सिड्नीमा गुञ्जँदै सागर, सुरज र केन्जल

सिड्नीमा गुञ्जँदै सागर, सुरज र केन्जल


– राजन घिमिरे, सिड्नी

यतिबेला नेपाल आइडियलका तीन चर्चित स्वर सिड्नी आइपुगेका छन् । अष्ट्रेलियाको पर्थबाट शुरू भएको उनीहरूको सांगीतिक यात्राको उत्कर्ष आगामी शुक्रबार राती ८ बजे टाउन हलमा रहेको सार्क होटल (स्पेश बार)मा प्रस्तुत हुने छ । टुर इभेन्टको ब्यबस्थापक ‘हो र होइन होला’ इभेन्टका रोशन भट्टराईले कार्यक्रमको तयारी पुरा भएको जानकारी दिंदै मंगलबार रगडेलको इन्द्रेणी फगंसन सेन्टरमा आयोजित कार्यक्रममा भने- ‘यस्तो वृहत सांगीतिक कार्यक्रमको आयोजना गर्न पाएकोमा गौरव लागेको छ।’

पत्रकार सम्मेलनमा बोल्दै गायक सुरज थापाले पर्थ र ब्रिजबेनमा रहेका नेपालीहरूबाट पाएको माया सिड्नीमा रहेका नेपालीबाट पनि पाउने विश्वास आफूहरूले लिएको बताए । ‘दर्शकको भोटले आइडल बनाएर मैदानमा आइपुगेका हामी आफ्नै भाकामा कार्यक्रममा भरपूर मनोरन्जन दिने प्रयास गर्ने छौँ,’ गायिका केन्जल मेहर श्रेष्ठले थपिन् ।

कार्यक्रममा यूवा प्रशंसकहरू बटुलेका गायक सागर आलेले सिड्नीवासी नेपालीहरूलाई कार्यक्रमम निम्तो दिंदै आग्रह गरे, ‘तपाईंहरूको लागि हामी टाढादेखि आएका छौँ । अब कार्यक्रममा उपस्थित भई हामीलाई उत्प्रेरित तुल्याउने पालो तपाईंहरूको ।’ पत्रकार सम्मेलनमा थोरै भएपनि भाका सुनाएका युवा गायकहरुलाई आयोजकले मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले कलाकारलाई सिडनीमा स्वागत गर्नुका साथै मुख्य प्रायोजक प्रोफेसनल भिषा एन्ड एजुकेशन सर्भिसका निस शर्माले युवा प्रतिभाहरुको कार्यक्रममा सहयोग गर्न पाउँदा गौरव लागेको बताए, ‘यूवाहरूलाई तान्न सक्ने र उनिहरूको मनमा बस्न सक्ने क्षमता उहांहरूमा छ ।’ कार्यक्रममा कानुन ब्यवशायी खिलेन्द्रराज तिम्सीना, युवा अभियन्ता रविन्द्रकुमार शर्मा,प्रजापति सिवाकोटी, लक्ष्मण सापकोटा, शक्ति श्रेष्ठ, अन्ना श्रेष्ठ, चलचित्र निर्देशक मनोज अधिकारी, अपिल विष्ट र कलाकार सन्नी ढकाल लगायतको उपस्थिति रहेको थियो ।