जातै फरक नेता र जनताको

जातै फरक नेता र जनताको


– स्वयम्भूनाथ कार्की

हुन त सबै नीतिहरूलाई नियन्त्रण गर्ने नीति भनेर राजनीतिलाई हमेसा सर्वोच्च स्थान दिइने गर्दछ । कर्तव्य र जिम्मेवारीले बाँधेको राजनीति वास्तवमै सबै नीतिभन्दा सर्वोच्च हुन पनि सक्छ । तर, जब राजनीति निरङ्कुश हुन्छ, अर्थात् त्यसलाई सही बाटोमा डोऱ्याउने कुनै शक्ति रहँदैन तब योभन्दा छुद्र नीति अरू कुनै हुँदैन । राजनीतिमा लिप्त भएकाहरू अघोषित रूपमा आफूलाई ईश्वर, परमेश्वर, परमात्मा नै ठान्न थाल्छन् । निरीह जनता चाहे असमर्थताले होस् वा अज्ञानताले उनीहरूको यो दाबीलाई सत्य मान्न थाल्दछन् । अनि यसको परिणाम हमेसा जनताको दुर्भाग्यको रूपमा आउने गर्दछ ।

अधिकांश विश्वका भयङ्कर नरसंहारहरू यही राजनीतिक नेताहरूको छुद्र स्वार्थको परिपूर्ति गर्ने कामको निमित्त भएका छन् । सामान्य जनजीवन मृत्युजस्तो कष्टकर नेताहरूकै सत्तामोहले भएका छन । गाउँलेहरू, आफन्तहरू अझ एकै परिवारभित्रकाहरूबीच काटाकाट र मारामार नेताहरूको तुच्छ स्वार्थको निमित्त भएको छ । अलगअलग नेताहरूको स्वार्थको निमित्त एक–अर्काको रगतको प्यासो बनेका जनताले एकपटक माथि फर्केर हेर्ने हो भने देख्नेछन् उनीहरूबीच त कुनै प्रकारको वैमनश्य नै छैन । केवल आफ्नो बल अर्कोलाई देखाउन हजारौँ, लाखौँ जनताको सुख, चैन, ज्यानसमेत होम्न तयार भएका हुन्छन् ।

जब आफ्नो शक्ति अर्कालाई महशुस गराइसक्छन्, त्यसपछि हुन्छ वार्ताको नाटक । लचिलो बनेको बहानामा जे सपना देखाएर जनताको रगतको होली खेलिएको थियो त्यो बहना नै हराउँछ । जनता फेरि अर्कोपल्ट रगतको होली खेल्न आउन भनेर क्षतिपूर्ति रकम तोकिन्छ । अनि त्यसको परिवार आफ्नो प्रियजनको प्राणको मोलबापत त्यो रकम बुझेर आसु पुछ्दैछेउ लाग्छ । यस्तो खेल खेल्दा ज्यान गुमाउने दुवै पक्षकाहरू जनता नै हुने गर्दछन् । नेताहरू त हमेसा सुरक्षित नै रहने गर्दछन्, सुरक्षित मात्र होइन एक–अर्काको न्यानो माया पनि पाउने गर्दछन् । जनताको रगत–पसिना चुसेर जम्मा गरेको वा जनताको थाप्लामा बोकाएको ऋणबाट प्राप्त सुविधा ‘भागबन्डा’ गरेर भोग गर्छन् ।

यदि कतै कुनै कुनामा जनताको असन्तोष प्रकट हुन थाल्यो भने त्यसले कालान्तरमा नेताहरूको र जनताको अलग जात रहेछ भन्ने चेत नपलाओस् भनेर कुनै नेता त्यसको नेतृत्व गर्ने र कुनै नेता त्यसको विरोध गर्ने अभिनय शुरु गर्दछन् । जनता पनि हाम्रो असन्तोषलाई नेतृत्व गर्न कोही त आयो भनेर मख्ख पर्दछन् । तर, बिस्तारै त्यो असन्तोषलाई मोडेर नेता वर्गले आफ्नो हितमा प्रयोग गरेरै छाड्छन् । यो नेपालको मात्र होइन सम्पूर्ण तेस्रो विश्वको कटु वास्तविकता हो ।

वर्तमानमा नेपालमा फैलिएको जनअसन्तोष शुरुमा जनताको मात्र थियो । आफ्नो कुरा नसुनिएको, आफ्नो भविष्य र भाग्यको निर्धारण गर्ने प्रक्रियामा आपूmलाई निषेध गरेकोले जन्मेको असन्तोष राजनीति पेसा भएकाहरूबाट अछुतो रहेको थियो । यही परिस्थिति कायम रहिरहेको भए राजनीति पेसाकर्मीहरू जनताको सामुन्ने नझुकी नहुने अवस्था आउने थियो । यो नेता वर्गको हार हुने थियो । त्यसैले यसलाई नेतृत्व दिने होडबाजी नै चल्यो । यहाँसम्म कि एकै दलका कुनै नेता जसरी पनि जस्तो पनि संविधान जारी गरेरै छोड्ने हुँकार गरेको र त्यही दलका अन्य नेता यसलाई अहिले स्थगन गर्नुपर्छ भनेर आन्दोलनको नेतृत्व गरेको पनि देखियो ।

बन्द, हडताल, तोडफोडले जनताले आफैंलाई हानि पुऱ्याउँदै छन् । बेलाबेलामा उग्रता मिसिएर हिंसामा परिणत हुँदै छ । यसप्रकारको कामले मुलुकको हानि गर्दछ, त्यो हानिको भर्पाई जनताकै गोजी निचोरेर पूरा गरिने हो । आफूलाई चोखो राख्न पाउने अधिकार नेताहरूलाई दिइनु ठीक नहुन सक्छ । त्यसैले यो परिस्थिति, यो जनअसन्तोषको जिम्मेवार न सरकारी कार्यालयहरू हुन्, न जनताका कुनै इकाइ हुन् । यसको कारक त ती जनप्रतिनिधि भनिने नेताहरू हुन् जसको टाउको गनेर दलहरूलार्ई उन्मत्त हुन बल पुगेको छ ।

नेपालमा नेताहरूको उक्साहटमा लागेर जनताले थुप्रै आन्दोलन गरे । व्यक्तिहत्याले शुरु गरेको राजनीति र राजनीतिवाज अहिले मुलुकको हालीमुहाली गर्ने हैसियत राख्छन् । चाहे भागबन्डा नै किन नहोस् नेपालको सम्पूर्ण साधनस्रोतको तालाचाबी यस्तैको हातमा छ । वर्तमान मात्र होइन भविष्यको पनि साधनस्रोतमा कब्जा जमाउँदै छन्, जनताले तिर्ने गरेर ऋण काढेर । उदाहरणको निमित्त कल्पना नै गर्नुपर्दैन प्रत्यक्ष छ । केही समय पहिले ‘एसियाली विकास बैंकको सहयोग’ भनेर नेपालका नगरहरू भत्काइयो । जनताले भत्केको घर मर्मत गर्न पनि भ्याएका छैनन्, ती सहयोग भनिएको ऋण तिर्न अतिरिक्त कर असुल्न शुरु भइसकेको छ ।

यस्तोमा रानीपोखरीको कथा थप्नुपर्ने आवश्यक छ र ? भुइँचालोले भएको बिल्लीबाठ थाँती राखेर बन्दै गरेको संसारको अग्लो बुद्धको मूर्तिको कथा भन्नु नपर्ला । केवल कमिसन बाँडीचुँडी गर्न गरिएका अनेकौँ निर्णयहरूले नेपाली जनतालाई भारी नपरेको होइन, तर कमाउन योग्य पाखुरी विदेशमा पठाएर परिवार मस्त छ । नेताको स्वार्थको आन्दोलनमा गएर ज्यान गुमाउन तयार छ । बाँचे ठीकै छ मरे शहीद घोषणा भइहाल्ला, परिवारले १० लाख पाइहाल्ला । त्यसैले नेताको मायावी जात हो जसले मोहमा पारिदिन्छ, जनता निरीह मानव हो जो हरेक चमत्कारमा, गफमा सम्मोहित हुन्छ ।