असफल काङ्ग्रेस र अनुत्तरित प्रश्न

असफल काङ्ग्रेस र अनुत्तरित प्रश्न


– रामभरत साह

चुनावी रणनीतिमा असफल २०४६ सालपश्चात् पहिलो संसदीय निर्वाचनमा दुईतिहाइ र दोस्रो मध्यावधि निर्वाचनमा समेत एकमना सरकार निर्माण गर्ने हैसियतमा रहेको काङ्ग्रेसका रणनीति बिस्तारै तेरो–मेरोको विवाद, नातावाद, कृपावाद, परिवारवाद, दरबारवाद, झोलावादका कारण खस्किँदै गएको हो । पहिलो संविधानसभामा दोस्रो स्थानमा रहेको काङ्ग्रेसलाई नेपाली जनताले दोस्रो संविधानसभा निर्वाचनमा पहिलो स्थानमा पुऱ्याए पनि जनभावनालाई बुझ्न असफल, शुभलाभको जालझेल, नेताहरूको दम्भ, पुरानालाई पाखा र नवप्रवेशी, पार्टी परित्याग गरी आएका र मोटाघाटालाई काखी च्यापी टिकट वितरण गर्दा स्थानीय निर्वाचनदेखि संसदीय र प्रादेशिक निर्वाचनमा काङ्ग्रेस तेस्रो स्थानमा चित बुझाउनुपर्ने बाध्यता रहेको छ ।

नेतृत्वको अदूरदर्शिता, किचन क्याबिनेटको घेराबन्दी, असन्तुष्ट पक्षलाई समेट्न नसक्नु नै नेतृत्व पक्षको गलत नीतिका कारण पार्टीका हेभिवेट शीर्ष नेताहरूदेखि बहालवाला मन्त्रीहरूले समेत पराजयको मुख हेर्नुपऱ्यो । आफ्नै जिल्लामा पटक–पटक हार व्यहोरेका वामपन्थीदेखि मधेसवादी नेताहरू अरू जिल्लामा गएर काङ्ग्रेसी किल्लालाई ध्वस्त पारे । काङ्ग्रेसीले दम्भको राजनीतिलाई परित्याग गरी आत्मआलोचना गर्दै र पुरानालाई सम्मान गर्दै पार्टी सङ्गठनलाई सुदृढीकरणमा अबको पाँच वर्ष लगाउनुपर्ने न कि लाभको राजनीति, सत्ता र कुर्सीको मोहमा परी आगामी दिनलाई पनि बर्बाद गर्ने हो ।

चक्का पङ्चर भएको गाडीको ड्राइभिङ सिटमा बस्नुभएका पार्टीका नेतृत्वकर्ता वर्तमानमा घरको न घाटको स्थितिमा पुग्नुभएको छ । सातवटा प्रदेश मात्र नभई काङ्ग्रेसको सुरक्षित र गढ मानिएका प्रायजसो जिल्लामा काङ्ग्रेसको पत्तासाफ भएको छ ।

जनभावना, संविधान मस्यौदा विवाद, तराई–मधेसका जनभावनालाई बुझाउन नसक्नु, मधेस मुद्दा समस्या समाधानमा सपष्ट नीति नहुनु, लोकतन्त्रवादीको चुनावी गठबन्धन बनाउनमा सक्रियता नदेखाई दम्भको राजनीतिलाई ग्राह्यता दिँदै वाम गठबन्धनको शान्तिलाई अन्डरइस्टिमेट गर्नु, शीर्ष नेताहरूको विजयमा अन्धोपना देखाउनु, मधेस आन्दोलन र समस्यालाई अनदेखा गर्नुजस्ता कारणले गर्दा पनि काङ्ग्रेसको अवस्था खस्किएको देखिन्छ । वैदेशिक नीति र चीनको नीतिलाई बुझ्न नसक्नु । स्थानीय निर्वाचनको परिणामबाट पाठ नलिनु, टिकट वितरणमा वैज्ञानिक कारण नअपनाउनु, मतदाताको भावनालाई बुझ्न नसक्नुजस्ता कारणले पनि काङ्ग्रेसले हार व्यहोर्नुपरेको देखिन्छ ।

चक्का पङ्चर भएको गाडीको ड्राइभिङ सिटमा बस्नुभएका पार्टीका नेतृत्वकर्ता वर्तमानमा घरको न घाटको स्थितिमा पुग्नुभएको छ । सातवटा प्रदेश मात्र नभई काङ्ग्रेसको सुरक्षित र गढ मानिएका प्रायजसो जिल्लामा काङ्ग्रेसको पत्तासाफ भएको छ ।

काङ्ग्रेस महाधिवेशन सम्पन्न भएको एक वर्ष नाघिसके तापनि पार्टीले पूर्णता पाउन नसक्नु, पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न असफल रहनु । घात–अन्तर्घात र विश्वासघातको राजनीतिलाई नजरअन्दाज गर्नुजस्ता कारणले आज नेतृत्वको प्रधानमन्त्रीको कुर्सी त गयो पार्टीको कुर्सी पनि सुरक्षित देखिँदैन । विगत तीन महिनामा नेपाली काङ्ग्रेसको ग्राफ यति तल झर्नेछन् भने कसैले सोचेका पनि थिएनन् भने रणनीतिक कुशलतामाथि समेत प्रश्नवाचक चिह्न खडा गरेको छ । वाम गठबन्धन नभएको भए नेकपा माओवादीको अवस्था पनि सोचनीय रहेको छ भने माओवादीबाट अलग भएका बाबुराम भट्टराईको पार्टी नयाँ शान्तिले त जनाधारसमेत गुमाइसकेका छन् ।

दोस्रो संविधानसभाको ५९३ सदस्यमा काङ्ग्रेस २२५, एमाले १८१, माओवादी ८५, राप्रपा नेपाल २४, राप्रपा १९, राजपा डेमोक्रेटिक १८, फोरम १५, माले ५, मजदुर किसान पार्टी ४, जनमोर्चा ३, परिवार दल २, अन्य १०, स्वतन्त्र २ सदस्य संविधानसभामा थिए । सबै वाम एक ठाम गर्ने प्रश्न अहिले ज्वलन्त चर्चाको विषय भएको । सरकार पहिला कि वाम पार्टी एकीकरण पहिला भन्ने बहस नेपालमा चुलिएको छ भने चीनको भूमिकामाथि सबैको नजर टिकेको छ । वाम गठबन्धन गरेर चुनाव जितेका र गठबन्धनबाट अलग्गिएका बाबुराम भट्टराईको पार्टीलगायत सबै वाम एक ढिक्का होला त ? तीन मुख्य प्रश्नमध्ये पहिलो तीन ठूला वामपन्थी पार्टी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र बाबुरामको नयाँ शक्ति पार्टी के एक होला ? दोस्रो नेपालको मामिलामा मोदी सरकारको कूटनीति किन विफल भयो ? र, तेस्रो वामपन्थी नेतामा के–यस्ता समानता छन् जसकारण वाम गठबन्धन सफल भयो ? भारतीय दूतावासको नेपालसम्बन्धी चुनावी रणनीति र एग्जिट पोल किन पूर्णतः विफल भयो ? वामपार्टीका तीनै नेता बाहुन भएर हो कि तीनैजना पूर्वप्रधानमन्त्री भएर ? तीनैजना घोर भारतविरोधी भएर हो कि चीनसँग नजिकिएर ?

दुई चरणको चुनावी परिणामअनुसार १६५ प्रतिनिधिसभामा नेकपा एमाले ८०, माओवादी ३६, काङ्ग्रेस २३, राजपा ११, फोरम १०, नयाँ शक्ति १, जनमोर्चा १, मजदुर किसान पार्टी १, राप्रपा १ र स्वतन्त्र १ रहेको छ । एक वर्षपूर्व सरकारबाट जाँदाजाँदै बदला लिने प्रण नै गरेर ओली गएका थिए र वर्तमान निर्वाचनमा उनी सम्पूर्णतः केन्द्रबिन्दुमा रही आफूलाई एक उचाईमा उठाउन सफल पनि देखिए । यता, काङ्ग्रेसचाहिँ यसपालिको चुनावी रणनीतिमा असफल पार्टीको रूपमा देखापरेको मात्र नभई प्रतिनिधिसभा, प्रदेश सभादेखि समानुपातिकसमेतमा पछि परेको छ । यसभन्दापूर्व स्थानीय निर्वाचनमा पछि पर्दा पनि काङ्ग्रेसले गल्ती सुधार गरेन, किन ? के ! यसपालिको चुनावी परिणामले काङ्ग्रेसलाई सही दिशामा हिँड्ने विवेक प्रदान गर्ला त ? प्रश्न अझै अुत्तरित नै छ ।