कम्युनिष्ट एकताका ६ चुनौती

कम्युनिष्ट एकताका ६ चुनौती


– देवप्रकाश त्रिपाठी

गत निर्वाचनभन्दा केही अघि नेकपा एमाले र माओवादीबीच राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिलाई चुनौती दिँदै शुरु भएको मायाप्रीति विवाहमा परिणत हुने भएपछि अनेकौँ झमेला र अड्चन पैदा भएका छन् । प्रीतिको प्रारम्भ अप्रत्यासित हुन सक्छ र एमाले–माओवादीको प्रीति पनि प्रत्यासित थिएन । प्रीतिकालमा भविष्यप्रति जुनस्तरको कल्पना गरिन्छ, त्यस्तै कल्पना एमाले र माओवादीका नेताहरूले पनि गरेको आभास हुन्थ्यो । आफ्नो लक्ष्य प्राप्तिको मार्गमा अड्चन पैदा गर्नेहरूलाई पन्छाउँदै अघि बढ्ने र आवश्यक परे एक–अर्काका निम्ति ‘आकाशका तारा झारिदिने’ कसम पनि दुवैथरीले खाएकै हुन् ।

चुनावसम्म प्रीतिको अभेद्य गठबन्धनमा जेलिएका एमाले र माओवादीको सम्बन्ध विवाह (एकता)को चरणमा प्रवेश गरेपछि ‘दाइजो, गहना, लत्ताकपडा र परस्पर मानसम्मान’को कुरामा अल्झिएको छ । माओवादी र एमालेको पृष्ठभूमि, मनोविज्ञान, सोच, चरित्र, कार्यशैली, नेतृत्व, व्यवहार र स्कुलिङका आधारमा विश्लेषण गर्दा एकीकरणपछि झनै ठूलो समस्यामा पर्ने निष्कर्षमा पुगिन्छ । ‘हतारमा विवाह गरेर फुर्सदमा पश्चाताप गर्ने’ स्थितिमा एमाले–माओवादी दुवैतर्फका नेता–कार्यकर्तालाई पुऱ्याउने सङ्केतहरू देखिएका भए पनि शुरु भइसकेको एकता प्रक्रियाबाट सजिलै पछि हट्न पाउने सुविधाबाट भने नेताहरू वञ्चित छन् ।

एकता प्रक्रियाका क्रममा पार्टीको कमाण्ड कसले कसरी सम्हाल्ने, राष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष र सभामुखजस्ता रणनीतिक महत्वका स्थायी पदीय जिम्मेवारीको बाँडफाँड कसरी गर्ने र नीति, विचार, सिद्धान्त एवम् कार्यक्रमलाई खपतयोग्य कसरी बनाउने भन्नेजस्ता विषय प्राथमिकतामा परेका छन् । विवाद या उल्झन जसरी प्रकट भए पनि कुनै तरिकाले उल्लिखित विषयसम्बद्ध विवाद मिलाइने र दुई पार्टी ‘एक’ बनेको घोषणा हुने सम्भावना जति छ एकतापछि उक्त पार्टीको आन्तरिक जीवन थप तनावमय बन्ने र एकताको महसुस गर्नै नसकिने अवस्था पैदा हुने सम्भावना झनै बलियो देखिँदै छ । प्रेमी–प्रेमिका बन्नुजस्तो होइन पति–पत्नी बनेर घरसंसार चलाउनु भन्ने आत्मबोध सम्बद्ध दलका नेताहरूलाई भइसकेको बुझ्न सकिन्छ । यहाँ दुई पार्टी एकता र एकताको स्थायित्वमा चुनौती बन्न सक्ने या बनेका विषयबारे सङ्क्षिप्त चित्रण गर्न खोजिएको छ ।

(क) केपी ओली र प्रचण्डको पृष्ठभूमि
धेरै मानिस प्रचण्ड र केपी ओलीको पृष्ठभूमि समान भएको ठान्छन् । ओली झापाको हिंसात्मक विद्रोहमा सामेल भएको र प्रचण्डले पनि दश वर्ष लामो हिंसात्मक सङ्घर्षको नेतृत्व गरेको उदाहरण मानेर मानिसले समान पृष्ठभूमि ठहर गरेका हुन सक्छन् । वास्तवमा झापा विद्रोह कम्युनिष्ट क्रान्तिकारी रोमान्सको प्रभावमा परेका अपरिपक्व युवाहरूको आवेग थियो । अपरिपक्व र आवेग नै भए पनि उक्त विद्रोहका कारण ठूलो क्षति हुन पुग्यो, कैयनले ज्यान गुमाए, केहीले जीवनको महत्वपूर्ण समय जेल र कालकोठरीमा वर्षौं बिताउनुपऱ्यो । केपी ओलीले पनि पन्ध्र वर्ष कैद यातनाको सजाय भोगेका हुन् । तर, कम्युनिष्ट आन्दोलनका त्यस्ता नेता प्रचण्ड हुन्, जसले पन्ध्र मिनेट जेलमा बिताउनुपरेको छैन । झापा विद्रोह विदेशको प्रभावमा परेका नेपाली क्रान्तिकारी ठिटाहरूद्वारा सञ्चालित मौलिक सङ्घर्ष थियो ।

तर, माओवादका नाममा प्रचण्ड–बाबुरामद्वारा सञ्चालन गरिएको हिंसात्मक सङ्घर्ष देशी–विदेशी प्रतिक्रियावादीहरूको तत्वावधान र प्रायोजनमा भएको पुष्टि एकप्रकारले भइसकेको छ । माओवादीको हिंसात्मक सङ्घर्ष नेपाल र नेपालीको पक्षमा भएको पुष्टि अहिलेसम्म हुन सकेको छैन । त्यसैले माओवादी सङ्र्षलाई देश विघटनका निम्ति रचिएको एउटा षड्यन्त्रका रूपमा बुझ्न सकिन्छ । झापा सङ्घर्षका सञ्चालकहरूले विदेशीको विचार–सिद्धान्त ग्रहण गरे पनि तिनले विदेशी साथ–सहयोग पाएका र खोजेका थिएनन् । तर, प्रचण्डले हिंसात्मक सङ्घर्षकालमा देशी तथा विदेशी तत्वहरूसँग अनुचित र अवाञ्छित सम्झौता गरेको तथ्यहरू सार्वजनिक भइसकेका छन् । त्यसैले प्रचण्ड आफ्नो स्वतन्त्र भूमिका निर्वाह गर्न स्वतन्त्र छैनन् । पराधीन प्रचण्ड र केपी ओलीको पृष्ठभूमिमा देखिने अन्तरको असर कम्युनिष्ट एकतापछिको पार्टी जीवनमा पनि निरन्तर परिरहन सम्भव छ ।

(ख) पार्टीको नामाकरण र चुनाव चिह्न
हाल माओवादी भनेर चिनिनेहरूलाई पहिले ‘चौथो महाधिवेशन (चौम)’ र मुखपत्रका कारण ‘मशाल’ नामले बुझिन्थ्यो । पछि एकता केन्द्र हुँदै, माओवादी, एमाओवादी र अहिले माओवादी केन्द्रका रूपमा चिनिने भएका हुन् । नाममा स्थिरता देखिँदैन एउटा पक्षको, तर नेकपा एमाले २०४६ को राजनीतिक परिवर्तनलगत्तै स्थापित नाम हो । पहिलेको माले एमाले बनेर चुनावी प्रक्रियामा पटक–पटक सहभागी भई जनतामा स्थापित भइसकेको छ । नेपाली जनताको एउटा हिस्साले एमाले नामप्रति औधी प्रेम र आस्थाभाव प्रकट गर्ने गरेको पाइन्छ । तीन दशकदेखि एक नाममा चिनिँदै आएको पार्टीका कार्यकर्ताले नाम बदलेपछिको धेरै समयसम्म सहजता महसुस गर्ने छैनन्, तर नाम नबदलीकन पार्टी एकीकरणको सम्भावना पनि देखिएको छैन ।

एमाले नाममा लामो प्रजातान्त्रिक अभ्यास गरिसकेको हुनाले अब नाम बदल्दा भविष्यमा पटक–पटक बदलिरहने झन्झटबाट मुक्ति पाउने उपायको खोजी गर्नु उपयुक्त देखिन्छ । कम्युनिष्ट शब्दप्रति विश्वमा एकप्रकारको ‘रिजर्भेसन’ भएकोले एकीकृत पार्टीलाई ‘प्रजातान्त्रिक समाजवादी’जस्ता नाम दिइनु उपयुक्त हुने हो, तर माओवादीहरू कम्युनिष्ट शब्द परित्याग गर्ने मुडमा देखिँदैनन् । साम्यवादी क्रान्तिको भ्रान्ति अझै पनि माओवादीले पालेर राखेका छन् । त्यसैले पार्टीको नामाकरण उक्त पार्टीको एकता र भविष्यका निम्ति एउटा चुनौती बनेर रहिरहने अवस्था छ । चुनाव चिह्नका बारेमा भने दुई पक्षबीच धेरै ठूलो मतान्तर हुने ठानिएको छैन । ‘सूर्य’ चुनाव चिह्न छोडेर एमाले पार्टी एकता प्रक्रियामा सामेल हुन असम्भव भएकोले पनि चुनाव चिह्नचाहिँ चुनौती बन्ने स्थिति छैन ।

(ग) नीति, विचार, सङ्गठन, सिद्धान्त र कार्यक्रम
एमाले र माओवादी दुवैलाई कम्युनिष्ट पार्टीका रूपमा बुझिने भए पनि दुई पार्टीको सङ्गठन, सिद्धान्त, नीति, विचार र कार्यक्रममा अतुलनीय अन्तर छ । नेकपा एमालेसँग असहमति जनाउन मिल्ने/सकिने अनेक सैद्धान्तिक, वैचारिक र शैलीगत पक्ष नभएका होइनन्, तर नेपालमा सर्वाधिक सुदृढ, संस्थागत र व्यवस्थित राजनीतिक दलका रूपमा एमालेलाई लिइन्छ । नेपाली काङ्ग्रेस गुटहरूको सिद्धान्तहीन मोर्चामा रूपान्तरित हुँदै गरेको ठानिन्छ भने माओवादीलाई लहडीहरूको टोली या अराजक सोचको पुञ्जका रूपमा बुझ्ने गरिन्छ । क्षेत्रीयता र जातीयतामा आधारित समूहहरूको राजनीतिक जीवन दीर्घ हुन सक्दैन । उनीहरूले आफूलाई समयमै सुनियोजित रूपान्तरण गर्न सकेनन् भने त्यस्ता समूह या विसर्जित हुन्छन्, विसर्जित नभए कालान्तरमा आतङ्ककारी जत्थामा बदलिन सक्छन् ।

यस स्थितिमा नेकपा एमालेले आफूलाई एक देक्तभक्त र प्रजातन्त्र पक्षधर सुगठित दलका रूपमा उभ्याउँदै आएको छ । उक्त दलले मदन भण्डारीद्वारा स्थापित ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको छ । जबजबिनाको एमाले मात्रको चाहिँ कल्पना गर्न सकिँदैन, एमाले नामसमेत विस्थापित भएर एकीकृत नयाँ दल निर्माण हुँदा ‘जबज’लाई कुन रूपमा ग्रहण गरिने हो त्यो एउटा चुनौतीको विषय हो । माओवादीले माओवाद र एमाले ‘जबज’ स्थगित गरेर मात्र पार्टी एकता हुन सक्ने विचार सम्बद्ध दलहरूभित्र प्रकट भइरहेका छन् । तथापि एमाले र माओवादीभित्र आ–आफ्ना नीति, विचार र सिद्धान्त छोडेर एकता गरिनुहुन्न भन्ने आवाज पनि उठिरहेको छ ।

प्रचण्डहरू पहिले माओवादी थिएनन्, माओवादी बने । पेरूमा माओवादी हिंसात्मक सङ्घर्ष उत्कर्षमा पुग्दा यहाँ प्रचण्डहरूले गोन्जालो विचारधारा र प्रचण्डपथ अवलम्बन गरिएको घोषणा पनि गरेका हुन् । पेरूको ‘क्रान्ति’ असफल हुनेबित्तिकै सुटुक्क गोञ्जालो विचारधारालाई पार्टीको मार्गदर्शक सिद्धान्तबाट हटाउने उनीहरूले प्रचण्डपथ भन्न छोडेको पनि धेरै भइसकेको छ । यसप्रकारको पृष्ठभूमिका आधारमा भन्नुपर्दा प्रचण्डहरू सत्ताका निमित सिद्धान्त छोड्न सक्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ । तर, उनीहरूलेझैँ एमालेले सजिलैसँग आफ्नो नीति, सिद्धान्त र कार्यक्रम परित्याग गर्ने विश्वास गर्न सकिँदैन । पार्टी एकता घोषणाका निम्ति कुनै तदर्थवादी या वैकल्पिक उपाय अवलम्बन गरियो भने पनि वैचारिक विषयले पार्टी एकतालाई दूरगामी चुनौती दिइरहन सम्भव छ । सङ्गठन गर्ने, पार्टीको नीति तथा कार्यक्रम तर्जुमा गर्ने र जनतामा जाने शैलीमा दुई पक्षबीच तेल र पानीको अन्तर देखिन्छ । त्यसैले पार्टीको एकीकरण भए पनि दुई समूहको घुलन अर्को एउटा चुनौतीका रूपमा रहिरहने देखिएको छ ।

प्रचण्डहरू पहिले माओवादी थिएनन्, माओवादी बने । पेरूमा माओवादी हिंसात्मक सङ्घर्ष उत्कर्षमा पुग्दा यहाँ प्रचण्डहरूले गोन्जालो विचारधारा र प्रचण्डपथ अवलम्बन गरिएको घोषणा पनि गरेका हुन् । पेरूको ‘क्रान्ति’ असफल हुनेबित्तिकै सुटुक्क गोञ्जालो विचारधारालाई पार्टीको मार्गदर्शक सिद्धान्तबाट हटाउने उनीहरूले प्रचण्डपथ भन्न छोडेको पनि धेरै भइसकेको छ । यसप्रकारको पृष्ठभूमिका आधारमा भन्नुपर्दा प्रचण्डहरू सत्ताका निमित सिद्धान्त छोड्न सक्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ । तर, उनीहरूलेझैँ एमालेले सजिलैसँग आफ्नो नीति, सिद्धान्त र कार्यक्रम परित्याग गर्ने विश्वास गर्न सकिँदैन ।


(घ) राष्ट्रियतासम्बद्ध विषय

नेकपा एमाले साँचो अर्थको राष्ट्रवादी राजनीतिक दल भएको पुष्टि हुन बाँकी नै छ । पछिल्लो समयमा एमालेले भारतसँग दूरी बढाएर नेपाली जनताको मन जित्ने कोसिस गरिरहेको छ । नेपाली काङ्ग्रेस एकप्रकारले दृष्टिकोणविहीन दल बनेको सन्दर्भमा माओवादी र मधेसकेन्द्रित समूहहरूबीच नागरिकता, पहिचान, भाषा, जातिलगायतका विषयमा समान धारणा बनेको थियो । मधेसकेन्द्रित समूह र माओवादी एकातिर भएपछि काङ्ग्रेससमेत संविधान संशोधनको मुद्दामा लतारिएको हो ।

संविधान संशोधनको मुद्दामा एमाले र मधेसकेन्द्रित समूह परस्पर विपरीत धु्रवमा उभिँदा माओवादीको साथ मधेसकेन्द्रित समूहलाई हुन पुगेको थियो । एमाले अहिले पनि जाति, भाषा, नागरिकता र राष्ट्रियतासम्बद्ध विषयप्रतिको पूर्वदृष्टिकोणबाट स्खलित भइसकेको छैन । एमालेले नेपाल एकल राष्ट्र मुलुक भएको स्पष्ट गर्दै आएको पनि छ । जब कि माओवादीले नेपाललाई बहुराष्ट्र मुलुकका रूपमा विश्लेषण गरेको छ र जाति, समुदाय तथा क्षेत्रको पहिचानका नाममा राज्यहरूको नक्साङ्कन गराउन अड्डी लिने दल पनि माओवादी नै हो । त्यसैगरी एमालेले नेपालीलाई सरकारी कामकाजको भाषा यथावत् राख्नुपर्ने धारणा सार्वजनिक गर्दै आएको छ । तर, माओवादीले भाषाका विषयमा समेत एमालेको भन्दा नितान्त भिन्न दृष्टिकोण प्रस्तुत गर्ने गरेको छ । राष्ट्रियता र राष्ट्रियतासम्बद्ध विषयमा देखिने अन्तर एमाले–माओवादी एकता र एकताको स्थायित्वमा गम्भीर चुनौती बन्ने सम्भावना छ ।

(ङ) नेताहरूको व्यवस्थापन
विद्यमान राजनीतिमा हरेक दलहरूका निम्ति आ–आफूभित्र नेताहरूको व्यवस्थापन एउटा समस्या बनिरहेको छ । पुराना नेताहरू विश्राम लिन नचाहने र नयाँ मानिसहरूमा महत्वाकाङ्क्षा बढेका कारणले पनि नेताहरूको व्यवस्थापन एउटा बेग्लै समस्या बनेको हो । माओवादीले कैयन आलाकाँचा मानिसलाई समेत उच्च तहको जिम्मेवारी दिएर महत्वाकाङ्क्षा बढाइदिएको छ, यद्यपि एमाले पनि यस मामिलामा माओवादीभन्दा धेरै भिन्न स्थितिचाहिँ होइन । दुवैतर्फ दर्जनौँ नेताको उत्पादन भएको छ, तर पदीय जिम्मेवारी भने सीमित सङ्ख्यामा निर्धारण गरिएको छ । आकाङ्क्षाअनुसारको हैसियत प्राप्त नहुँदा सम्बद्ध व्यक्ति असन्तुष्ट बन्ने र व्यक्तिको असन्तुष्टिले अन्ततः एकतामा नै क्षति पुऱ्याउने सम्भावना रहन्छ ।

(च) प्रचण्डको चरित्र र व्यवहार
नेकपा एमाले र माओवादीबीच एकीकरण हुन प्रचण्ड महत्वाकाङ्क्षाको व्यवस्थापन मुख्य समस्या बनिरहेको छ । सामान्यतया कम्युनिष्ट पार्टीहरूभित्र विचारलाई उच्च महत्व दिइन्छ र विचारकै आधारमा कम्युनिष्ट पार्टीहरू जुट्ने र फुट्ने पनि गर्दछन् । तर, नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरूबीच एकीकरणको प्रक्रिया शुरु हुँदा वैचारिक बहस सतहमा आएको छैन, प्रचण्डलाई तत्काल पार्टी प्रमुख बनाउने र भविष्यमा प्रधानमन्त्री बन्ने कुराको सुनिश्चितता दिनुपर्ने विषयले उच्च महत्व पाएको छ । एउटा व्यक्तिले उच्चपदीय हैसियत प्राप्त गर्दा पार्टी एकता हुने र नपाउँदा नहुने जुन स्थिति देखापरेको छ यसले नेपाली राजनीतिको समस्या मात्र दर्शाएको छैन, प्रचण्डको चरित्र पनि उजागर गरेको छ ।

नेकपा एमालेले तुलनात्मक रूपमा पार्टीको आन्तरिक जीवनमा पनि राम्रो प्रजातान्त्रिक अभ्यास गर्ने गरेको छ । एमालेले समस्याहरूको समाधान र विचार तथा विवादको निरूपण प्रजातान्त्रिक ढङ्गले गर्दै आएको छ र नेतृत्व चयनमा समेत उक्त दलको प्रजातान्त्रिक अभ्यास स्मरणयोग्य मानिन्छ । पार्टीले कुनै खास विषयमा निर्णय लिनुपर्दा पनि एमालेले प्रजातान्त्रिक विधि अवलम्बन गर्ने गरेको पाइन्छ । तर, प्रचण्डको चरित्र प्रजातान्त्रिक मूल्य, मान्यता र विधिलाई पछ्याउने प्रकारको ठानिँदैन । उनी एकल निर्णयमा विश्वास गर्दछन्, आफूलाई लागेको कुरा ठीक ठान्ने र ठीक ठानेको विषय कार्यान्वयन निम्ति जस्तासुकै हथकण्डा अवलम्बन गर्न अग्रसर हुने चरित्र प्रचण्डको छ ।

एमालेको पद्धतिभित्र बाँधिन नखोज्ने र नसक्ने प्रचण्डको चरित्रमा सुधार या परिवर्तनको आशा राख्न पनि सकिँदैन । पार्टीभित्र नेताहरूबीच ‘कन्स्पिरेसी’ पैदा गर्ने र सबका बीच खेलेर आफूलाई केन्द्रबिन्दुमा राखिरहने प्रचण्ड चरित्र नै एकीकृत पार्टीका निम्ति सबैभन्दा ठूलो समस्या र चुनौती बन्न सक्ने प्रबल सम्भावना छ । प्रचण्डको बहुरूपी चरित्र र व्यवहारले एकता खोज्ने एमालेका नेता–कार्यकर्तालाई कालान्तरमा विभाजन होइन धुजा–धुजा बनाइयो भने त्यसलाई आश्चर्यजनक र अस्वाभाविक मान्नुपर्ने हुँदैन ।