ऐश्वर्य लिएर सिड्नी आउँदै रमेश

ऐश्वर्य लिएर सिड्नी आउँदै रमेश


राजन घिमिरे, सिड्नी

अन्ततः नेपालमा हिट फिल्मको रूपमा नाम दर्ता गराउन सफल फिल्म एेश्वर्य हेर्न चाहने सिड्नीवासी नेपालीहरुको चाहना पूरा हुने भएको छ । नेपालमा रुचाइएको फिल्म ‘ऐश्वर्य’ अब सिड्नीमा प्रदर्शन हुने भएको हो ।

फिल्मका प्रस्तुतकर्ता तथा अभिनेता रमेश उप्रेतीले सिड्नी रिलिज बारे जानकारी दिएका छन् । ‘सिड्नीबासी नेपालीहरूसंगै बसेर फिल्म हेर्न आउने जानकारी गराउंन पाउँदा खुशी लागेको छ’, नेपालबाट कुरा गर्दै रमेशले भने ।

यसअघि जापान, अमेरिका र युके लगायतका सहरमा प्रदर्शन भइसकेको फिल्मको गीत ‘तिमि रोएको पल’ लाई पनि दर्शकले रुचाएका छन् । फिल्मलाई सिड्नीस्थित बरउडमा रहेको इभेन्ट सिनेमामा देखाइने छ । फेब्रुअरी ४ मा हुने यस शो लाइ हेर्न २५ डलरको टिकेट खरिद गर्नुपर्ने बताइएको छ भने फिल्मको शो पश्चात रमेश उप्रेतीसंग दर्शकको ‘मीट एण्ड ग्रीट’ पनि हुने भएको छ ।

युट्युबमा गीतले एक करोड बढी भ्युज पाइसकेको छ । गीतमा शब्द र संगीत अर्जुन पोखरेलको रहेको छ भने यसलाई सुगम पोखरेल र अन्जु पन्तले गाएका छन् । फिल्ममा रमेश उप्रेतीसंगै प्रशान्त ताम्राकार, केकी अधिकारी, दीपिका प्रसाईं, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, तेन्जु योन्जन, विकाश खतिवडा लगायतको अभिनय रहेको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् । निर्मल शर्मा सह निर्माता रहेको फिल्ममा दिर्घ खड्काको सम्पादन, राजेश श्रेठ र सुदीप बरालको छायाँकन रहेको छ ।