जीवनशैली सच्याउने कि मृत्यु रोज्ने :डा. सन्तोष श्रेष्ठ



एमडी -जनरल मेडिसिन, डायबिटिज एन्ड इन्डोक्राइनोलोजी)
चिकित्सा पेसामा लागेका व्यक्ति भन्नेबित्तिकै आजभोलि सेवाभन्दा पनि धन आर्जनमा लिप्त व्यक्तिका रूपमा हेरिने अवस्था सिर्जना भएको छ । मेडिकल शिक्षा आर्जन गरेर आफूलाई विज्ञ चिकित्सकका रूपमा स्थापित गर्न महँगो शुल्क लाग्ने भएकोले अध्ययन सकिएपछि डाक्टरहरू छिटोभन्दा छिटो धन कमाउने कुरामै केन्द्रित हुन्छन् भन्ने सामाजिक दृष्टिकोण छ र चिकित्सा पेसामा रहेका अधिकांश व्यक्तिका व्यवहार वा प्रवृत्तिले पुष्टि गरिरहेको पनि हामी पाउँछौँ । तर, चिकित्सकहरूप्रति यसप्रकारको अवधारणा बनिरहेको परिवेशकैबीच यस्ता व्यक्ति पनि भेटिन्छन् जो आफ्नो पेसा र कर्मलाई नितान्त परोपकारकै भावबाट प्रेरित भएर बिरामीलाई सेवा प्रदान गरिरहेका छन् । यस्तै बिरलकोटीका एक चिकित्सक हुनुहुन्छ डा. सन्तोष शाक्य ।
३९ वर्षअघि ललितपुरमा माता अरुणा र पिता धनभक्त शाक्यका सुपुत्रका रूपमा जन्मनुभएका सन्तोष सानैदेखि संवेदनशील प्रकृतिका र सेवाभावबाट ओतप्रोत हुनुहुन्थ्यो । पारिवारिक विरासतका आधारमा भन्नुपर्दा आज उहाँ चिकित्सक नभई एक व्यापारीका रूपमा व्यापार व्यवसायमा रमाइरहेको अवस्थामा हुनुपर्ने हो । किनकि, उहाँका मातापिता दुवैजना आफ्नै व्यापार-व्यवसायमा हुनुभएकाले उहाँले पनि सोही विरासत सम्हाल्नेतर्फ आफूलाई तयार पार्नुपथ्र्यो । तर, पढेर समाज र आमनागरिकका लागि सेवा पुर्‍याउने सोचबाट अभिप्रेरित भएकैले उहाँले चिकित्सा विषय अध्ययन गर्नुभयो र आज मुलुकभरकै सीमित इन्डोक्राइनोलोजिष्टका रूपमा आफ्नो परिचयको दायरा फैलाउँदै हुनुहुन्छ ।
अध्ययनका लागि चिकित्साविज्ञान रोज्नेहरू प्रायः ‘सर्जरी’तर्फ लाग्न रुचाउने गरेको ट्रेन्ड छ, तर सन्तोषको चाहनाचाहिँ सुरुमा कार्डियोलोजीमा थियो । अनि, अस्कल क्याम्पसबाट आईएस्सी गरेर थप अध्ययनका लागि रसिया गएपछि उहाँको सोचाइमा परिवर्तन आयो । उहाँले के जानकारी पाउनुभयो भने नेपालमा इन्डोक्राइनोलोजिष्टको सङ्ख्या अत्यन्तै कम छ, अर्थात् ‘छँदै छैनन्’को अवस्था छ । इन्डोक्राइनोलोजिष्टको अभावका साथ हार्मोन टेस्ट गर्ने सुविधा नै नेपालमा नभएको अवस्थाको बोध भएपछि इन्डोक्राइनोलोजीमा विशेषज्ञता हासिल गर्ने सोचका साथ उहाँ दोहोर्‍याएर रुस जानुभएको थियो । मानव शरीरको हार्मोनसँग सम्बन्धित विषय इन्डोक्राइनोलोजीअर्न्तर्गत डायबिटिज, थाइराइडजस्ता समस्याहरूको निदान तथा उपचारको अध्ययन हुन्छ । हाल नेपालको परिवेशमा थाइराइड डिजिज र यसको अवस्था के छ भन्ने विषयमाथि पीएचडी गरिरहनुभएका डा. सन्तोष आफ्नो क्षेत्रमा गर्नुपर्ने निकै रहेकोले शोध पूरा भएपछि अझ प्रतिबद्धताका साथ आफ्नो कर्ममा लागिपर्ने अठोट व्यक्त गर्नुहुन्छ ।
चिकित्सा पेसालाई कमर्सियल क्षेत्रको रूपमा लिने चिकित्सकहरूको बोलवाला बढिरहेको छ । नेपालमा मात्र नभई संसारभर नै मेडिसिन क्षेत्रलाई विजनेसअर्न्तर्गत राखेर हेरिन थालिएको परिवेशमा डा. सन्तोष भन्नुहुन्छ, ‘यदि पैसा कमाउनु छ भने मेडिसिन प्रोफेसनमा बस्नै हुन्न, पैसा कमाउन त अन्य थुप्रै उपाय छन्, धेरै किसिमका व्यापार गर्न सकिन्छ । तर, यो त विशुद्ध सेवा या परोपकारको माध्यम हो, चिकित्सकहरूले यो ध्यानमा राख्नुपर्छ ।’ उहाँ थप्नुहुन्छ, ‘पढ्न खर्चिलो हुनाले खर्च त उठाउनैपर्छ भन्ने धारणाले पनि होला, तर मेरो हकमाचाहिँ यो सोच लागू हुँदैन, म पनि खर्च गरेरै पढेको हुँ तथापि पैसा कमाउन यो क्षेत्र रोजेको होइन ।’
डा. सन्तोष शाक्यको विषयमा लेखिँदा ‘सुगर’को नामले बढ्ता चिनिने मधुमेह र नेपालमा यसको अवस्थाबारे चर्चा नहुनु स्वाभाविक नहुन सक्छ । खासमा डायबिटिज या मधुमेह भनेको के हो त – यसलाई सङ्क्षिप्त रूपमा बुझाउँदै डा. सन्तोष भन्नुहुन्छ, ‘हामी खानाका रूपमा जे-जति कुरा खान्छौँ ती सबै शरीरभित्र ग्लुकोज या ऊर्जाका रूपमा परिवर्तन हुन्छ र त्यसरी उत्पादन भएको ऊर्जा -सुगर)लाई प्याङ्क्रियाज नामक ग्रन्थीबाट पैदा हुने इन्सुलिन भन्ने तत्त्वले रगतको नशामार्फत शरीरका विभिन्न कोषमा आपूर्ति गर्ने काम गर्छ । कुनै कारणवश जब प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न छोड्छ या कम उत्पादन गर्छ तब खानेकुराबाट शरीरमा उत्पादन भएको ऊर्जा -ग्लुकोज) शरीरका कोषमा नपुगी रगतमा जम्मा भएर बस्न थाल्छ । यसरी शरीरको ग्लुकोजलाई शक्तिमा रूपान्तरण गर्ने महत्त्वपूर्ण तत्त्व इन्सुलिनमा कमी आएपछि शरीरले आवश्यक ऊर्जा नपाएर मानिस दुब्लाउन थाल्छ भने उता रक्तनलीमा जम्मा भएको ग्लुकोजले ब्लडप्रेसर निम्त्याएर मुटु, आँखा, किड्नीजस्ता अत्यन्त महत्त्वपूर्ण अङ्गहरूमा समस्या सिर्जना गर्न सक्छ । यसरी प्याङ्क्रियाजबाट इन्सुलिन उत्पादन नभएर या इन्सुलिनले काम गर्न नसकी रगतमा ग्लुकोजको मात्रा बढ्ने अवस्था नै डायबिटिज हो ।’
नेपालमा यसका रोगीको तथ्याङ्क हालसम्म यकिन भइनसकेको भए पनि डब्लूएचओको गत वर्षको डाटाअनुसार नेपालको जनसङ्ख्याको ३.७ प्रतिशत नागरिक यसबाट ग्रसित छन् । काठमाडौं उपत्यकामा मात्रै लाखौँ व्यक्ति यसको सिकार बनेको अनुमान गरिएको छ । मूलतः मोटोपना, तनाव, खानपानमा लापरबाही या जङ्कफुडको प्रयोग, व्यायामको अभावजस्ता कारणले मधुमेह निम्तिने गरेको पाइन्छ । यर्सथ, गाउँको तुलनामा सहरवासीलाई यो समस्याले बढ्ता च्याप्ने गरेको तथ्याङ्क छ । आजको प्रतिस्पर्धात्मक जमानामा सहरको जीवनशैली असाध्यै तनावयुक्त बन्दै गएको छ । बढ्दो आर्थिक विकास भएका देशमा मधुमेहले तीव्र र डरलाग्दो गरी पञ्जा फैलाइरहेको छ । केही समयअघिसम्म विश्वकै एक नम्बर मधुमेहरोगीको देशका रूपमा चिनिँदै आएको देश भारतलाई उछिनेर सन् २००९ यता चीनले उक्त स्थान लिएको छ । आर्थिक विकासमा ‘डबल डिजिट ग्रोथ’को खुसीसँगै व्यस्त जीवनशैली या रहनसहनमा सुविधाभोगी शैली, व्यक्तिगत र व्यावसायिक तनाव, त्यसबाट सिर्जना हुने डिप्रेसनले चीनमा मधुमेहरोगीको सङ्ख्या ह्वात्तै बढाएको छ । अमेरिका पनि डायबिटिजको सवालमा तेस्रो स्थानतिरै छ । यो अवस्था सुझाउँदै डा. सन्तोष भन्नुहुन्छ, ‘सहरको जीवनले तनाव दिन थाल्यो भन्दैमा सहर छोडेर गाउँ जानुस् भन्न त मिल्दैन, तर भरसक प्राकृतिक भएर बाँचौँ भन्ने सुझाव दिन चाहन्छु म । सहरीजीवनमै रहनु छ भने सम्भव भएसम्म घरमा करेसाबारी बनाएर तरकारी र फलफूलहरू उत्पादन गर्नुहोस््, आफैं काम गर्नुहोस्, प्रोसेस नगरिएका प्राकृतिक खानेकुरा समयमा ठिक्क मात्रामा खानुहोस्, समयमै सुत्नुहोस् र सबेरै उठेर वाकिङ या व्यायामका लागि समय निकाल्नुहोस्, यसरी दिनचर्यालाई रुटिनबद्ध बनाएर प्राकृतिक जीवन अवलम्बन गर्नुहोस् । किनकि, प्रकृतिसँग नमिलेसम्म ब्लडसुगरलाई नियन्त्रणमा राख्न सकिन्न । रोग लाग्नुअघि नै र यसको सिकार भएपछि त झनै ‘प्राकृतिक’ बन्नु आवश्यक छ ।’
डायबिटिज भनेको ‘नेभर इन्डिङ प्रोसेस’ हो । अर्थात्, थाइराइड एवम् डायबिटिज भएपछि जीवनभर निको पार्न सकिन्न या प्याङ्क्रियाजलाई पुरानै अवस्थामा फर्काउन सकिने उपचार पद्धति हालसम्म मेडिकल साइन्सले गर्न सकेको छैन । ब्लडसुगरलाई नियन्त्रणमा राख्नु नै यसको उपचार हो । डा. सन्तोष भन्नुहुन्छ, ‘यसले आफैं त केही बिगार गर्दैन तर समयमै पहिचान गरी यसलाई नियन्त्रणमा नराखे रक्तनलीसम्बन्धी समस्या सुरु हुन्छ र पक्षघात, हृदयाघात, अन्धोपना, किड्नी फेलियर हुने चरणमा पुग्ने सम्भावना प्रबल हुन्छ । मूत्रनलीसम्बन्धी समस्या, युरिक एसिड, थाइराइड र निमोनियाको सम्भावना पनि मधुमेह भएपछि बढ्न पुग्छ । मधुमेहरोगीको डाक्टर भनेको स्ययम् नै हो, वास्तविक डाक्टरले त बाटो देखाइदिने मात्र हो, त्यसअनुसार व्यक्तिले जीवनशैली र आहारबिहार अपनाए स्वाभाविक आयु बाँच्न र पछिको जीवन सहज बन्छ । अन्यथा जीवन छोटि्टने मात्र नभई कष्टपूर्ण पनि हुन सक्छ । तर्सथ, मधुमेहबारे आज उपचारभन्दा पनि चेतनाको खाँचो छ । बुझ्न सके यो रोग होइन तर नबुझेमाचाहिँ योजस्तो खतरनाक अर्को रोग नै छैन भन्दा पनि हुन्छ ।’ यसलाई थप प्रस्ट्याउँदै उहाँ अगाडि भन्नुहुन्छ, ‘गाडीमा बसेर चार नम्बर गियरमा हुइँकिए चाँडै गन्तव्यमा पुगिन्छ तर एक नम्बरमा चल्ने हो भने गति सीमित भई अवधि लम्बिन्छ, यस्तै हो मधुमेहमा पनि । डायबिटिज भएपछि समस्या कति निम्त्याउने, कति छिटो निम्त्याउने र मृत्युसँग कति चाँडो या ढिलो साक्षात्कार गर्ने भन्ने कुरा सम्बन्धित व्यक्तिकै हातमा हुन्छ । औषधिले भन्दा चेतनाले यसमा काम गर्छ भन्नुको तार्त्पर्य यही हो । जीवनशैली परिवर्तन गरी आरामसँग शान्त यात्रा गर्ने कि जथाभावी या अनियन्त्रित रफ्तारमा दौडिने -‘
यसरी डायबिटिजको सिकार भएको अवस्थासँग जुझ्न बिरामी आफंै सचेत रहनुपर्ने बताउँदै गर्दा डा. सन्तोष यो जानकारी गराउन चुक्नुहुन्न कि नियमित रूपमा चिकित्सकको सर्म्पर्कमा रहेर आवश्यक जाँच तथा परामर्श लिनु त आवश्यक छ । निश्चित अवधिमा नियमित रूपले रगतको परीक्षण गराउनुका साथै मुटु, किड्नीजस्ता अङ्गहरूको जाँच पनि समय-समयमा गराउनु आवश्यक पर्छ । खानापछि निर्माण हुने ग्लुकोज शरीरले शक्तिका रूपमा ग्रहण गर्न नसकिरहेको अवस्थामा त्यो रगतमा जम्मा भई नशा र शरीरका अन्य अङ्गहरूमा के-कति क्षति पुर्‍याइरहेको छ या सम्भावित क्षतिबाट बच्न के-कस्ता उपाय अपनाउनुपर्छ, औषधि वा इन्सुलिनको जरुरत छ-छैन भन्ने जान्नका लागि पनि चिकित्सकको सर्म्पर्कमा रहनुपरेको हो ।
मधुमेहबारे जनमानसमा व्यापक भ्रम रहेको डा. सन्तोषको बुझाइ छ । स्वस्थ समाज निर्माणका लागि पनि यो भ्रम चिर्नु अत्यावश्यक भएको ठहर गर्दै उहाँसहित सहकर्मी डा. अमित शाक्य र डा. असीम शाक्य मिलेर ‘डायबिटिज, थाइराइड एन्ड इन्डोक्राइनोलोजी केयर सेन्टर’ नामक संस्था खोलिएको छ । मधुमेहको उपचारसँगसँगै यसबारे जनचेतना जगाउने विभिन्न कार्यक्रम सेन्टरले सञ्चालन गर्दै आएको छ । समाजका लागि केही गरौँ भन्ने भावनाले नै आफूहरू पैसामुखी सोचसँग दूरी बनाउँदै परोपकारमा जुटिरहेको डा. सन्तोष प्रस्ट्याउनुहुन्छ । चाहेको भए डा. सन्तोष शाक्यको टिमले नेपालकै पहिलो यस इन्डोक्राइनोलोजी सेन्टरलाई नै धन आर्जनको दह्रिलो माध्यम बनाउन सक्थ्यो । तर, उहाँहरू यस्तो सोचमा पटक्कै हुनुहुन्न, बरु सेन्टरअर्न्तर्गत सेवा र चेतनामूलक कार्यक्रमका दायरा बढाउँदै लैजाने अभियान जारी छ । सेन्टरले डायबिटिज वा इन्डोक्राइनोलोजीसम्बन्धी कुनै पनि जिज्ञासा मेटाइदिने सद्उद्देश्यले बिहान ८ देखि राति ८ बजेसम्म निःशुल्क हेल्पलाइन सेवासमेत सञ्चालन गरिरहेको छ । जिज्ञासु जो-कोहीले टोल प|mी नम्बर १-६६००१-६६००१ को प्रयोग गरेर डायबिटिज तथा थाइराइडसम्बन्धी यावत् जानकारी लिनसक्ने डा. सन्तोष-समूहको कुपण्डोलस्थित यस सेन्टरले सेवा प्रदान गरिरहेको छ । यसका लागि कुनै स्वदेशी वा विदेशी कुनै निकायबाट सहयोग नलिई डाक्टरहरूको समूह स्वतःस्फूर्त रूपमा सेवामा उत्रिएबाट पनि डा. सन्तोषको परोपकारी भावनाबारे थोरबहुत बुझ्न सकिन्छ ।
मधुमेहलाई बुझ्न नसक्दा समाजमा अनेक भ्रमहरू विद्यमान रहेको यथार्थ प्रस्ट्याउँदै डा. सन्तोष भन्नुहुन्छ, ‘मधुमेह भएपछि यो खान हुन्छ, यो खान हुँदैन भन्नेमा अनेक भ्रमात्मक प्रचार भएका पाइन्छन् । यसमा म के सुझाव दिन चाहन्छु भने यसमा कुनै कुरा खानै नहुने भन्ने होइन, चिनी या चिनीबाट बनेका खानेकुराले रगतमा ग्लुकोजको मात्रा तत्काल अत्यधिक बढाइदिने हुनाले यसको सेवनमा विचार पुर्‍याउनु परेको हो । भरसक चिनीजन्य खानेकुरा नखानु उपयुक्त छ । चिल्लोले पनि सुगरको मात्रा बढाउने हुनाले त्यसमा पनि विचार पुर्‍याउनुपर्छ । आँप, केरा, अंगुर र अनार भरसक नखाँदा राम्रो या कम खानु उपयुक्त हुन्छ भने अन्य खानेकुराका हकमा कुनै परहेज छैन । जोकसैले पनि प्राकृतिक कुरा खाऊन्, जङ्क फुड या कारखानामा पोलिस गरिएका -प्रोसेस भएर आएका) प्याकेटका खानेकुराबाट टाढा बसौँ, भगवान्ले दिएको प्राकृतिक वस्तु खुसीले थोरै-थोरै खाऔँ, सागसब्जी तथा रेसायुक्त तरकारीहरूलाई जोड दिऔँ ।’ उहाँको थप सन्देश यस्तो छ, ‘अस्तव्यस्त तथा तनावयुक्त जीवनशैलीलाई परिवर्तन गरेर प्राक्टिकल बनौँ । सबभन्दा ठूलो कुरा खुसी र सुखी रहनु हो, आफूसँग जे-जति छ त्यसमा सन्तुष्ट या खुसी रहँदै शान्त ढङ्गले प्रगतितर्फ अग्रसर होऔँ । लाइफस्टाइललाई यो साँचोमा ढाल्नसके मधुमेहले जीवन छोटि्टँदैन बरु रुटिनबद्ध दैनन्दिनीले आयु वृद्धि गरिदिन सक्छ । प्राकृतिक बनौँ, सुखी रहौँ, मधुमेहको अवस्थापछि पनि स्वाभाविक आयु बाँच्न अन्य कुनै बिकारले छेक्दैन भन्ने सन्देश बाँड्न चाहन्छु म ।’
– जयप्रकाश त्रिपाठी

प्रतिक्रिया