सिंहदरबार कुर्सीको दुरुपयोग गर्न मरिहत्ते गर्दै छन् । नयाँ सरकार निर्माणमा देखिएको संवैधानिक अड्चनलाई बाधा–अडकाउमार्फत फुकाउँदै जनादेशको सम्मान गर्न हतारिनुपर्ने शेरबहादुर अनेक बहानाबाजी गर्दै प्रचण्डको हितमा लागिपर्दा भविष्यको लोकतन्त्र र काङ्ग्रेसले देउवा ऋण भरमार तिर्ने निश्चित मानिदै छ ।

भावी सरकारको निम्ति चुस्तदुरुस्त अर्थतन्त्र र प्रशासन छोडेर जाने प्रचलनलाई लोकतन्त्रमा सामान्य रूपमा लिइन्छ । निर्वाचनपश्चात् प्रस्ट रूपमा मिलिसकेको जनादेशपश्चात् कुर्सीको दुरुपयोग गर्दै आर्थिक वितरण, नियुक्ति र दूरगामी निर्णय गर्ने प्रयत्नले लोकतन्त्रमा नराम्रो नजिर स्थापित गर्ने जमर्को शेरबहादुरमार्फत गरिनु भविष्यको काङ्ग्रेसको निम्ति गलगाँड बन्नेछ । सरकार कामचलाउ अवस्थामा पुगेको समयलाई छोप्दै निजी क्षेत्रबाट मच्चाइएको ब्रह्मलुटको साक्षी, सहयोगी र भागीदार बन्दै गरेको देउवा कार्यकालको ऋण काङ्ग्रेस पार्टी र लोकतन्त्रले कसरी र कहिलेसम्म तिर्नुपर्ने हो रोचक सवालले जन्म लिइसकेको ठोकुवा गर्न सकिन्छ ।

अनियन्त्रित बजार भाउ, अनुपयुक्त बन्द–हडताल र फितलो दैनिक प्रशासनको जिम्मेवार देउवा सरकारको विरुद्ध काङ्ग्रेसको भविष्य मानिएको तमाम लोकतान्त्रिक शक्ति मौन रहनुले अनिष्टको सङ्केत गर्दै छ । रातारात समाप्त पारिएको सेयर बजार, पुँजी पलायन र आर्थिक विचलनको भारीलाई देखाउँदै आगामी सरकारले भविष्यको काङ्ग्रेस नेतृत्वमाथि गर्ने प्रहारलाई वर्तमान युवा काङ्ग्रेसले चुपचाप हेर्दै रमिते बन्नुले केवल व्यक्ति बदलिएको, आचरण र संस्कार नबदलिएको प्रमाणित हुँदै छ । देश र लोकतन्त्रलाई गौण मान्दै आफूलाई केन्द्र भागमा राख्ने राजनीतिलाई स्थापित र प्रोत्साहित गर्न कुनै कसर बाँकी नराख्ने देउवा–कार्यकाल नमिठो याद छोडेर जान मरिहत्ते गर्दै छ ।

‘कुनै पनि नैतिक नियम प्राकृतिक हुनै सक्दैन’ भन्ने तथ्यलाई मनन गर्ने हो भने सर्वभौम नैतिकता केवल एक कल्पना मात्र मान्न सकिन्छ । त्यसैले निरपेक्ष नैतिकतासँग सम्झौता गर्नेहरू हाम्रो समाजमा सफल मानिदै र पुजिँदै आइरहेको मानिन्छ । राजनीतिमा लागेर नैतिकता प्रदर्शन गर्ने पूर्वप्रधानमन्त्रीहरू कीर्तिनिधि विष्ट, कृष्णप्रसाद भट्टराई, माधव नेपालको नाम वर्तमान प्रधानमन्त्री शेरबहादुरको निम्ति घाँडो हुनु स्वाभाविक मान्नुपर्छ । राजीनामा र नैतिकतासँग भेटघाट गर्न अनिच्छुक सभापति देउवा आफूबाट भए–गरेका कुनै पनि कामको जश–अपजश लिन तयार नभएको प्रस्टै बुझ्न सकिन्छ । निर्वाचनमा जितहारको जिम्मा व्यक्तिगत दायित्व सम्झने प्रधानमन्त्री देउवा केवल दुई–चारजनाको स्वार्थपूर्तिको निम्ति नैतिकता र संसदीय परम्परालाई घाइते बनाउन मरिहत्ते गरिरहेको सजाय भविष्यमा लोकतन्त्र र काङ्ग्रेसको निम्ति धेरै ठूलो जोखिम बन्न सक्नेछ ।

काङ्ग्रेसलाई निर्वाचन जिताउन काम नलागेका शेरबहादुर वाणीहरू कम्युनिष्टले चुनाव जिते रुन पनि नपाइने, अधिनायकवाद लादिने वा आउने, यो नै अन्तिम चुनाव हुनेजस्ता अफवाहहरू पाँच वर्षपछि वाम गठबन्धनको पुँजी बन्ने खतरा देउवाकै कारण बन्दै गरेको मानिदै छ । लोकतन्त्रको न्यूनतम मापदण्ड र मर्यादालाई लत्याउँदै सत्तामा टाँसिने शेरबहादुर काइदाले भविष्यको वाम सरकारलाई सिंहदरबारबाट हटाउन मुस्किल पर्ने नजिर शेरबहादुरकै कारण बन्दै गरेको वर्तमान काङ्ग्रेसको निम्ति अर्को दुर्भाग्यको कारण बन्न सक्नेछ ।

एमालेभित्रको आन्तरिक समीकरण, प्रचण्डको रणनीतिक चाल र भूराजनीतिको कुटिल खेलको अल्पकालीन फाइदा शेरबहादुरको हिस्सामा परे पनि भविष्यमा काङ्ग्रेस पार्टीले भुक्तान गर्नुपर्ने दिव्यज्ञान बीपी चेलाहरूले जति छिटो बुझ्छन् त्यति नै छिटो देउवा बिदाइको वातावरण बन्नेछ । ०५२ सालमा हेलिकोप्टर दुर्घटनाबाट बालबाल बाँचेका तत्कालीन मनमोहन सरकारलाई भदौ १२ को फैसलापछि बिदाइ दिन गरिएको हतार आज स्वयम् देउवाको निम्ति घाँडो भइरहेको बुझ््न सकिन्छ । जनादेशपश्चात् प्राप्त नतिजालाई अनेक बहानामा आलटाल गर्दै लिएको ऋण भविष्यमा काङ्ग्रेस पार्टीले पटक–पटक तिरिहरनुपर्नेछ ।

प्रदेशको राजधानी बनाउन जनता सडकमा उतार्ने शक्तिकेन्द्रको आदेश शिरोपर गर्ने देउवा–प्रचण्डको सहकार्य आजसम्म जारी रहनुले वर्तमानको काङ्ग्रेस कतिसम्म गरिब हुन पुग्ला ? मन्थन गर्ना साथ प्रचण्ड, भूराजनीति र इसाईहरूको रणनीतिमा काङ्ग्रेसको स्थान कहाँ हुनेछ, युवा काङ्ग्रेसले देख्नेछन् । लोकतन्त्र र काङ्ग्रेस पार्टीलाई समाप्त गर्न गिरिजाबाबुबाट शुरु गरिएको अभिभारा पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले कुशलतापूर्वक सम्पन्न गरिदिएको पुरस्कार निकट भविष्यमा संयुक्त रूपमा प्रचण्ड र देउवालाई दिलाइए कुनै अनौठो मानिनेछैन ।

प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतले शेरबहादुरबाट काङ्ग्रेस पार्टीको भविष्य सुरक्षित हुने आधार समाप्त भइसकेको वर्तमान अवस्थामा उनको सम्मानपूर्वक बिदाइ गर्नु ढिला भइसकेको मानिदै छ । लोकतान्त्रिक अभ्यासको दौरान मच्चाइएको सबै काण्डहरूको एकछत्र अधिपति बनिरहने देउवा–सोचलाई रोक्नु वर्तमान काङ्ग्रेस पार्टीको प्रमुख अभिभारा हुनेछ । वाम गठबन्धनलाई आन्तरिक रूपमै पुनर्गठित र सुदृढ बनाउन देउवाले लगाएको गुन सर्वप्रथम काङ्ग्रेसले चुक्ता गर्नुपर्नेछ । देउवाद्वारा सम्पन्न गरिएका सम्पूर्ण काण्डहरूको पुरस्कार मतपत्रमार्फत मिलिसकेको वर्तमान अवस्थामा अझै नयाँ काण्ड जन्माउने प्रयासको सिको आगामी वाम सरकारले गरे काङ्ग्रेसले विरोध गर्ने शब्दसमेत नपाउने स्थितिमा लोकतन्त्रको हविगत साँच्चिकै हेर्नलायक हुनेछ ।

इतिहास साक्षी छ, नेपाली राजनीतिको अभिन्न अस्त्र छलकपट र धोखाधडी हुन् । तिनै अस्त्रहरूको भरमार प्रयोगमार्फत सिंहदरबार छिर्न सफल प्रचण्डको व्यवस्थापन गर्ने खेलअन्तर्गत देश, जनता र लोकतन्त्रले तिरेको ऋणको अल्पकालीन फाइदा प्रधानमन्त्री देउवाको भागमा केही समय पारिराख्ने प्रचण्ड खेल बुझ्न माओवादी केन्द्रका बिनाविभागीयमन्त्री काफी छन् । आफ्नो राजनीतिक स्थानको निम्ति निर्वाचन आयोग र प्रधानमन्त्री देउवालाई प्रयोग गर्ने प्रचण्ड रणनीतिको सिकार लोकतन्त्र र लोकतान्त्रिक नैतिकता भविष्यको काङ्ग्रेसले पाउने आधार देउवाले हदैसम्म विकृत गरिदिएका छन् । कमरेड प्रचण्ड र ओलीबीच पावर सेयरिङमा सहमति जुट्नासाथ निस्कने निकास कुर्दै तमाम बद्नामी सहन राजी देउवाको कारण रक्षात्मक बनेको काङ्ग्रेस कसरी तङ्ग्रिनेछ ? देउवाको बिदाइपछि मात्र भन्न सकिने छ ।