ब्याडमिन्टनमा उथलपुथल : एपीएफ र सेनालाई स्वर्ण

ब्याडमिन्टनमा उथलपुथल : एपीएफ र सेनालाई स्वर्ण


सशस्त्र प्रहरी बलको एपिएफ क्लब पुरुषतर्फ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब महिलातर्फ राखेप च्याम्पियनसिप अन्तर्गत भएको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको टिम इभेन्टसतर्फ विजय हात पार्दै एक एक स्वर्ण बाँडेका छन् ।

एपिएफले सेनालाई वेष्ट अफ फाइभको खेलमा ३–१ को जित निकालेको हो । एपिएफका दिपेश धामीको होम कोर्टमा भएको प्रतियोगितामा उच्च स्तरको प्रदर्शन गर्दै एपिएफलाई स्वर्ण दिलाउन सफल भएका थिए । पुरुष एकलको पहिलो खेलमा धामीले सेनाका रत्नजितलाई २१–१९, २५–२३ को सोझो सेटमा पराजित गरेका थिए । दोश्रो पुरुष एकलको खेलमा सेनाका नविन श्रेष्ठले साजन कृष्ण ताम्राकारलाई २१–१५, २१–१९ले पराजित गर्दै टिमलाई बराबरको स्थितीमा पु¥याएका थिए ।

पुरुषको तेश्रो एकल खेलमा एपीएफका सुदीप सेंढाईले सेनाका प्रफुल महर्जनलाई २१–१७, २१–१७ ले र पुरुष जोडीमा एपिएफका धामी र विजित थापा मगरको जोडीले सेनाका रत्न र नविको जोडीलाई सनसनीपूर्ण खेलमा २२–२०, १७–२१ र २५–२३ को जित निकाल्दै टिमको लागि पहिलो स्वर्ण दिलाएका थिए ।

यस्तै महिलातर्फको टिम प्रतिस्पर्धामा सेनाको टिमले एपीएफलाई २–० ले पराजित गर्दै स्वर्ण हात पा¥यो । ‘वेष्ट अफ टु’को खेलमा सेनाकी नङ्गशल देवी तामाङ्गले एपिएफकी शिक्षा श्रेष्ठलाई २१–१५, २१–१८ तथा अमिता गिरीले एपिएफकी शोभा गौचनलाई २२–२०, १५–२१ र २१–१८ ले पराजित गर्दै सेनाका लागि स्वर्ण जितेका थिए ।

महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतिस्पर्धाको महिला एकलको सेमिफाईनल समिकरण पुरा भएको छ । बिहिबार भएको महिला एकलमा सेनाका नङ्गशल र अमित गिरी तथा एपिएफका शोभा र शिक्षा श्रेष्ठले सेमिफाईनलमा पुगेका छन् । नङ्गशलले पूर्वाञ्चलकी सुनैना मुखियालाई २१–१२, २१–१५ ले पाखा लगाएकि थिइन् । अव सेमिफाइनलमा नङ्गशलको भिडन्त एपीएफकि शोभासंग हुनेछ ।

शोभाले सेनाकी अनुमाया राईलाई एक घण्टा लामो खेलमा २१–१५, १९–२१ र २१–१५ ले पराजित गरिन् । यस्तै एपिएफकी शिक्षा श्रेष्ठले पूर्वाञ्चलकी निता लम्साललाई २१–१६, २१–८ ले पाखा लगाईन् । सेनाकी अमिता गिरीले पूर्वाञ्चलकी जेशिका गुरुङ्गलाई २१–११, २२–२०ले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरिन् । अब गिरीले फाईनल प्रवेशका लागि शिक्षासंग प्रतिस्पर्धा गर्ने छिन् ।

महिला जोडीतर्फको खेलमा सेनाका अमिता गिरी र रसिला महर्जनको जोडी तथा नङ्गशल तामाङ्ग र अनुमायाको जोडी सेमिफाईनल पुगेका छन् । गिरी र महर्जनको जोडीले पूर्वाञ्चलका निता लम्साल र सिमा राजबंशीको जोडीलाई २१–९, २१–१० ले पाखा लगाएका थिए । गिरीको जोडीले एपिएफका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीको सामना गर्ने भएका छन् । श्रेष्ठ जोडीले सुदूरपश्चिमका दूर्गा शर्मा र रञ्जना भट्टको जोडीलाई २१–१६, २१–१२ ले पराजित गरेका थिए ।

यस्तै नङ्गशल तामाङ्ग र अनुमायाको जोडीले मध्यपश्चिमका संझना शर्मा र कामना वलीको जोडी माथी २१–७, २१–११ को जित निकाल्दै सेमि फाइनलमा पुगेका छन् । तामाङ्ग जोडीले पूर्वाञ्चलका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडीसंग प्रतिस्पर्धा गर्ने भएका छन् । जेसिका र सुनैनाले पश्चिमाञ्चलका आकृती केसी र सुन्दरा खनालको जोडीलाई २१–८, २१–५ ले पराजित गरेका थिए ।