अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा जुडो खेलाडीलाई प्रशिक्षण

अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा जुडो खेलाडीलाई प्रशिक्षण


अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट आएका जुडो प्रशिक्षक डान तेलर्काले राष्ट्रिय टिममा परेका जुडो खेलाडीलाई प्रशिक्षण दिन सुरु गरेका छन् । समान १४–१४ पुरुष/महिला खेलाडीलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रशिक्षण दिन थालिएको हो ।

गत पुस अन्तिम साता सातदोबाटोमा सम्पन्न राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं राष्ट्रिय जुडो प्रतियोगिताको आ–आफ्नो तौलसमूहमा पहिलो र दोश्रो हुने खेलाडीलाई प्रशिक्षणमा राखिएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

आसन्न दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुदको तयारीलाई ध्यानमा राखि जुडो संघले अन्तर्राष्ट्रिय प्रशिक्षकका लागि जुडो संघले आईजेएफमा पहल गरेको थियो । सोही अनुरुप आईजेएफले रोमानियाका छैटौं डान तेलर्कालाई नेपाल पठाएको हो ।

श्रेष्ठ र डंगोल दुबईतर्फ
नेपाल जुडो संघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक धर्मकुमार श्रेष्ठ र जुडो प्रशिक्षक चन्द्र डंगोल दुबई प्रस्थान गरेका छन् । त्यहाँ हुने आईजेएफ रेफ्री तथा कोचिङ सेमिनारमा सहभागी हुन उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सेमिनार जनवरी १८ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ । जुडोमा जनवरीदेखि लागू भएको नयाँ नियमका बारेमा सेमिनारमा जानकारी दिइने श्रेष्ठले बताए ।