सुनसरीबाट काङ्ग्रेस महामन्त्री सिटौलालाई पत्र

सुनसरीबाट काङ्ग्रेस महामन्त्री सिटौलालाई पत्र


प्रसङ्ग केही दिनअघिको हो । सुनसरीको धरानस्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा सुनसरी क्षेत्र नं. १ द्वारा आयोजित क्षेत्रीय कार्यकर्ता भेलामा अतिथिका रूपमा उपस्थित थिए नेपाली काङ्ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला । हरबखत प्रसन्न मुद्रामा प्रस्तुत हुन खोज्ने उनको चेष्टा त्यस दिन पनि कायम नै थियो । देशको एक नेता वा काङ्ग्रेस महामन्त्रीको हैसियतले उनले अत्यन्त गम्भीर प्रसङ्गहरू निकाले, पूर्वराजा र राजदरबारसम्बन्धी सन्दर्भहरू पनि राखे । त्यसैगरी माओवादी शान्तिप्रक्रियामा आउँदाको बाह्रबुँदे सहमतिका गुह्य कुराहरूदेखि लिएर पार्टी केन्द्रीय समितिले गरेका निर्णयहरू कार्यान्वयन गर्न सबै जिल्ला, क्षेत्र, नगर, गाउँ र वडा समिति गठन हुनुपर्ने र वडा समिति विशेष सक्रिय रहनुपर्छ भन्ने आग्रहयुक्त निर्देशन दिनसमेत चुकेनन् ।
कुनै पनि पार्टी वा परिवार एकजनाको सुझबुझ, गतिशीलता वा सक्रियताले सबल, सक्षम र सशक्त हुनै सक्दैन चाहे जतिसुकै सक्षम, दूरदर्शी, सिद्धान्तनिष्ठ, चलायमान वा चतुर व्यक्ति नै नेतृत्वमा किन नहोस् । कुनै पनि पार्टी एकजना सभापतिले मात्रै चलाउन सक्ने संस्था होइन न त पार्टी केन्द्रीय समितिका असी–पचासीजनाले अगाडि बढाउन सक्ने संस्था नै हो । पार्टी भनेको पचहत्तर जिल्लाका प्रजातन्त्रप्रेमी कार्यकर्ता, नेता अथवा शुभचिन्तकहरूको सक्रियताबाट गतिशील वा सबल हुने संस्था हो । तर, महामन्त्री सिटौलाहरू यति सामान्य सत्य किन स्वीकार गर्न सक्दैनन् ? पार्टी भनेको सबैको पहुँच हुने ठाउँ बन्न र बनाउन सक्नुपर्छ भन्ने सामान्य हेक्का राख्न किन चाहँदैनन् ? काङ्गे्रसमा कति कोइरालाहरू छन् ? कति पौडेलहरू छन् ? कति सिंह र सिटौलाहरू छन्– यो कसले बताउने ? कसले मनन गर्ने ?
काङ्ग्रेस पार्टीमा तीन सालदेखि आजको मितिसम्म कति व्यक्तिको पसिना बग्यो, खुन बग्यो, जवानी गल्यो अनि जिन्दगी नै सड्यो । यसको हिसाबकिताब काङ्ग्रेसको कुन नेताले दिन सक्छ ? तीन सालदेखिका कार्यकर्ता को–को थिए र तिनीलाई पार्टीले के पुरस्कार दिन सक्यो– कोसँग छ यसको लेखाजोखा ? महामन्त्रीको जिम्मेवारीमा रहेका व्यक्तिले सिद्धान्तनिष्ठ कार्यकर्तालाई सधैं चिढ्याएर, उनीहरूलाई बेवास्ता गरेर कसरी पार्टी सशक्त बन्न सक्छ ? तर, त्यहाँ महामन्त्री सिटौलाको प्रस्तुति नरम र मुद्रा हँसिलो भए पनि उनले व्यक्त गरेका कुरा र त्यसका भाव यति चिड्चिडाहट पैदा गर्ने किसिमको थियो कि यस्ता व्यक्ति रातारात कसरी पार्टीको उच्च स्थानमा पुगे वा पु-याइए ?
महामन्त्री सिटौला धरानको उक्त कार्यक्रममा भन्दै थिए– काङ्गे्रसले सात सालमा राणा शासन फाल्यो र पनि मोहनशमशेरलाई नै प्रधानमन्त्री बनाइएको थियो तर फेरि नेपालमा राणाशासन कहिल्यै फर्कन सकेन । काङ्ग्रेसले पञ्चायत फाल्यो र फेरि नेपालमा पञ्चायत फर्केन । त्यस्तै राजाले फेरि कहिल्यै खोस्न नसक्ने गरी नेपालमा गणतन्त्र घोषणा गर्नुमा पनि काङ्ग्रेसकै नेतृत्व रह्यो भन्दै उनी गर्व गर्दै थिए । जसरी यो देशमा राणाशासन र पञ्चायत फर्केन त्यसैगरी राजा पनि कुनै पनि हालतमा फर्कन सक्दैनन् भन्ने उद्घोष उनले गरे । दशवर्षे सशस्त्र युद्ध गरेका माओवादीलाई पनि प्रजातान्त्रिक धारमा रूपान्तरित गर्न आवश्यक छ भन्ने दूरदर्शी सोच राखेर शान्ति र संविधानको रोडम्याप पूरा गर्न काङ्ग्रेस बरु माओवादीको सर्त गणतन्त्रमै गईकन ऐतिहासिक नेतृत्व गरी बाह्रबुँदे सहमति गर्न सफल भएको कुरा पनि सिटौलाले गर्न भ्याए ।
सिटौलाज्यू, तपाईं पार्टीको महामन्त्री हुनुहुन्छ । काङ्ग्रेस पार्टीभित्र तीन लाख क्रियाशील सदस्य छन् । बत्तीस सयभन्दा बढी महाधिवेशन प्रतिनिधि छन् । बाह्र सयभन्दा बढी महासमिति सदस्य पनि छन् । यो भन्दा पनि काङ्ग्रेसी कार्यकर्ताले गर्व गर्ने कुरा भनेको बाह्रौँ महाधिवेशनबाट लागू गरिएको वडा समितिदेखि केन्द्रीय समितिसम्म समावेशी नेतृत्व हो । काङ्ग्रेसका लागि यो साँच्चिकै प्रजातान्त्रिक मूल्यको पुनस्र्थापना र गौरवमय उपलब्धि हो । तर, योभन्दा अरू बढी बाह्रौँ महाधिवेशनले पारित गरेको नीति तथा कार्यक्रमहरू तपाईंले के–के सम्पन्न गर्दै हुनुहुन्छ त ? कुन–कुन नीति कार्यान्वयन गरिसक्नुभएको छ त ? तपाईंले सुनसरीको भाषणमा भनेजस्तै सबै पार्टीभित्र आन्तरिक खिचातानी छ, सबैभन्दा ठूलो पार्टी फुटेको छ, अर्को ठूला पार्टीभित्रका थुप्रै जनजाति नेताहरू असन्तुष्ट भएर पार्टी परित्याग गर्ने प्रसङ्ग सुनाउँदै गर्दा हाम्रो प्रश्न छ– के अरू पार्टी फुटेकै भरमा काङ्ग्रेसले चुनाव जित्छ त ? के काङ्ग्रेसलाई कार्यकर्ताको उच्च मनोबलको कुनै आवश्यकता पर्दैन र ? के काङ्ग्रेस कार्यकर्ताको सक्रियताबिना कुनै पनि निर्वाचन जित्ने ल्याकत राख्छ ? के तपाईंहरू सयको हाराहारीमा केन्द्रीय नेता बन्दैमा काङ्ग्रेसको पक्षमा जनलहर छताछुल्ल हुने सम्भावना देखिरहनुभएको छ ? त्यो सम्भावना यदि पार्टीको यस्तै गतिविधि लिएर जनताको बीचमा जानुभयो भने दिवास्वप्न सावित हुनेछ ।
महामन्त्रीज्यू, देशमा उठेका यति ठूला मुद्दाहरू खासगरीकन जातीय पहिचान र राज्य पुनर्संरचनाको विषयमा खोइ काङ्ग्रेसका नेताहरूले आफ्नो स्पष्ट धारण जनतामा राखेको ? विशेषगरी मधेसीका मुद्दाहरूमा खोइ काङ्ग्रेसका मधेसी नेताले आफ्ना धारणाहरू राख्न पाएको ? जनजाति आदिवासीका सवाल हुन् वा दलितकै सवालहरूमा खोइ काङ्ग्रेसका दलित नेताहरूले राष्ट्रिय भेला गराई छलफल वा बहस गर्न र पार्टीलाई सुझाव दिन पाएको ? जनदबाब सहन नसकेर मधेसी नेताहरू मजबुर भएर बोल्न बाध्य भएका हुन् । के यस्तो घुम्याइलो गतिविधिले पार्टी स्वस्थ हुनसक्छ ? छलफलबिना कुनै पनि वर्गको हितमा पार्टीले सही निर्णय यसरी नै लिन सक्छ त ? खोइ व्यापक छलफल ? खोइ राष्ट्रिय भेला ? खोइ महासमितिको बैठक ? अरू त अरू खोइ बोल्न पाएका वा बोल्न सकेका काङ्ग्रेसका विभिन्न भ्रातृ संस्थाहरूले ? नेताले मात्र होइन जनताले पनि थाहा पाउनुप¥यो काङ्ग्रेसका भ्रातृ संस्थाहरूले के बोलिरहेका छन् र के गरिरहेका छन् भन्ने कुरा ? खोइ त महामन्त्रीज्यू त्यस्ताखाले गतिविधि नीति र कार्यक्रम ? के यसरी नै जनताको पुनः स्पष्ट विश्वास जित्न सक्छ र काङ्गे्रसले ? एकदमै असम्भव छ महामन्त्रीज्यू समयमै मनन गर्नुहोस् । विधानभन्दा ठूलो जब व्यक्ति हुन थाल्छ । नीतिभन्दा ठूलो जब नेता हुन थाल्छ । कार्यकर्ताको भावना र मनोबल बढाउनुभन्दा जब सत्ताप्राप्ति प्रिय हुन थाल्छ । निश्चित छ– यस्तो रवैयाको कुनै पनि पार्टीलाई जनताले जनअनुमोदनको छाप लगाउन चाहँदैनन् । यो महामन्त्री सिटौलाज्यूले बुझ्नुहोस् ।
सुनसरीमा महामन्त्रीको हैसियतले तपाईंले गर्नुभएको सम्बोधन र दिनुभएको निर्देशनको सेरोफेरोमा यी प्रश्नहरू तेस्र्याइएका हुन् । वडा समितिहरू गठन भए–नभएकोे बारम्बार प्रमुख चासोको विषय भएको, वडासम्म पुग्न नसकिए सङ्गठन दह्रो हुनै नसक्ने दोहो¥याई–तेहे¥याई जोड दिई बोल्नुभएको प्रसङ्गको कारण नै उपरोक्त प्रश्न सोध्न बाध्य हुनुपरेको हो ।
केन्द्रमा गठन गर्नुपर्ने विभाग गठन नगर्ने, केन्द्रीय समिति पूर्ण नगर्ने, अञ्चल समितिको गठनको कुनै सुरसार नगर्ने, संसदीय समिति र अनुशासन समितिको त सायद काङ्गे्रसलाई जरुरतै पर्दैन होला । काङ्ग्रेसलाई जरुरी नहोला तर न्यायपे्रमी जनता काङ्ग्रेसले आफ्नै पार्टीभित्रका कार्यकर्तालाई न्याय गरिरहेको छ कि छैन भनेर नियालिबसेका छन् । काङ्ग्रेसले कार्यकर्तालाई सम्मान दिएको छ कि छैन भनेर हेरिरहेका छन् । अनि जनता यो पनि हेरिरहेका छन् कि काङ्ग्रेसी नेताहरू आफ्नै पार्टीभित्र विधान कार्यान्वयन गर्न चाहिरहेका छैनन् भने भोलि देशको संविधान कसरी कार्यान्वयन गर्लान् ? सिटौलाज्यू यी यावत् प्रश्नको उत्तरको पूर्ण अपेक्षा राख्नु हाम्रो अपराध त हुने छैन नि ? काङ्ग्रेसमा सही कुरा राख्नेलाई दशा लागे पनि काङ्ग्रेसले राम्रो गरोस् र जनताले काङ्ग्रेसलाई पुरस्कृत गरेर शासन सत्ता सञ्चालन गर्ने अख्तियारी दिँदा काङ्ग्रेसले देशलाई समृद्ध बनाउन सकोस् भन्ने जोकोही काङ्ग्रेसी कार्यकर्ताको सपना र लक्ष्य हुने गर्छ भन्ने यथार्थलाई भुल्न नसकेर यी प्रश्न यहाँ राखिएका हुन् । योभन्दा बढी अब नभनौँ क्यार तर यी प्रश्नको उत्तर कुनै भाषणबाट होइन व्यवहारबाट झल्कियोस्, प्रस्टियोस् भन्ने सबैको अपेक्षा छ । – गोमा, इटहरि, सुनसरी
‘आर्मी भेटरन्स’का लागि ‘भेटरन होम्स’
नेपाली सेनाद्वारा नवनिर्मित ‘भेटरन होम्स’ कम्प्लेक्सको उद्घाटन भएको छ । सैनिक कल्याणकारी योजनाअन्तर्गत कल्याणकारी कार्यको दायरालाई अझै फराकिलो गर्ने लक्ष्यअनुरुप निर्माण गरिएको कम्प्लेक्सको सोमबार प्रधानसेनापति छत्रमानसिंह गुरुङले गर्नुभयो । काठमाडौंको इचंगुनारायणमा करिव ११ रोपनी जग्गामा निर्मित कम्प्लेक्समा अवकाशपश्चात असहाय र वृद्ध भुपूसैनिकहरुलाई आवश्यक पर्ने कुरुवाको व्यवस्था, भोजन, स्वास्थ्य सेवा र अन्य हेरचाहलगायतका आधारभुत सेवा–सुविधाहरु उपलब्ध गराउने व्यवस्था गरिएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नवनिर्मित कम्प्लेक्समा एक अधिकृत भेटरन भवन, एक पदिक भेटरन भवन र अन्य दर्जाका भेटरन भवन एक गरि तीनवटा भेटरन भवनहरु रहेका छन् । जसमा हाल अधिकृत चार, पदिक आठ र अन्य दर्जा सोह्र गरि जम्मा २८ जनालाई आवश्यक सुविधा प्रदान गरिने छ भने भविष्यमा भवनको विस्तार गरि अधिकृत १२, पदिक २४ र अन्य दर्जा ४८ गरि ८४ जनाले यो सुविधा उपभोग गर्न पाउने योजना रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।