विद्रोही सैनिकजस्ता कविताहरू -दीपकमणी दाजुभाइ

विद्रोही सैनिकजस्ता कविताहरू -दीपकमणी दाजुभाइ


हाम्रो समयमा नेपाली कवितामा केही सुन्दर र शक्तिशाली कविताहरू लेखिएका छन् । कविहरू पनि प्रतिबद्ध र क्षमतावान उत्पादन भएका छन् । हाम्रो समय भनेको चालीसपछिको नेपाली कविताको समय नै हो । चालीसपछिको नेपाली कविता अझ सम्बल र सशक्त भएर आएको छ ।
र यही चालीसपछिको समयका सफल कविमध्ये एक हुन् पूर्ण इन्फादा । विचार र शिल्प दुवैका कारण उनका कविताले आफ्नो छुट्टै पहिचान बनाएको छ । यस्तो पहिचान जसमा यो पुस्ताकै शान र गौरव ठडिएको छ ।
सर्न्दर्भ हो, कवि पूर्ण इन्फादा र उनको कवितासङ्ग्रह अभिलेख अवशेषहरूको । अभिलेख अवशेषहरू अराजक कविताको शिष्ट स्वरूप हो । कवि पूर्ण इन्फादा कविता र कविता कर्मका कारण खासै चर्चामा आउँदैनन् । पछिल्लो समय उनको नयाँ कृति अभिलेख अवशेषहरूले पनि उति चर्चा पाएन । चर्चामा नआए पनि कविता शक्तिशाली छ । शक्तिशाली सबै कविता चर्चामा आउँछन् नै भन्ने पनि छैन । फेरि चर्चा मात्रै नै कहाँ कविताको शक्तिको मापन हो र – चर्चा त नेपाली साहित्यमा कस्ता-कस्ता कविताका भइरहेका छन् हामीले देखे-भोगेकै कुरा हो ।
नयाँ सोच र भिन्न प्रस्तुतिका कविताहरू रहेका अभिलेख अवशेषहरूले विद्रोह र आक्रोशका स्वरहरू बोलेका छन् । पूर्ण इन्फादाको विद्रोह भनेको यो अहिले हामीले भोगिरहेको विसङ्गतिसँग हो । यो अहिले हामीले बाँचिरहेको पुरातन संस्कारसँग हो । राजनीतिमा देखिएको दम्भको खेल र जीवनमा भोगिने आडम्बरको प्रवृत्तिसँगको विद्रोह नै पूर्णका कविताहरू हुन् । पूर्णलाई यो राज्यसत्तासँग आक्रोश छ । पटक-पटक कुर्सीका लागि जनताको बलि माग्ने दल र सत्तामा पुगेपछि जनतालाई अझ विडम्बनाको दलदलमा जाक्ने नेताहरूसँग पूर्ण आक्रोशित छन् ।
पूर्ण कवितामा अराजक छन् । कवितामा मात्र होइन जीवन र व्यवहारमा पनि उनी त्यत्तिकै अराजक छन् । मन नपरेको कुरा पूर्णलाई मन पर्दैन । मन नपरी-नपरी कसैको अगाडि झुक्न र अर्काको गल्ती देखी-देखी मुस्कुराउन पूर्णलाई स्वीकार्य छैन । उनी फ्याट्ट बोल्छन् । राम्रो-नराम्रो जे हो त्यही लेख्छन् । बोली र व्यवहार जस्तो छ उनको लेखन पनि उत्तिकै खरो छ । उनलाई चित्त नबुझेको कुरा उनी लेख्दैनन् । पूर्णलाई सबभन्दा ठूलो असन्तुष्टि अहिलेको विद्यमान विसङ्गति र दिग्भ्रमित समाजसँग छ । किन यो समाज पटकपटकर् इश्वरको आराधनामा लीन हुन्छ र दीनदुःखीलाई अझ दुःख दिन्छ – किन यो राज्य दल र दलका नेताहरूलाई भगवान्जस्तो मान्न बाध्य गराउँछ – कविता लेखुन्जेल कवि पूर्ण इन्फादा यही कुरामा पटक-पटक आक्रोशित भएका छन् । उनी असल र समुन्नत समाज चाहन्छन् । मानिसले मानिस भएर बाँच्न पाउने देश चाहन्छन् र सबभन्दा ठूलो कुरा नागरिकताको प्रमाणपत्रलाई सम्मानका साथ सबले बोक्न पाउने अवस्था चाहन्छन् ।
‘भोलि बिहान नहुँदै पुग्नु छ र्-र्
इश्वरको प्रतीक्षालयमा
अफसोचर्,र्
इश्वर त्योभन्दा पहिल्यै
आगोमा होमिरहेको छ- कलिलो चित्कार
र, चपाइरहेको छ- कलिला नानीका आँखा ।’
पेज नं. ४८ ज्ालिरहेको चित्कार
पूर्ण इन्फादाका कविताको अर्को सुन्दर पक्ष भनेको उनी पूर्ण कविता लेख्छन्- शक्तिशाली र कविताका दृष्टिकोणले सम्बल कविता । उनका कविता प्रस्तुतिका हिसाबले, शैलीका हिसाबले र विम्ब, मिथ प्रयोगका हिसाबले अब्बल छ । हामीलाई लाग्छ, पूर्णको कविताकर्मको उपलब्धि पनि यही हो ।
नेपाली कविताको क्षेत्रमा पूर्ण इन्फादाको नयाँ कृति अभिलेख अवशेष आएको महिनौँ भयो । ४० वटा लामा-छोटा कविताको यो सङ्ग्रह नेपाली कविताको अहिलेको आवाज हो ।
समकालीन नेपाली कविताको पछिल्लो कालखण्डमा पूर्णको भिन्न उपस्थिति रहेको छ । उनको लेखन नियोजित छ । तर, सबल छ । उनी आत्मनियन्त्रित लेखनमा विश्वास राख्ने बौद्धिक र प्रयोगशील कवि हुन् । उनी प|mेमभित्रको कवितालाई कविता नै मान्दैनन् । एउटा निश्चित साँचोभित्र लेखिएको कविता उनी अस्वीकार गर्छन् । बहुल रंगहरूको सत्तालाई सम्मान गर्दै कविताकर्ममा व्यस्त पूर्ण इन्फादा नयाँ बाटो र नयाँ गन्तव्यको खोजीमा छन् । उनले यो कुरालाई स्वीकार गरेका पनि छन्, ‘म सन्त्रास, पीडा, विसङ्गति, विद्रोह, आक्रोश र दुरि्नयतिको विषाक्त ब्लाकहोलभित्र पसेको छु भने मेरा कविताको सौर्न्दर्यकला त्यसबाट कसरी उन्मुक्त हुन सक्छन् – लाग्छ, मथिङ्गलमा नाचिरहने मेरो समाजले यसरी प्रेरित गरिरहेको हुन्छ मलाई कविता लेख्न बस्दा ।’
प्ाूर्णको कविता सोच्ने शक्ति भिन्न छ । उनी कवितालाई शक्ति मान्छन् र शक्तिको प्रयोगमा समुचित विचारको आवश्यक पर्छ भन्ने मान्छन् । त्यसो त नेपाली कविता-यात्रामा पूर्णका आगामी दिनहरू अझ शक्तिशाली हुने कुरालाई अस्वीकार गर्न सकिँदैन । तर, आज उनी जहाँ र जसरी छन् त्यो आफैंमा पूर्णतातिर उन्मुख यात्रा हो भन्न सकिन्छ ।
दर्ुगम पहाडी गाउँबाट सहरमा आएर अभिशप्त सपना भोग्न विवश कवि पूर्ण इन्फादाले आजका दिनसम्ममा जीवन-सङ्घर्षका अनेक अरुण तरे । असङ्ख्य अक्करे भीरजस्ता समस्याहरूसँग जुधे । यी सब कुरा उनका कवितामा आएका पनि छन् ।
‘यतिखेर, बधशालाभित्र कैद छ यात्रा
समाधि देह बनेको छ संवेदना
त्यही विरक्तलाग्दो समाधिमा उभिएर मान्छे
सारङ्गी बजाउँदै रोइरहेको छ- इको साउण्डमा
र खसालिरहेको छ- समाधि देह आँसु बालुवामा ।’
प्ोज नं. ६५ – समाधि देह
वैदिक र धार्मिक विम्बहरूलाई आधुनिक र अराजक शैलीमा प्रस्तुत गर्न रुचाउने पूर्णले आफ्नो दोस्रो कविता कृतिमा कविताको शक्ति र सामर्थ्यलाई अझ प्रगाढ बनाएका छन् । पूर्णले कवितामा त्रास, पीडा र अप्ठ्याराहरूलाई खोलेका छन् । यो समाज किन हामीले चाहेजस्तो बनिरहेको छैन । कविहरू किन अराजक कविता लेख्न बाध्य छन् – पूर्ण इन्फादा यसैका जवाफ हुन् । मानवको स्वाभिमानको रक्षार्थ उनले आफ्ना कवितालाई सैनिकजस्तो उभ्याएका छन् । कविताकर्ममा गम्भीर र सचेतताका साथ सक्रिय पूर्ण इन्फादाको सपना भनेकै समग्र-समग्र मानिस मात्रको स्वाभिमानको रक्षा हो । सैनिकजस्ता यी शक्तिशाली कविताका सर्जक पूर्ण इन्फादालाई दाहिने सलाम ।