लक्ष्यअनुसारकै राजस्व संकलन

लक्ष्यअनुसारकै राजस्व संकलन


आन्तरिक राजस्व कार्यालय भैरहवाले चालू आर्थिक वर्ष २०७४÷७५ को प्रथम अर्धवार्षिक अवधिको लागि तोकिएको राजस्व संकलन गर्ने लक्ष्य पुरा गरेको छ । पुस मसान्तसम्ममा ३ अर्ब ९१ करोड ६१ लाख ६८ हजार अर्थात लक्ष्यको १००.१२ प्रतिशत राजस्व संकलन भएको हो । गत आर्थिक बर्षको भन्दा करिव २८ प्रतिशत बढि लक्ष्य निर्धारण गरिएकोले उक्त लक्ष्य पूरा गर्नु निकै चुनौतीपूर्ण मानिएता पनि अथक प्रयासपछि लक्ष्य पूरा भएको कार्यालयले जनाएको छ ।

राजस्व संकलनका दृष्टिले पुस महिनालाई निकै महत्वपूर्ण मानिन्छ । राजस्व संकलनलाई प्रभावकारी बनाउन आन्तरिक राजस्व कार्यालय भैरहवाले पुस महिनाको अन्तिम हप्तामा शनिबार तथा सार्वजनिक बिदाका दिनमा समेत कार्यालय तथा राजस्व संकलन गर्ने बैंक खुला राखेर करदातालाई सेवा पु¥याएको थियो ।
चालू आर्थिक बर्षको प्रथम अर्धवार्षिक अवधि अर्थात पुुुस मसान्त सम्ममा अन्तःशुल्क २ अर्ब ८२ करोड ७४ लाख ४० हजार, आयकर ५४ करोड १३ लाख ६९ हजार, मूल्य अभिबृद्धि कर ४८ करोड ३७ लाख ७५ हजार, बहालकर २ करोड ८१ लाख ४६ हजार, स्वास्थ सेवा कर २४ लाख ८१ हजार, शिक्षा सेवा शुल्क ४९ लाख ४२ हजार र अन्य २३ लाख ३२ हजार राजस्व संकलन भएको छ ।

आन्तरिक राजस्व कार्यालय भैरहवाले चालू आर्थिक वर्षमा ९ अर्ब ६२ करोड ९९ लाख ६५ हजारको राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । गत वर्षमा विभिन्न अवधिमा भएको राजस्व संकलन दर तथा यस बर्षको वृद्धिदरका आधारमा बार्षिक राजस्व संकलन लक्ष्यअनुरुप नै हुने आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले जानकारी दिए ।
– पुनहरि बेल्बासे