मोरङ फुटबल संघको अध्यक्षमा पुनः धिमाल

मोरङ फुटबल संघको अध्यक्षमा पुनः धिमाल


मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।

बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

धिमालले आठ मत ल्याए भने गिरीले छ मत प्राप्त गरेका थिए । यो विजयसँगै धिमाल जिल्ला फुटबल संघमा ह्याट्रिक गरेका छन् । उनि २०६४ सालदेखि जिल्ला फुटबल संघको अध्यक्ष छन् । संघको उपाध्यक्षमा दीपेन्द्र तिवारी, माधवराज भण्डारी र धनकुमार लामा निर्बाचित भएका छन् ।

यस्तै, महिला सदस्यमा कौशिला लिम्बू र सदस्यमा उद्धवकुमार भुजेल, ओमप्रकाश मास्के, इन्द्रमणि पोखरेल, प्रेम तामाङ, खड्गबहादुर श्रेष्ठ, नगेन्द्र घिसिङ, माधवप्रसाद लिम्बू र तेजराज गिरी निर्बाचित भएका छन् ।

मोरङ जिल्लामा रहेका ए डिभिजनका १४ वटा फुटबल क्लबका १४ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेका हुन् ।राससका अनुसार १४ वटा क्लबमध्ये सात वटा विराटनगर महानगरपालिकाभित्र र सातवटा महानगरपालिका बाहिरका रहेका थिए ।