प्रनि भोजराजका ‘बिते कति रात…’

प्रनि भोजराजका ‘बिते कति रात…’


प्रहरी भन्नेवित्तिकै सामान्यतया आममानिसको दिमागमा निश्चित अनुशासनको दायरामा रही उपल्लो तहबाट अह्राइएको काम गर्ने, समाजका विकार–विकृति एवम् अपराध वा अपराधीको खोजीनीति गर्ने सुरक्षा निकायका सदस्य भन्ने भाव पैदा हुन्छ । प्रहरीको हातमा डण्डा, लाठी या हतियार हुने हुनाले उसबाट कविता, गीत जस्ता साहित्य सिर्जनाका काम हुँदा पृथक अनुभूति गर्नेको कमी यहाँ छैन । तथापि, नेपाली साहित्यफाँटमा ख्याति कमाएका प्रहरी अधिकृतहरू हामीकहाँ नभएका होइनन् ।

यस्तै प्रतिभाशाली सर्जकको परिचय स्थापित गर्ने क्रममा छन् प्रहरी निरीक्षक भोजराज पाण्डे । नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत प्रनि पाण्डे कर्मक्षेत्र प्रहरी सेवा भएर पनि गीत, कविता लेखनमा अत्यन्त रुचि राख्छन् । सानै उमेरदेखि साहित्य सिर्जनामा रुचि राख्दै आएका पाण्डे
गुल्मीको रेसुंगा नगरपालिकामा जन्मिएका हुन् ।

गीतलेखनमा विशेष रुचि राख्ने भोजराजद्वारा रचित ‘बिते कति रात…’ बोलको गीत यतिबेला चर्चामा छ । नवीन श्रेष्ठको संगीत संयोजनमा गायिका मेलिना राईले गाएको यस गीतमा सर्जक पाण्डेले सरल शब्दलाई पनि वजनदार भावमा प्रस्तुत गर्ने प्रयत्न जो गरेका छन्, यसमा उनलाई निकै हदसम्म सफलता मिलेको छ नभनीरहन सकिन्न । पेशागत रुपले आफ्नो ड्युटीप्रति कर्तव्यपरायण प्रहरी अधिकृतका रुपमा चिनिएका यी सर्जकलाई साहित्य फाँटमा पनि सफलता मिल्ने सम्भावना रहेको उनको प्रस्तुत गीतका आधारमा अनुमान लगाउन गाह्रो पर्दैन ।