विषालु माछाका कारण जापानमा इमर्जेन्सी

विषालु माछाका कारण जापानमा इमर्जेन्सी


माछा जातीमा ‘फुगु माछा’ सबैभन्दा विषालु माछामा पर्छ । फुगु माछा यति विषालु छ कि त्यो कल्पना समेत गर्न सकिँदैन । धेरैलाई जानकारी नहुन सक्छ, वास्तवमा फुगु माछा साइनाइटभन्दा पनि १ हजार २ सय गुणा बढी विषालु हुन्छ ।

यस्तो विषालु माछा जापानका बजारमा बिक्रीवितरण गरिएपछि हङ्गामा मच्चिएको छ । सरकारले यसविरुद्ध इमर्जेन्सी नै लगाउन बाध्य भएको छ । जापानमा पाँचवटा फुगु माछा बजारमा बिक्री गरिएपछि इमर्जेन्सी लगाइएको हो ।

यो घटना मध्यजापानको हो जहाँ पाँचवटा फुगु माछा बिक्री गरिएको थियो । ती माछाको कलेजो ननिकालिएको बताइन्छ । फुगु माछाको कलेजोमा अत्यधिक टेट्रोडोटाक्सिन हुन्छ, जसमा साइनाइटभन्दा कयौं गुणा ज्यादा विष हुन्छ । यही कारणले फुगु माछा पकाउँदा विशेष विधि अपनाउनुपर्ने हुन्छ । जापानमा फुगु माछा पकाउन लाइसेन्स नै लिनुपर्छ । अन्यथा यो माछा बेच्न, पकाउन र खान पनि पाइन्न ।

जापानमा फुगु माछा विशेष गरेर जाडो याममा खाइन्छ । यसको बिक्रीवितरण गर्दा कानुनी प्रक्रिया पुऱ्याउनका साथै मेडिकल परीक्षण पनि गराउनु पर्छ । तर यो माछा खरिद गर्नेले मेडिकल प्रशिक्षण गराउँदा फुगु माछाको कलेजो निकालेको थिएन । कलेजो माछाभित्रै थियो । यो अवस्था भनेको अत्यन्त खतर्नाक हो ।

यो कुराको जानकारी पाएपछि जापानका अधिकारीहरुले लाउडस्पीकरबाट फुगु माछाको गैरकानुनी रुपमा बिक्रीवितरण गरिएको जानकारी गराउँदै मध्यजापानमा इमर्जेन्सी लगाएको थियो । साथै त्यहाँका जनतालाई चेतावनी दिँदै फुगु माछा खरिद गर्न र खानमा रोक लगाएको हो । सरकारले छापा मारेर बजारमा बिक्री गरिएका पाँचवटा माछामध्य तीनवटा नियन्त्रणमा लिएको छ ।