बोराका बोरा पार्टी सदस्य फाराम भराउँदा..

बोराका बोरा पार्टी सदस्य फाराम भराउँदा..


– रवीन्द्र श्रेष्ठ

अहिले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको वार्ता चलिरहेको छ । यो कस्तो होला भन्ने अनुमान, विश्लेषण र बहस शुरु भएको छ । एकता पक्कै पनि हुन्छ भनेर ओली र दाहाल दुबैले जोड दिन थालेका छन् । तर कार्यकर्ताहरू र जनतामा भने अझै विश्वास पैदा भएको छैन ।

यस्तै एकता ०४७ सालमा पनि चलेको थियो । ०४६ सालको जनआन्दोलनका बेला कम्युनिष्ट पार्टीहरू नेपालमा एक दर्जन भन्दा बढी थिए । पञ्चायती कालमा पार्टीमाथिको प्रतिबन्धले गर्दा स–साना कम्युनिष्ट गुटहरूको अस्तित्वका लागि कठिन थिएन । तर ०४६ सालको आन्दोलनपछिको नयाँ खुल्ला परिस्थितिले यी स–साना कम्युनिष्ट समुहलाई नयाँ ढङ्गले सोच्न वाध्य बनाएको थियो । नयाँ परिस्थितिले यी कम्युनिष्ट समुहहरूलाई नयाँ धु्रवीकरणका लागि प्रेरित गरिरहेको थियो । स–साना समुहमा टिक्न अबको नयाँ परिस्थितिमा कठिन बन्ने स्पष्ट थियो । कोठामा सीमित रहेकाहरू जनतामा जान पर्ने बाध्यकारी परिस्थिति बनेको थियो ।

त्यतिबेलाको हाम्रो पार्टी नेकपा (मशाल)मा पनि क्रान्तिकारीहरूको ध्रुवीकरणका लागि पहल गर्ने विषय छलफलमा थियो । पार्टीमा त्यो बेला, जनयुद्ध गर्न चाहने नेता–कार्यकर्ताहरू एक ठाउँमा ल्याउन पहल गर्नुपर्दछ भन्ने क्रान्तिकारी कोणबाट पनि एकताको चाहना व्यक्त भैरहेको थियो भने अर्कोतिर यस पार्टी उग्रवामपन्थी बाटोमा हिँड्न लाग्यो, त्यसैले यी उग्रवामपन्थीहरूलाई ठिक पार्न नरमपन्थी कम्युनिष्टहरूसँग पार्टी एकता गरियो भने सजिलो हुन्छ भन्ने कोण पनि थियो । ०४५ सालतिरै जनयुद्ध शुरु गर्ने तयारी र प्रयास जारी रहेकै वेला ०४६ सालको आन्दोलन आएकोले त्यो जनयुद्धको तयारी रोकेर जनआन्दोलनमा पार्टी होमिने निर्णय भएको थियो ।

जनआन्दोलनले नयाँ परिस्थिति तयार गरेको हुनाले केही समय जनयुद्धको बाटोमा जाने कुरा स्थगित गरेर नयाँ व्यवस्था, सत्ता, सरकार र सत्ताधारी दलहरूको भण्डाफोर गरेर जनतामा राम्रो तयारी गर्न पर्ने आवश्यकता पैदा भएको थियो । तत्कालै ०४७ सालमै जनयुद्ध शुरु गर्नु भनेको आत्मघाती काम हुन सक्दथ्यो । किनभने भरखरै लामो समय पछि बहुदलीय संसदीय व्यवस्था आएको थियो र जनतामा यस नयाँ व्यवस्थाले नै राम्रो जनपक्षीय कामहरू गर्नेछ कि भन्ने भ्रम व्याप्त थियो । तसर्थ केही समय चुनाव उपयोग र भण्डाफोरको कार्यनीति लिन जनयुद्ध समर्थकहरूलाई समयको आवश्यकता थियो ।

यही परिस्थितिका बीच नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन), सर्वहारावादी श्रमिक सङ्गठनबीच पार्टी एकता संयोजन समिति बन्यो र पार्टी एकताको लागि घनिभूत वार्ता शुरु भयो । माओवाद वा माओविचारधारा मान्ने तथा संसदीय व्यवस्थाको भण्डाफोर गर्न पर्छ भन्ने यी तीनवटै समुहले क्रान्तिका लागि सशस्त्र संघर्षलाई अनिवार्य मानेको पनि थियो, भलै सशस्त्र संघर्ष कसरी गर्ने भन्ने विषयमा विवाद थियो ।

यो एकता अभियान शुरु भएपछि तत्कालीन नेकपा (माले)का नेता मदन भण्डारीले पनि अर्को एकता अभियान शुरु गरे । उनले माले र तात्कालीन नेकपा (माक्र्सवादी) बीच एकताको पहल शुरु गरे । नेकपा (माले)को स्थापना माओ दिवसका दिन २६ डिसेम्वरमा भएको थियो र यसले शुरुमा माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्त मानेको थियो । तर यसले ०४६ सालको महाधिवेशनबाट माओविचारधारा परित्याग गरिसकेको थियो । प्रचण्डले मालेको क्रान्तिकारी विगतलाई हेरेर सशस्त्र संघर्षको बाटोमा ल्याउन सकिन्छ कि भनेर प्रयास गर्ने भन्दै मदन भण्डारीसँग भेट गरेर छलफल गरे । मदन भण्डारीले त्यसबेला नेपालमा दुई धारको कम्युनिष्ट पार्टी रहने, एउटा शान्तिपूर्ण आन्दोलन र चुनावी बाटोको नेकपा (माले)को धार र अर्को माओवादी सशस्त्र संघर्षको धार रहने, तसर्थ यी दुई धारका विच एकता हुन नसक्ने भनी जवाफ दिए ।

यसपछि माले र माक्र्सवादी मिलेर एमाले बन्यो भने यता तीन पार्टी मिलेर नेकपा (एकता केन्द्र) बन्यो । नेकपा (एकता केन्द्र)मा चौमतर्फका नरबहादुर कर्माचार्य पार्टी अध्यक्ष बने भने मशाल का प्रचण्ड महासचिव बने तथा निर्मल लामा, मोहन वैद्य, भक्तबहादुर श्रेष्ठ, रुपलाल विश्वकर्मा तथा सोनाम (शशी शेरचन) आदि वरिष्ठ नेता बने । शुरुमा सर्वहारा श्रमिक संगठन र नेकपा (मशाल)का बीचमा एकता हुने भैसकेकोमा पछि नेकपा (चौम) पनि सहमत भएपछि यी तीन पार्टीबीच पार्टी एकता भएको थियो । यस एकतामा आउन मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल)लाई पनि आह्वान भएकोमा मोहनविक्रमले यस्तो एकतालाई अवसरवादी एकता भनेर अस्वीकार गरे ।

त्यसपछि नेकपा (एकता केन्द्र)मा कुन लाइन पारित गराउने र पार्टी कसले कब्जा गर्ने भन्ने शक्ति संघर्ष शुरु भयो । मशाल पक्षकाले आधार इलाकासहित गाउँले शहरलाई घेर्ने रणनीति भएको र छापामार युद्धबाट शुरु गरिने दीर्घकालिन जनयुद्धको कार्यदिशा पारित गराउन प्रयास गरे भने चौम पक्षकाहरूले भने देशभरि र मुख्य रुपमा शहरमा गरिने सशस्त्र विद्रोहको लाइन पास गराउन प्रयास गर्न थाले । बीचमा सर्वहारावादी श्रमिक संगठनका नेताहरू बसे । श्रमिक संगठनका नेताहरू जता लाग्ने भए, उसकै लाइन केन्द्रिय समितिबाट पास हुने स्थिति बन्यो । श्रमिक संगठनका नेताहरू अर्थात रुपलाल पक्षका वहुमत केन्द्रिय सदस्यहरू चौमको लाइनमा लाग्ने संकेत देखिएपछि केन्द्रिय समितिमा दीर्घकालीन जनयुद्धको लाइन बहुमतमा गराउन मोहनविक्रम नेतृत्वको मसाल फुटाउने अभियान शुरु भयो । अन्तमा यसमा सफलता हात लाग्यो र शितल कुमारको नेतृत्वमा मसाल फुट्यो । त्यो बेला बाबुराम भट्टराई मसालको केन्द्रिय सदस्य पनि थिएनन् । उनलाई पनि शितल कुमार नेतृत्वको नयाँ मसालसँगै एकताकेन्द्रमा केन्द्रिय सदस्य बनाउने काम भयो । यसपछि बल्ल नेकपा (एकता केन्द्र)को केन्द्रिय समितिमा दीर्घकालीन जनयुद्धको लाइन पक्षको बहुमत बन्यो ।

त्यसपछि ०४८ मा महाधिवेशन हुने टुंगो लाग्यो । महाधिवेशनमा जसले बहुमत प्रतिनिधि उपस्थित गराउन सक्दछ, उसकै लाइन पारित हुने र साथै नयाँ केन्द्रिय समितिमा पनि मुख्य नेतृत्व र बहुमत केन्द्रिय सदस्यहरू आफ्नो हुने तथा यसरी पार्टीमा कब्जा जमाउन पाउने भएकोले यसका नयाँ–नयाँ खेल पनि शुरु भयो । यही समयमा चौम पक्षले आफ्ना आधार जिल्लाहरूमा पार्टी सदस्यता फारामहरू व्यापक रुपमा बाँड्न शुरु गरेको जानकारी सार्वजनिक भयो । त्यसपछि मशाल पक्षले पनि चौम र सर्वहारा श्रमिक संगठनको भन्दा व्यापक रुपमा पार्टी सदस्यता बाँड्ने अभियान शुरु ग¥यो ।

पार्टी महाधिवेशनमा आफ्ना बढी समर्थक प्रतिनिधि लैजान तथा महाधिवेशनमा बहुमत पु¥याएर पार्टी कब्जा गर्न चलेको यो होडबाजीको परिणामस्वरुप बोराका बोरा पार्टी सदस्यता फाराम भराउने अभियान चल्यो । यसमा चौम र सर्वहारा श्रमिक संगठन भन्दा मशाल र मसाल पक्ष दिलोज्यानले लाग्यो । मशाल र मसाल पक्ष (त्यो बेला मोटो मशाल र पातलो मसाल पक्ष भनिन्थ्यो)ले अरु दुई समुहहरूको भन्दा वढी पार्टी सदस्यता फाराम भर्न लगाउन सफल रह्यो । यसका लागि जनवर्गीय संगठनका सामान्य सदस्यहरूलाई समेत पनि कम्युनिष्ट पार्टीको सदस्यता फाराम भराउने काम त्यो बेला भयो ।
यसरी बोराका बोरा पार्टी सदस्यता फाराम भराउने अभियान सफल भएकोले चार पार्टी मिलेर बनेको नेकपा (एकता केन्द्र)को एकता महाधिवेशनमा मशाल पक्षको बप्रतिनिधि पुगे । फलस्वरुप महाधिवेशनपछि मशालकै नेता प्रचण्डको एकल नेतृत्व कायम भयो र बहुमत केन्द्रिय सदस्य पनि मशाल पक्षकै हुन पुग्यो र लाइन पनि मशालकै पारित भयो ।

अबको एमाले माओवादी केन्द्र बीचको एकतामा के–कस्तो हुन्छ, आगामी दिनमा थाहा हुने नै छ ।