अलैंचीको मूल्य बढेपछि अलैची किसानमा खुसीयाली

अलैंचीको मूल्य बढेपछि अलैची किसानमा खुसीयाली


कालो सुन अर्थात अलैंचीको मुल्यमा केही बृद्धि भएपछि लमजुङका अलैंची कृषकहरुमा खुसीयाली भित्रिएको छ । निरन्तर मुल्य घटिरहेका बेला निराश बनेका उनिहरुले मुल्य बढेपछि कही राहत महसुस गरेका हुन् ।

मुल्य बढेपछि ब्यापारीहरुले कृषकको घरमै गएर अलैची खरीद गर्न थालेका छन् । बजारमा ल्याउँदा खरिद गर्न नपाइने भएकाले घरमा नै खरिद गर्न थालेको नेपाल अलैची व्यावसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङ बताए । ‘ जिल्लामा उत्पादन भएको ८० प्रतिशत अलैंची विक्री भईसकेको छ ।’ उनले भने, ‘मुल्यवृद्धि भएसँगै बाँकी रहेको अलैंचीको माग अत्याधिक छ ।’

अध्यक्ष तामाङका अनुसार मुल्य वृद्धि भएसँगै उच्चस्तरको जम्बो जेट (जेजे) अलैंची प्रतिकेजी ११०० रुपैया, दोस्रो तहको मध्यम आकरको (एसडी) अलैंची प्रतिकेजी मुल्य एकहजार ५० छ भने तेस्रो तहको सामन्य चलनचल्तीको अलैंचीको मुल्य (सिसी) प्रतिकेजी एकहजार रुपैंया रहेको छ ।

अलैची विक्री भएसँगै ओरालो लागेको अलैचीको मुल्य बढेपछि राहत मिलेको अलैची कृषक सुलबहादुर तामाङले बताए । उनले भने केही दिन अघिसम्म प्रतिकेजी ५ सय ५० देखि ७ सय ५० रुपैयामा आफुले अलैंची विक्री गरेपनि मुल्य बढेसँगै आम्दानी बढ्ने भएपछी खुसी छु ।

नेपाल अलैंची व्यावसायी महासंघ लमजुङका अध्यक्ष तामाङका अनुसार दुई वर्षयता अन्तराष्ट्रिय बजारमा अलैंचीको मुल्यमा लगातर गिरावट भएको अलैचीको लामो समयपछि मुल्यवृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा अलैंचीको माग बढेकाले अर्लैचीको मुल्यमा वृद्धि भएको तामाङको भनाई छ ।

जिल्लाको साविक ४० गाविसमा लगाइएको अलैंची खेतीबाट यस वर्ष जिल्लामा ६०० क्विन्टल अलैंची उत्पादन भएको छ । लमजुङका अलैची कृषकले गत वर्ष ८ सय २१ क्वीन्टल अलैची विक्री गरेर करिब १४ करोड रुपैँया आम्दानी गरेका थिए । यसवर्ष भने बोटहरु पुराना भएकाले उत्पादनमा हस आएको हो ।

यसवर्ष दोर्दी गाउँपालिका ८ खिन्चोकका मनबहादुर तामाङले आठ क्विन्टल, जिल्लामा सबैभन्दा बढी अलैंची उत्पादन गरेका छन् भने दोर्दी ८ कै तिर्थ तामाङले साँढे ६ क्विन्टल र मस्र्याङ्दी गाउँपालिका ७ छिनखोलाका लाल बहादुर तामाङले साढे ५ क्विन्टल अलैंची उत्पादन गरेका छन् ।

यस वर्ष अलैंची बिक्रीबाट किसानलाई ४ करोड ३० लाख आम्दानी हुने अनुमान गरिएको छ । वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार जिल्लामा ९ सय ५० हेक्टर जमिनमा अलैंची खेती गरिएको छ ।