लामाको दुस्साहस : सदस्यसचिव र कर्मचारीमाथि तरबार

लामाको दुस्साहस : सदस्यसचिव र कर्मचारीमाथि तरबार


– श्रीविक्रम भण्डारी

पूर्वसंयोजक लामा टेन्डी शेर्पाका हर्कतले तरङ्गित बनेको खेलकुदमा लामाकै कारणले सुनामी आउने सङ्केत देखापरेको छ । खेलकुदको ऐन, नियम र नियमावलीविपरीत कार्य गरेर खेलकुदलाई नै विवादमा पारेका लामाले यतिबेला राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टदेखि परिषद्का कर्मचारी रिमबहादुर रानाभाटलाई आफ्नो लपेटामा पारेका छन् । परिणाम, सदस्यसचिव विष्ट र कर्मचारी रानाभाटले लामाको दुस्साहसपूर्ण र गैरकानुनी कार्यको सामना मन्त्री केसीको स्पष्टीकरणबाट गर्नुपरेको छ । नखाएको विष लागेपछि अहिले मन्त्री केसीलाई स्पष्टीकरण दिन उनीहरू बाध्य भएका छन् । जसले ‘लहरो तान्दा पहरो गर्जिने’ स्थितिमा पुगेको छ । लामाको संयोजकको नियुक्ति नै अवैधानिक देखिएको छ । जुन राखेपका सदस्यसचिव विष्टले ०७४ असार ३ गते परिषद्का उपाध्यक्ष लामालाई दिएका थिए । अहिले प्रश्न उठेको छ, सदस्यसचिवले उपाध्यक्षलाई नियुक्ति दिन मिल्छ कि मिल्दैन ? मिल्छ भने परिषद्को कुन ऐन, नियम र नियमावलीमा यो कुराको व्यवस्था छ ? होइन भने अध्यक्ष हुँदाहुँदै कसरी सदस्यसचिवले उपाध्यक्षलाई नियुक्ति गरे, त्यो गम्भीर र चर्चाको विषय बनेको छ ।

यसबारे सदस्यसचिव विष्टसँग सम्पर्क गर्दा उनले लामालाई नियुक्ति नभई जिम्मेवारी मात्र दिएको बताएका छन् । राखेपका बोर्ड सदस्यले खाली रहेको र कसलाई के जिम्मेवारी दिने भन्ने चर्चा चलिरहेको अवस्थामा १३औँ साग पूर्वाधार तथा निर्माणसम्बन्धी आवश्यक कार्य गर्न राखेपले ‘पूर्वाधार तथा निर्माण समिति’ गठन गरेर त्यसको संयोजकको जिम्मेवारी उपाध्यक्ष लामालाई दिएको खुलासा गरेका छन् । त्यो जिम्मेवारी हो, नियुक्ति होइन भन्दै विष्टले उक्त समिति सातजनाको रहेको पनि जानकारी गराएका थिए । नेपालमा आगामी वर्ष आयोजना हुन गइरहेको १३औँ सागलाई भव्यरूपमा सफल पार्न समयाभावलाई ख्याल गर्दै उक्त जिम्मेवारी दिएको मात्र हो । अर्को कुरा पुरानो समिति त्यति सक्रिय नभएका कारणले पनि आफूले कसैलाई जिम्मेवारी दिनु थियो त्यसमा उपाध्यक्षले जिम्मेवारी लिन तयार भएपछि जिम्मेवारी दिइएको हो, जुन नियमसम्मत पनि छ । मैले कसैको आग्रह र पूर्वाग्रहमा कुनै गैरकानुनी कार्य गरेको छैन– विष्टले भने ।

पूर्वसंयोजक लामा टेन्डी शेर्पाले पूर्वाधार निर्माण तथा तयारी समितिको संयोजक भएर ०७४ पुस २० गते खेलकुदका राष्ट्रिय सङ्घलाई गैरकानुनी तरिकाले पत्राचार गरेपछि युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टसँग स्पष्टिकरण मागेका थिए । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने हस्ताक्षर गरेको उक्त स्पष्टीकरण मागसहितको पत्र २०७४ पुस २५ गते मन्त्रालयले लेखेको थियो । मन्त्रालयको उक्त पत्र पुस २६ गते राखेपमा दर्ता भएको थियो । मन्त्रीस्तरको निर्णयबाट राखेपका सदस्यसचिव विष्टलाई सम्बोधन गरिएको उक्त पत्रमा नेपालमा आउँदो वर्ष आयोजना हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सफल बनाउन गठित उपसमितिहरूको खारेजी र गठनबारे सदस्यसचिव विष्टलाई जानकारी गराउँदै त्यसको स्पष्ट जानकारी तीन दिनभित्र पठाउन निर्देशन दिएको थियो ।

पत्रमा १३औँ साग तयारी तथा व्यवस्थापन समितिको ०७४ भदौ २४ गतेको निर्णय नं. २ मा १३औँ साग छिटोछरितो र भव्यताका साथ सम्पन्न गर्न ०७३ साउन १५ गते बसेको साग तयारी तथा व्यवस्थापन समितिको पहिलो बैठकबाट गठन भएका केही उपसमिति पुनर्गठित गर्नुपर्ने र केही समिति थप गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै पत्रमा पूर्वाधार तयारी उपसमितिको पुनर्गठन र केही उपसमिति गठन गर्ने निर्णयका साथै यसअघि १३औँ सागसम्बन्धी गठित सबै उपसमिति खारेज गरी विजयकुमार बस्नेतको अध्यक्षतामा भौतिक पूर्वाधार तयारी निर्माण उपसमिति गठन भएको जानकारी पनि गराइएको थियो । तर, पूर्वसंयोजक लामाले समितिको संयोजक बनेर राष्ट्रिय खेलकुद परिषद्को लेटरप्याड, छाप प्रयोग गरी ०७४ पुस २० गते च.नं. ९३–०७४–७५ पत्रबाट राष्ट्रिय सङ्घहरूलाई आफ्नो हस्ताक्षर गरेर पत्राचार गरेको देखिएको भन्दै उक्त सम्बन्धमा के भएको हो, प्राप्त मितिको तीन दिनभित्र स्पष्ट जानकारी गराउन भनेर सदस्यसचिव विष्टलाई मन्त्रालयले निर्देशन दिएको थियो ।

त्यसपछि सदस्यसचिव विष्टले ०७४ पुस २८ गते खेलकुदमन्त्रीलाई स्पष्टीकरण बुझाएका थिए । सो स्पष्टीकरणमा विष्टले परिषद्बाट ०७४ असार ३ गते गठित पूर्वाधार निर्माण तथा तयारी समितिका संयोजक लामा टेन्डी शेर्पाबाट १३औँ दक्षिण एसियाली खेलकुदको तयारी सम्बन्धमा राष्ट्रिय सङ्घहरूलाई भए÷गरेको पत्राचारको विषयमा मन्त्रालयबाट पत्र प्राप्त हुनुपूर्वसम्म आफूलाई कुनै जानकारी नभएको उल्लेख गरेका छन् । साथै सत्यतथ्यका लागि साग तयारी तथा व्यवस्थापन समितिको सचिवालयका सचिव रानाभाटलाई पत्राचार गरेको र उनले तयार पारेको पत्रको व्यहोरासमेत स्पष्टीकरणमा राखेर मन्त्रीलाई बुझाएका थिए । स्मरण रहोस्, लामाले हस्ताक्षर गरेको पत्र रानाभाटले राष्ट्रिय सङ्घलाई पत्राचार गर्दा सदस्यसचिवलाई जानकारी गराएका थिएनन् । पुस ३० को राखेपको बोर्ड बैठकमा अध्यक्ष तथा मन्त्री केसीले यो विषयलाई राखे पनि अधिकांश सदस्यको अनुपस्थितिले बैठक बस्न नसकेको राखेप स्रोतले जनाएको छ ।

खेलकुदमन्त्री केसीले सदस्यसचिव विष्ट र विष्टले सचिवालय सचिव रानाभाटलाई स्पष्टीकरणबारे स्पष्टीकरण माग गरेपछि रानाभाट निरीह कर्मचारीको रूपमा प्रस्तुत भएका छन् । रानाभाटले आफू राखेपको कर्मचारी भए पनि यतिबेला सचिवालयको सचिव र राष्ट्रिय टिम तयारी समितिमा कार्यरत रहेकाले परिषद्का पदाधिकारीबाट निर्देशित कार्य आफूले गर्न बाध्य हुनुपर्ने सदस्यसचिवलाई जानकारी गराएका थिए । साथै रानाभाटले ०७४ असार ९ गते सात सदस्यीय पूर्वाधार तथा निर्माण तयार समिति गठन भएको र उक्त समितिको ०७४ साउन २ गते बसेको बैठकले १३औँ सागसम्बन्धी निर्दिष्ट कार्य र प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्तिको तयार गर्न राष्ट्रिय सङ्घहरूसँग विवरण माग गरी प्रतिवेदन तयार गर्न ०७४ साउन ११ गते सहभागिताका लागि प्रस्तावित खेलहरूका राष्ट्रिय सङ्घहरूलाई पत्राचार गरिएको उल्लेख गरेका छन् । त्यस्तै, ०७४ भदौ २४ गते मन्त्रीस्तर बैठकले विजयकुमार बस्नेतलाई भौतिक पूर्वाधार तयारी निर्माण समितिको संयोजकमा नियुक्ति गरेको र उक्त समितिलाई निष्कर्षमा पु¥याउन सहयोगस्वरूप लामाको निर्देशनमा सङ्घहरूलाई पत्राचार गरेको पत्रमा उल्लेख गरेका छन् । साथै उक्त कार्यले १३औँ सागको काम अगाडि बढाउन सहयोगी बन्ने दाबी पनि गरेका छन् ।

कार्यकारी प्रमुख सदस्यसचिव विष्टलाई समेत गुमराहमा राखेर लामाको इसारामा रानाभाटले कार्य गरेको विष्टले मन्त्री केसीलाई बुझाएको जानकारीसहितको स्पष्टीकरणमा उल्लेख छ । यसरी रानाभाट परिषद्को कर्मचारी नभई उपाध्यक्ष लामाको कर्मचारी भएको पुष्टि भएको छ । रानाभाटको यो हर्कतले परिषद्का कर्मचारी परिषद्प्रति वफादार छन् कि व्यक्तिप्रति त्यसको पनि पर्दाफास भएको छ । यसका लागि भोलि रानाभाट परिषद्बाट पुरस्कृत भएमा अन्यथा मान्नुपर्ने छैन ।