काङ्ग्रेसमा पैदा भयो अर्को गुट, दश युवा नेताहरूले अघिसारे यस्ता बुँदा

काङ्ग्रेसमा पैदा भयो अर्को गुट, दश युवा नेताहरूले अघिसारे यस्ता बुँदा


निर्वाचनमा भएको लज्जास्पद हारपछि पार्टीलाई सच्याउने, सुदृढ तुल्याउने र नेतृत्वलाई झक्झक्याउने या नेतृत्व परिवर्तन नै गरिनुपर्ने भन्दै नेपाली काङ्ग्रेसभित्र विभिन्न समूहले गतिविधि शुरु गरेका छन् । विश्वप्रकाश शर्माको पार्टी प्रवक्तामा चयनसँगै गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाशलगायतका सात युवा नेताहरूको अभियान यतिबेला रनभुल्ल परेको अनुभूति गरिएसँगै पछिल्लो पुस्ताका अर्का दश युवा नेता काङ्ग्रेसको पार्टी सुद्धिकरण अभियानका लागि भन्दै जुर्मुराएका छन् ।

यस समूहको नेतृत्व कालिकोटका युवा नेता भुपेन्द्रजंग शाहीले गरेका छन् । महासमिति सदस्यसमेत रहेका भुपेन्द्र नेपाल तरुण दलका महासचिव हुन् भने प्रतिनिधिसभा निर्वाचनमा यसपटक पराजित भएका भए पनि काङ्ग्रेस नेतृत्व अर्थात् सभापति शेरबहादुर देउवाका निकट युवाका रूपमा चिनिन्छिन् ।

शाहीलाई ‘पार्टी सुद्धिकरण अभियान’मा साथ दिनेहरूमा धमेन्द्र नेम्वाङ (नेपाली काङ्ग्रेस महासमिति सदस्य, पाँचथर प्रदेश नं. १), विनिता अधिकारी (नेपाली काङ्ग्रेस महासमिति सदस्य, दोलखा प्रदेश नं. ३), खड्क डाँगी (नेपाली काङ्ग्रेस महासमिति सदस्य, रुकुम प्रदेश नम्बर नं. ६) सेख वकिल (मेयर, परोहा नगरपालिका, रौतहट प्रदेश नं. २), सुनिता अधिकारी (नेपाली काङ्ग्रेस महासमिति सदस्य, पाल्पा प्रदेश नं. ५), चिरञ्जीवि गौतम (नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति बाग्लुङ, प्रदेश नं. ४), वृषराज गुरुङ (नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति, लम्जुङ, प्रदेश नं. ४), मञ्जीत ताम्राकार (पूर्व महाधिवेशन प्रतिनिधि, बझाङ, प्रदेश नं. ७) र खेमराज वली (नेपाली काँग्रेस, गुराँस गाउँपालिका अध्यक्ष, प्रदेश नं. ६) रहेका छन् ।

काङ्ग्रेसलाई शुद्धिकरण, सुदृढिकरण गरि भविष्यमा बलियो र सशक्त पार्टी बनाउन वैैचारिक जागरण अभियान प्रारम्भ गर्नका लागि नेतृत्वसमक्ष १५ बुँदै माग अघिसार्दै उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काङ्ग्रेसको नेतृत्वमा निर्वाचन त भयो तर काङ्ग्रेसको पक्षमा परिणाम नआएपछि पार्टीभित्र यसका बारेमा ब्यापक वहस हुन थालेको छ । यो निर्वाचनमा काङ्ग्रेसले किन हार व्यहोर्नु पर्यो ? यसको समीक्षा हुनु जरुरी छ । साथै पार्टीमा आमुल रुपान्तरणको लागि केही विचारहरु अघि सारेका छौँ । यो वैचारिक जागरण अभियानमा काङ्ग्रेसका नेता कार्यकर्ता, शुभचिन्तक, समर्थक र बुद्धिजीवीवहरूको सुझाव सल्लाह र सहभागिताको लागि विनम्रतापूर्वक अपिल गर्दछौँ ।’

यस्ता छन् शाही नेतृत्वको युवा काङ्ग्रेसीद्वारा मागका रूपमा अघिसारिएका बुँदा

१. नेपाली काङ्ग्रेसभित्र आपसी भातृत्वको विकास गरि गुटबन्दीको समुल अन्त्य गर्दैै पार्टीलाई एकढिक्का बनाउन अति आवश्यक भएको छ ।

२. पार्टीलाई शुद्धिकरण र सुदृढिकरण गर्न केन्द्र, जिल्ला, र गाउँतहसम्म विचार सिद्धान्त र एजेन्डामा आधारित वैचारिक जागरण अभियान शुरु गर्न जरुरी छ ।

३. निर्वाचन समिक्षाको लागि टालटुले पारामा होईन, गहिराईमा गएर छलफल गर्न विशेष छानविन समिति ठगन गरेर सबै निर्वाचन क्षेत्रमा पुगेर, सबै पक्षसँग छलफल गरेर के कति कम्जोरीका कारणले यस्तो परिणाम आयो त्यसको बारेमा सत्य तथ्य पत्ता लगाउनु पर्छ ।

४. नेपाली काङ्ग्रेसमा महासमिति वैठक बस्नु कुनै नौलो विषय होईन यो विधानमै उल्लेख भएको कुरा भएकाले यो पटक मात्रै होईन हरेक वर्ष नियमित महासमिति वैठक हुने सुनिश्चित गरिनु पर्छ ।

५. निर्वाचनमा आएको परिणामको जिम्मेवारी स्वभाविक रुपमा नेतृत्वको हुने भएपनि सम्पूर्ण दोषको जिम्मेवारी पार्टी सभापति, वरिष्ठ नेता र महामन्त्रीलाई मात्रै नदिएर सिंगो केन्द्रीय समितिका सदस्यहरुले समेत लिनुपर्छ ।

६. समानुपातिकबाट एकपटक सांसद बनेको व्यक्तिलाई कुनैपनि हालतमा दोहोर्याउनु हुँदैन । दोहोर्याउनु समानुपातिक समावेसि सिद्धान्तको विपरित कार्य हुने भएकाले पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेसिबाट प्रतिनिधित्व गर्ने पदमा एकपटक भन्दा बढि अवसर नपाउने व्यवस्था कडाईको रुपमा लागू गर्नु पर्छ ।

७. पार्टीलाई व्यवस्थित, प्रशिक्षित र संगठित गरेर हरेक गाउँतहसम्म प्रशिक्षण अभियान मार्फत नेपाली काङ्ग्रेसलाई सवल, सक्षम र शसक्त पार्टी बनाउन आवश्यक छ ।

८. पार्टीलाई आजका दिनसम्म ल्याइपुर्याउने अग्रज नेताहरुको योगदानको मूल्याङकन गर्दै उच्च सम्मान गरि पार्टीलाई थप अगाढि बढाउन यूवाहरुको उर्जा, चेतना र क्षेमतालाई सदुपयो गर्न पार्टीका हरेक तहमा कम्तिमा ५० प्रतिशत यूवा प्रतिनिधित्वको ग्यारेण्टी गरिनुपर्छ ।

९. पार्टीका संस्थापक नेता विपि कोईरालाले देखाउनु भएको बाटो र विचार प्रजातान्त्रिक समाजवादबाट पन्छिएर काङ्ग्रेस राष्ट्रिय मुद्धामा अलमल र अनिर्णयको बन्दि हुन मिल्दैन । हरेक राष्ट्रिय मुद्धामा काङ्ग्रेस प्रष्ट अडानकासाथ अगाढि आउनु पर्छ ।

१०. नेता र कार्यकर्ताबीच देखिएको अन्तर र बढेको दुरी घटाएर पार्टीभित्र कोही सानो र ठुलो भन्ने मान्यता हटाएर हामी एउटै परिवार हौ भन्ने आपसि भातृत्वको भावनाको विकास गरि तल जनतासम्म सुमधुर सम्बन्ध कायम गर्न सबै नेता कार्यकतामा नैतिकता, समानता र सरलतापूर्ण बोली व्यबहार हुन जरुरी छ । व्यक्तिवादी चरित्र र अनुसासनहिनताको अन्त्य हुन जरुरी छ ।

११. देश विकासको बाधकको रुपमा रहेको भष्ट्रचारलाई निर्मूल पार्न ‘भ्रष्टाचारमुक्त नेपाल, सुशासनयूक्त नेपाल’ अभियान देशभर संचालन गर्नुपर्छ ।

१२. तत्काल पार्टी पदाधिकारी, विभाग, प्रदेश समिति र भातृसंस्थाहरुलाई पूर्णता दिएर पार्टीलाई चुस्तदुरुस्त बनाउन संगठन निर्माणमा सबैलाई परिचालन गर्नुपर्छ ।

१३. महाधिवेशनको मुखमा आएर मात्रै क्रियाशिल सदस्यता वितरण गर्ने परम्परालाई अन्त्य गरेर हरेक वर्ष पारदर्शि रुपमा क्रियाशिल सदस्यता वितरण गर्नुपर्छ ।

१४. बढ्दो जनसंख्या र वृद्धि भएको पार्टीको सदस्य संख्याको आधारमा पार्टीको जिल्ला कार्यसमिति र केन्द्रिय कार्य समितिको आकार बढाउन जरुरी छ । जिल्लामा २० देखि ३० जना सदस्य थप गर्ने र पार्टीमा सामुहिक नेतृत्व प्रणाली स्थापित गर्न पदाधिकारीको संख्या थप गर्नुका साथै केन्द्रिय समितिमा खुल्ला तर्फको केन्द्रिय सदस्य २५ बाट बढाएर ४५ र समावेसी तथा प्रदेशमा अहिलेको भन्दा दोब्बर केन्द्रिय सदस्यहरु निर्वाचित हुने व्यबस्था गर्नुपर्छ ।

१५. नेपाली काङ्ग्रेसले हरेक राजनीतिक परिर्वतनको नेतृत्व गर्दै आएको छ । अव काङ्ग्रेसको अग्रसरतामा मुलुकको समुन्नति र समृद्धिको लागि आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ । यसको लागि आर्थिक विकासको सम्भाव्यता भएको क्षेत्र, पर्यटन, कृषि जडिवुटि र जलस्रोतमा व्यापक लगानिको वातावरण सिर्जना गरि गाउँगाउँमा विकास र यूवाहरुलाई स्वदेशमै रोजगारी अवसर प्रदान गर्न काङ्ग्रेसको नेतृत्वमा ‘सुन्दर नेपाल–समृद्ध नेपाल’ अभियान शुरु गर्नुपर्छ ।

जय नेपाल ।