कामदार अभावले पुनर्निर्माणमा ढिलाई

कामदार अभावले पुनर्निर्माणमा ढिलाई


सिन्धुपाल्चोक । भूकम्प गएको ३० महिना बितिसक्दा पनि चौतारा साँगाचोकगढी नगरपालिका स्याउलेका शिवसार श्रेष्ठले आवास निर्माण सुरु गर्न सकेनन् । आधाजसो छिमेकीले घरको डिपीसी गरिसकेकोले श्रेष्ठलाई घर बनाउने हतार र दबाब परेको छ ।

‘घर बनाउका लागि आफ्नो गाउँमात्रै होइन, थुप्रै गाउँ र बजारसम्म भौतारिएँ । तर, कतै कामदार भेटिएनन्,’ श्रेष्ठले भने । सरकारले तोकेको मापदण्डअनुरुप घर बनाउन सिपालु कामदार खोजेको उनले सुनाए । ‘गाउँमा घर बनाउन जान्ने कामदार कम छन्,’ उनले भने, ‘कामदार अभावले धेरै गाउँमा पुनर्निर्माणको काम रोकिएको छ ।’

भूकम्पबाट ७० ले ज्यान गुमाएको श्रेष्ठको गाउँ स्याउलेमा पुनर्निर्माण कार्यले गति लिनसकेको छैन । चौताराबाट १० किमि कच्ची सडकले जोडिएको उनको गाउँ सुगम नै हो । तैपनि, कामदार समस्याले आवास निर्माण कार्य अघि बढ्न नसकेको श्रेष्ठको छिमेकी देउतीमाइ तामाङले बताइन् । हुनपनि गाउँमा थोरै भूकम्पपीडितले मात्रै आवास निर्माण थालेका छन् । लामो सुस्केरा तान्दै तामाङले भनिन्, ‘कामदार जसले महंगो ज्याला दिन्छ त्यतै जान्छन्, हामीजस्तोलाई घर बनाउन मुस्किल भयो ।’

तामाङकाअनुसार महंगो मुल्य तिरेर ल्याएको निर्माण सामाग्री गाउँभर अलपत्र भएर बसेको छ । भूकम्पलगत्तै संघसस्था र विभिन्न निकायले दिएको तालिमप्राप्त डकर्मी थोरै संख्यामा भएकाले आवास निर्माणमा तिव्रता आउन नसकेको स्थानीय बताउँछन् ।

विपद्मा मानवीय सहायता अनुगमन संस्था ‘हामी’ का संयोजक मीनबहादुर शाहीले किस्ता लिने प्रक्रिया झन्झटिलो र निर्माण सामाग्री, कामदार उपलब्ध नभएकाले पुनर्निर्माणमा बाधा पुगेको पाइएको बताए ।

जिल्लाभर जाइकाले दुई हजार ८ सय र १० वटा गैसरकारी तथा सरकारी संघस्थाले दुईहजार पाँचसयलाई डकर्मी तालिम दिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालयले ५ सय भन्दा बढीलाई दक्ष डकर्मी तालिम दिएको जनाएको छ ।

कामदार अभावको कारणले पुननिर्माणले गति लिन नसकेको पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयका प्रमुख रुद्र मल्लले बताए । ‘कामदार अभावले पुननिर्माणमा ठूलो समस्या बनाएको पाइयो,’ मल्लले भने । मल्लले हालसम्म आठ हजार दुईसय ७२ ले निर्माण सकिसकेको र ४० हजार दुई सय ४४ ले जग हालेको बताए ।

हालसम्म पहिचान गरिएका ८३ हजार ६ सय ६३ लाभग्राहीमा ७५ हजार ६ सय ५२ ले पहिलो किस्ता लगिसकेका छन् । जसमा ७५ हजार सात सय ६५ सँग अनुदान सम्झौता भएको थियो । २६ हजार ६ सय ९९ ले दोस्रो किस्ताको लागि सिफारिस गरेका छन् । भने, चार हजार आठसय ५१ ले तेस्रो किस्ताको लागि निवेदन दिएका छन् । जसमा २३ हजार २६ हजार दुईसय २३ ले मात्रै दोस्रो र चार हजार पाचसय ४ ले तेस्रो किस्ता पाएका छन् ।