हामी को हौँ ?

हामी को हौँ ?


– बबिता बस्नेत

डा. शशि शर्मालाई शिक्षण अस्पतालको डिनमा सर्वोच्च अदालतले पुनर्वहाली ग¥यो भनेर शिक्षण अस्पतालमै कार्यरत डा. गोविन्द केसी अनशन बस्दा केही मानिसबीच एक कानुन व्यवसायीले गरेको भाषण अहिले निकै चर्चामा छ । अदालतमा बहस गरेर चर्चा कमाउनुपर्ने कानुन व्यवसायी सडकमा भाषण गरेर चर्चामा आउनु निश्चय नै रोचक प्रसङ्ग हो ।

हाम्रो देशमा भाषण गर्न खासै अवसर चाहिँदैन, कुनै न कुनै प्रसङ्गमा आयोजित समारोहमा मानिसहरू बोलिनै रहेका हुन्छन्, त्यसैले भाषणहरूका बारेमा त्यति धेरै चर्चा पनि हँुदैन । पेसागत मानिसको दायरा कति हो ? भनेर मानिसले चर्चा गर्न थालेपछि भिडियो खोजेर हेर्दा माइतीघर मण्डलामा कानुन व्यवसायी ओमप्रकाश अर्यालले गरेको भाषणचाहिँ अलि आश्चर्यजनक नै रहेछ । डा. केसीलाई समर्थन गर्न आयोजित कार्यक्रममा उहाँले नेता केपी ओलीलाई गर्नुभएको गाली ‘इन्ट्रेस्टिङ’ छ ।

केही वर्षअघि एक मित्रले भनेका थिए, ‘युरोपियनहरूले ‘इन्ट्रेस्टिङ’ मात्रै भने भने तिनलाई सम्बन्धित विषयमा खासै प्रतिक्रिया दिन मन या इच्छा छैन भनेर बुझ्नुपर्छ ।’ यो प्रसङ्गमा मिडियाले सोध्दा यो पङ्क्तिकारले पनि यति मात्रै भन्न सकेँ, ‘इन्ट्रेस्टिङ रै’छ, प्रोफेसनल व्यक्तित्वहरूको दायरा के हो भन्ने विषयमा शायद अब बहस हुनुपर्छ ।’

मुकुन्द घिमिरेजीले रत्नपार्कमा भाषण गर्नु र वकिल अर्यालले माइतीघर या कुनै पनि सार्वजनिक स्थानमा भाषण गर्नुबीच फरक छ । फरक हुनु पनि पर्छ । सार्वजनिक हितसँग जोडिएको पेसा–व्यवसायमा रहेका मानिस थप उत्तरदायी र जवाफदेही हुन आवश्यक छ ।

उक्त इन्ट्रेस्टिङ भाषणमा नेता केपी ओलीलाई हत्यारा र माफियाका नायिके भनिएको छ । नैतिक पतन भएको भन्नेदेखि धेरै आरोप त्यहाँ छन् । केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै हुन नसक्ने भनिएको छ, उहाँको राष्ट्रवादमाथि पनि प्रश्न उठाइएको छ । उहाँका वरिपरि सानो झुण्ड प्लेकार्ड लिएर उभिएको देखिन्छ । तिनले घरिघरि हो त…ठीक…को शैलीमा दुई–चार ताली बजाएका छन् ।

यो सब हेर्दा र सुन्दा अब व्यावसायिक व्यक्तिहरूले एकपटक आफैँमाथि प्रश्न गर्नुपर्ने बेला आएजस्तो लाग्छ, हामी को हौँ ? डाक्टर हुन् या वकिल या पत्रकार वा कलाकार, हाम्रो पेसागत मर्यादा र दायरा के हो ? कुनै दलका नेतालाई तिमी पार्टीको अध्यक्ष बन्न सक्दैनौ भनेर हामीले सडकबाट भन्ने कि उनका दलका सदस्यहरूले ? प्रधानमन्त्री हामीले बनाउने हो कि संसद्ले ? भारी जनमतले अनुमोदन भएका केपी ओली या अरू कसैलाई पनि त्यति धेरै ‘डिफेम’ गर्ने अधिकार कसले दियो ?

आफ्नो सीप र ज्ञान प्रयोग गरेर जीवन निर्वाह गर्ने मानिसलाई व्यावसायिक व्यक्ति भनिन्छ । पत्रकारिता होस् या वकालत, गिटी कुट्ने होस् या घरको गाह्रो लाउने या सडक मर्मत वा कलाकार सबैले आफ्नो सीप, ज्ञान प्रयोग गरेर जीवन निर्वाह गरिरहेका हुन्छन् । विभिन्न पेसा–व्यवसायमा रहेका हरेकको आ–आफ्नै सीप र दक्षता छ । कसैले ठूलो–सानो भन्नैपर्दैन, एउटाले गरेको काम अर्कोले जान्दछ भन्ने छैन ।

हामी को हौँ ? डाक्टर हुन् या वकिल या पत्रकार वा कलाकार, हाम्रो पेसागत मर्यादा र दायरा के हो ? कुनै दलका नेतालाई तिमी पार्टीको अध्यक्ष बन्न सक्दैनौ भनेर हामीले सडकबाट भन्ने कि उनका दलका सदस्यहरूले ? प्रधानमन्त्री हामीले बनाउने हो कि संसद्ले ? भारी जनमतले अनुमोदन भएका केपी ओली या अरू कसैलाई पनि त्यति धेरै ‘डिफेम’ गर्ने अधिकार कसले दियो ?

जुन क्षेत्रमा जसले जे गरिरहेको छ, सम्बन्धित क्षेत्रमा उही महत्वपूर्ण हो । सिकर्मीको माहौलमा सिकर्मी नै विज्ञ हो, डकर्मीको क्षेत्रमा डकर्मी नै ठूलो हो । चिकित्सा क्षेत्रमा पत्रकार जान्ने कहिल्यै हुँदैन न त कृषिमा कलाकार । कृषि क्षेत्रको मर्मज्ञ कृषक नै हो । फरक यति हो कि कतिपय पेसा सार्वजनिक हितका लागि हुन्छन्, कतिपयलाई सार्वजनिक नबनाए पनि हुन्छ । म व्यक्तिगत रूपमै गरिखान्छु, सार्वजनिक जीवनसँग मलाई मतलब छैन भनेर अपनाउन सकिने पेसा–व्यवसाय टन्नै छन् । तर, सार्वजनिक जीवनसँग जोडिएका विभिन्न पेसा र व्यवसायमा रहेका मानिसका लागि आ–आफ्नै आचारसंहिता हुन्छ ।

कतिपय अवस्थामा आफ्नो जिन्दगीको आचारसंहिता व्यक्ति आफैंले बनाउनुपर्ने हुन्छ, प्रयोग पनि आफैँले गर्ने हो । पेसागत मानिसका आफ्नै मर्यादा र सीमाहरू हुन्छन । पेसा एवम् व्यवसायमा सानो–ठूलो कोही पनि छैन, भाँडा माझ्नेदेखि बत्ती कात्नेसम्म सबै काम ठूला हुन् । यति हुँदाहुँदै पनि कतिपय पेसा–व्यवसायले मानिसलाई सार्वजनिक जीवन बाँच्नुपर्ने बनाइदिन्छ । आफूले जे गरे पनि सार्वजनिक महत्वको हुने हुँदा त्यसप्रकारको पेसागत जीवनमा भएकाहरूले पाइलापाइलामा सचेतता अपनाउनुपर्ने हुन्छ ।

आचारसंहिता पेसा–व्यवसाय गर्ने मानिसमा मात्र होइन राजनीतिकर्मीमा पनि लागू हुने कुरा हो । गोविन्द केसी प्रकरणमा नेता गगन थापाको मण्डला भाषणलाई पनि आश्चर्यजनक मानिएको थियो, छ । जनताद्वारा अनुमोदित भएर आएका नेताले सडकमा बसेर मलाई यसो गर, उसो गर भन्ने होइन, यदि गलत हो भन्ने लाग्छ भने संवैधानिक र कानुनी प्रक्रिया अवलम्बन गर्ने हो । गगनलाई माइतीघर या कतै पनि उभिएर ‘मलाई पनि कारबाही गर’ भन्दै भाषण गर्न जनताले जिताएका होइनन् । गलत काम–कारबाही भएको भए त्यस्ता कार्यलाई निषेध गर्ने कानुन बनाउन जनताले मत दिएका हुन् ।

आज प्रधानन्यायाधीशको प्रसङ्ग आयो, भोलि अरू नै केही आउला । राजनीतिकर्मी या पेसा व्यवसायी सस्तो र क्षणिक लोकप्रियताका लागि कसैले पनि आफ्नो धरातल बिर्सनुहँुदैन । गगन थापाको अहिलेको धरातल सडकभन्दा माथि संसद् हो, जहाँबाट मुलुक र जनताका नाममा राम्रा काम गर्नका लागि जनताले उपयुक्त ठानी उहाँलाई पठाएका हुन् । सडकमा उभिएर मलाई मुद्दा हाल श्रीमान्… भन्न पठाएका होइनन् ।

साझा विवेकशील पार्टीप्रति धेरैको अपेक्षा थियो, शायद अझै पनि छ । नयाँ पुस्ताले मुलुकमा केही फरक गर्लान् भन्ने झिनो आशा यो दलले दिलाएको थियो । तर, अहिले यसो हेर्दा डा. गोविन्द केसीका क्रियाकलापसँग यो दलको अस्तित्व जोडिएझैँ लाग्छ । भोलि डा. केसीलाई तलमाथि भएको खण्डमा यो दलको अस्तित्व के होला भनी प्रश्न गर्नेहरू पनि यसपटक प्रसस्त भेटिए ।

हामी जो जुन ठाउँमा छौँ त्यहीँ रहेर इमानदारीपूर्वक काम गऱ्यौं भने मुलुक बन्न धेरै समय लाग्दैन । डाक्टरले बिरामी नै जाँच्ने, पत्रकारले सत्य तथ्य खोजेर सार्वजनिक गर्ने, वकिलले तर्कपूर्ण बहस गरी अन्यायमा परेका लागि न्याय दिलाउने, व्यापारीले व्यापार–व्यवसाय नै गर्ने, शिक्षक–प्राध्यापकले शिक्षाकै चिन्ता लिने गरियो भने मुलुकमा राम्रा काम हुन के गाह्रो छ र ? तर, यहाँ त प्रहरी, पत्रकार, वकिल, चिकित्सक सबैलाई राजनीतिलाई गाली गर्दै राजनीति नै गर्नु छ । यस्तै अवस्था रहे मानिसले आफ्नो पेसागत कामबाहेक अन्य कुरामा दक्षता बढाउँदै लाने सम्भावना पनि त्यत्तिकै बढी देखिन्छ ।