बाबुराम ‘पपुलर’ भएपछि प्रचण्डलाई पीडा

बाबुराम ‘पपुलर’ भएपछि प्रचण्डलाई पीडा


भट्टराईलाई सिध्याउने योजना
देशका लोकप्रिय नेता एवम् माओवादी पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीभित्र चुनवाङ बैठकअघिको भन्दा पनि खतरनाक र सङ्कटपूर्ण अवस्थाको सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ । ०६२ को मध्यतिर भूमिगत रूपमा सम्पन्न चुनवाङ बैठकले प्रचण्ड र बाबुराम भट्टराईबीच मिलाप गराउँदै नयाँ कार्यनीतिक योजना तर्जुमा गरेको थियो र सोही कार्यनीतिअनुरूप भारतको राजधानी नयाँदिल्लीमा ०६२ मङ्सिर ७ गते विशेष सम्झौता भएको थियो । चुनवाङ बैठकअघि डा. भट्टराईलाई पार्टीबाट निलम्बन गरिएको थियो भने माओवादीले छिमेकी राष्ट्र भारतसँग लडाइँ गर्न भन्दै पश्चिमी तराईका सीमावर्ती क्षेत्रहरूमा सुरुङ खन्ने कार्य गरेको थियो । भारतलाई आफूअनुकूल तुल्याउन गरिएका अनेकौँ प्रयास असफल भएपछि प्रचण्डले नेपालमा भारतविरोधी क्रियाकलापलाई विशेष महत्त्वका साथ अघि बढाउने कसरत गर्दै आउनुभएको छ । यसै क्रममा प्रचण्डले डा. भट्टराईसँग दूरी बढाउने, उहाँलाई एक्ल्याउने र तेजोबध गर्ने कार्यसमेत आरम्भ गर्नुभएको छ । समय-समयमा विभिन्न सङ्घ/संस्थाहरूले गरेका र्सर्भेक्षणहरूमा डा. बाबुराम सर्वाधिक लोकप्रिय रहनुभएको प्रमाणित गर्ने विवरणहरू सार्वजनिक हुन थालेपछि अध्यक्ष प्रचण्डमा थप कुण्ठा पैदा भएको र कुण्ठाकै कारण भट्टराईसँग प्रचण्डको दूरी बढेको बताउन थालिएको छ । शान्ति र संविधानका पक्षमा दृढतापूर्वक उभिँदै भिन्न मत राखेका कारण माओवादीभित्रका अतिवादीहरूको साथ लिएर बाबुरामलाई सिध्याउने खेलमा प्रचण्ड लाग्नुभएको टीका-टिप्पणीसमेत राजनीतिक बजारमा हुन थालेको छ । प्रचण्डको यही योजनामुताविक बाबुरामलाई महत्त्वपूर्ण जिम्मेवारीको अवसरबाट वञ्चित गरिएको छ । माघ २ गते सम्पन्न माओवादी स्थायी समितिको बैठकमा टोपबहादुर रायमाझीले संसदीय दलको नेतामा डा. बाबुराम भट्टराईलाई राख्न प्रस्ताव गर्दै प्रधानमन्त्रीसमेत उहाँलाई नै बनाइनुपर्ने धारणा प्रस्तुत गर्नुभएको थियो । डा. भट्टराई स्वयम्ले पनि माओवादीको नेतृत्वमा सरकार गठन हुने सम्भावना दर्शाउँदै पार्टीका तर्फबाट प्रधानमन्त्रीमा वैकल्पिक उम्मेदवार प्रस्तुत गर्नु उचित हुने विचार राख्नुभएको थियो । यसरी प्रधानमन्त्री उम्मेदवारीको विषयमै गम्भीर बहस हुने देखिएपछि प्रचण्डले ‘कसैको पनि नाम नतोकी माओवादीको नेतृत्वमा सरकार गठन गर्ने भनी निर्णय गरौँ’ भनेर कुरा टुङ्ग्याउनुभएको थियो । तर, बैठक सकिनेबित्तिकै ‘प्रचण्ड नेतृत्वमा सरकार गठन गर्ने’ भनी बैठकको निर्णयका रूपमा प्रचार गरियो ।
स्थायी समितिको उक्त बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्डलाई प्रशन्न तुल्याउने अभिव्यक्ति दिएपछि डा. बाबुराम भट्टराईले ‘सबभन्दा पछि आउने लाइनमा नबसी अगाडि पुग्ने’ प्रवृत्ति पार्टीको एकता र विकासमा बाधक रहेको भनी श्रेष्ठलाई व्यङ्ग्य गर्नुभएको थियो । बैठकमा टोपबहादुर रायमाझीले त नामै तोकेर नारायणकाजी श्रेष्ठजीले न चुनाव जित्नुभएको छ न जनयुद्धमा नै कुनै योगदान पुर्‍याउनुभएको छ भन्दै यस्तै प्रवृत्तिले माओवादी पार्टीलाई बिगारिरहेको निष्कर्ष निकाल्नुभएको थियो । रायमाझीको अभिव्यक्ति सुनेर लीलामणि पोखरेल र अमिक शेरचन पनि मुसुमुसु हाँस्नुभएको थियो । बैठकमा केन्द्रीय समितिको सदस्यहरूको सङ्ख्या एक सय पचहत्तर पुर्‍याउने भनी गरिएको प्रस्ताव पनि पारित हुन सकेन । नेताहरूको कार्य विभाजन गर्न पनि उक्त बैठक असफल भयो ।
बैठकमा डा. बाबुराम भट्टराईले माघ ३ गते राजधानीको भृकुटीमण्डपमा माओवादीको नेवाः र ताम्सालिङ राज्यसमितिअर्न्तर्गतको जिल्ला तहका कार्यकर्ताहरूको प्रशिक्षण शिविरमा आफ्नो भिन्न मत प्रस्तुत गर्ने जानकारी गराउनुभएको थियो । तर, प्रशिक्षण शिविर सुरु हुनुअगावै अध्यक्ष प्रचण्डले तपाईंलाई बोल्न रोक लगाइएको छ भनेपछि डा. भट्टराई कार्यक्रमस्थलमा प्रवेश नै नगरी र्फकनुभएको थियो । गत सोमबारको उक्त प्रशिक्षण शिविरमा नेत्री हिसिला यमीले प्रचण्डको तानाशाही प्रवृत्तिको विरोध गर्दै शान्ति र संविधानका पक्षमा प्रतिबद्ध विचार प्रस्तुत हुन नदिइएकोमा नेतृत्वको आलोचना गर्नुभएको थियो । त्यसरी नेतृत्वको आलोचना गर्न थालेपछि हिसिला यमीको माइकको लाइन वर्षमान पुन र हितमान शाक्यले काटिदिनुभएको बताइन्छ । माइकको लाइन काटिएपछि यमीले शान्ति र संविधानका पक्षधरहरूलाई हलबाट बाहिरिन आह्वान गर्दै उहाँ पनि बाहिर निस्कनुभएको थियो । यमीको साथमा दुई सयभन्दा बढी अगुवा कार्यकर्ता सभाहलबाट बाहिर निस्किएको बुझिएको छ ।
जे होस्, घटनाक्रमहरूले बाबुराम भट्टराईलाई माओवादी पार्टीभित्र बस्नै नसक्ने स्थिति बन्दै गरेको सङ्केत दिन थालेको छ । माओवादी पार्टीभित्रको आन्तरिक मतभिन्नताको समयमै सहज व्यवस्थापन हुन सकेन भने त्यसले अन्ततः माओवादीलाई विभाजनको तहसम्म पुर्‍याउन सक्ने सम्भावना बढेर गएको छ ।
यसैबीच मंगलबार -माघ ४) बसेको एकीकृत माओवादी स्थायी समिति बैठकले पार्टीमा उत्पन्न मतभिन्नता र विवाद निरूपण गर्न विशेष अग्रसरता लिने निर्णय गरेको छ । निर्णयअनुसार राजधानीमा जारी प्रशिक्षण स्थागित गरिएको छ र माघ ६ गते केन्द्रीय समिति बैठक बसी विवाद समाधानको उपाय खोज्ने भएको छ । बैठकले भट्टराई पक्षको भावनालाई कदर गर्न नखोजेको भए, भनिन्छ, समानान्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गरी अघि बढ्ने योजना भट्टराई पक्षले बनाउन लागेको थियो ।

खनाललाई कसैले रोक्न नसक्ने
नेकपा एमाले केन्द्रीय कार्यालयमा उपस्थित नेता र कार्यकर्ताहरूबीच अब झलनाथ खनाललाई ‘कुनै पनि हालतमा रोक्न सकिँदैन’ भन्ने चर्चा विशेष रूपमा चल्न थालेको छ । एमाले कार्यालयमा पुगेकाहरूमध्ये धेरैले अचेल भन्ने या सुन्ने गर्छन्- ‘अब झलनाथ कमरेडलाई कसैले रोक्न सक्दैन ।’ यसको सोझो अर्थ उहाँ अब प्रधानमन्त्री बन्ने पक्का भयो भन्ने लाग्दछ र बुझनेहरूले पनि त्यही ठान्दछन् । तर, झलनाथलाई रोक्न नसकिने प्रधानमन्त्री बन्न होइन कि ‘नयाँ
बजार जाने-आउने गर्न मात्र रहेछ’ भन्ने बुझनचाहिँ त्यहाँको छलफलमा अलिकबेर बिताउनैपर्ने हुन्छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बनाइदिने आश्वासन दिनुभएपछि खनालको नयाँबजारस्थित प्रचण्डनिवास जाने-आउने क्रम निकै बढेको छ, जुन कुरा एमालेका अधिकांश नेता तथा कार्यकर्तालाई मन परिरहेको छैन । त्यसैले त्यहाँ अहिले ‘अध्यक्ष कमरेडलाई नयाँबजार जाने-आउने गर्नबाट रोक्न नसकिने भइयो’ भन्ने निष्कर्ष निकालिएको छ र खनालको खिल्ली उडाउँदै ‘उहाँलाई कुनै हालतमा पनि कसैले रोक्न नसक्ने’ भन्ने चर्चा गर्न थालिएको छ ।

झलनाथको विकल्प विष्णु
एमाले अध्यक्ष झलनाथ खनालले पार्टी केन्द्रीय समितिको बैठक बोलाउँदा आफूलाई फेरि पनि प्रधानमन्त्री बन्न व्यवधान पैदा गर्न सक्ने देखिएपछि उहाँ केन्द्रीय समितिको बैठक नै नबोलाई प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा लाग्नुभएको छ । उहाँले यसरी केन्द्रीय समितिलाई नै छलेर उम्मेदवारी दिनुभएमा एमाले पार्टीले के गर्ला – जिज्ञाशा र चासोको विषय बनेको छ । त्यस्तो अवस्थामा प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपाल र लोकप्रिय नेता केपी शर्मा ओलीलगायतका नेताहरूले कस्तो भूमिका निर्वाह गर्नुहोला, झलनाथ खनालसमक्ष आत्मसमर्पण गर्नुहोला या विकल्प खोज्नु होला – यी प्रश्नहरूको जवाफ माधव नेपालको विचार र अडानले निर्धारण गर्ने विश्लेषकहरूको ठहर छ । अहिलेसम्म नेपालले लोकतन्त्र र लोकतान्त्रिक शक्ति सुदृढीकरणको पक्षमा अडान राख्दै आउनुभएको छ । तर, सानातिना कुराबाट पनि प्रभावित हुने र अन्तिम अवस्थामा गएर कुनै पनि निहुँमा खुट्टा छोड्ने स्वभाव-चरित्र भएकोले माधव नेपालले लोकतन्त्रकै पक्षमा अडान लिनु होला भन्ने विश्वास धेरै कमले मात्र गरेका छन् । नेपालको अडान कायम रहेमा झलनाथले केन्द्रीय समितिलाई छलेर उम्मेदवारी दिनुभएमा एमाले नेता विष्णु पौडेलको पनि प्रधानमन्त्री पदमा उम्मेदवारी पर्न सम्भव छ । खनालको मार्ग पछ्याउँदै पौडेलले पनि प्रधानमन्त्रीको उम्मेदवारी दिनुभएमा कसलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने भन्ने विषयको टुङ्गो लगाउन एमाले केन्द्रीय कमिटीको बैठक बोलाउनैपर्ने बाध्यता आइलाग्नेछ । त्यस्तो अवस्थामा दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिई अरू कसैलाई समर्थन गर्ने सम्भावना देखिन्छ । यदि त्यस्तो निर्णयलाई झलनाथले स्वीकार गर्नुभएन भने उहाँलाई माओवादीले प्रधानमन्त्रीमा समर्थन गर्न सक्ने त देखिन्छ, तर खनाल-माओवादी गठबन्धनसँगै एमालेमा विभाजन आउनसक्ने सम्भावनालाई पनि इन्कार गर्न सकिन्न । झलनाथले केन्द्रीय कमिटीको बैठक छले पनि संसदीय दलको साथ लिने प्रयास भने गर्नुहुने बताइन्छ । पार्टी संसदीय विभागका प्रमुख विष्णु पौडेल रहनुभएकोले खनालको इच्छा संसदीय दलबाट पनि सजिलै पूरा हुने विश्वास गर्न सकिन्न । जे होस्, पछिल्ला घटनाक्रमहरूले झलनाथ खनाल पनि सजिलै प्रधानमन्त्री बन्न सक्नुहुने संभावना देखिँदैन । उहाँको विकल्पमा विष्णु पौडेल तयार हुनुभयो भने खनालका अघिल्तिर एमालेको एकता रोज्ने कि प्रधानमन्त्री पद भन्ने प्रश्न खडा हुनेछ । तर, माधव नेपालले विद्यमान अडान छोड्नुभएको अवस्थामा भने माओवादी समर्थन लिएर वामगठबन्धनको नाममा झलनाथ प्रधानमन्त्री बन्न सम्भव देखिएको छ ।

समारोह रोक्नुको रहस्य
माओवादी लडाकुहरूलाई विशेष समितिमातहत ल्याउन गरिएको प्रयास एमाले अध्यक्षका कारण झण्डै असफल हुन पुगेको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी लडाकुप्रमुखसमेत रहनुभएका अध्यक्ष प्रचण्डबीच माघ ४ गते मंगलबार बिहान एघार बजे चितवनको शक्तिखोरस्थित लडाकु शिविरमा एक भव्य समारोहको आयोजना गरी लडाकुहरू विशेष समितिमातहत आएको घोषणा गर्ने सहमति भएको थियो । समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू, भारत, अमेरिका, चीन, ब्रिटेनलगायतको मुलुकका नेपालस्थित राजदूतहरूलाई सहभागी गराइनेसमेत निधो भइसकेको थियो । तर, सोमबार -माघ ३ गते) प्रचण्डले प्रधानमन्त्री नेपाललाई भेटी पूर्वनिर्धारित कार्यक्रम अहिले गर्न नसकिने जानकारी गराउनु भयो । अनमिनको बहिर्गमनपश्चात् लडाकुलाई विशेष समितिमातहतद्द ल्याउने निर्णय भइसकेपछि पूर्वनिर्णयबाट माओवादी पछि हट्न खोज्नुको रहस्य खुलेको छ । जनगणतन्त्र स्थापनाका निम्ति जनविद्रोहको तयारीमा रहेको भनिएको माओवादी पार्टीले आफ्ना लडाकुमाथिको नियन्त्रण तत्काल परित्याग गर्न नचाहेको अनुमान केही विश्लेषकहरूले गरेका छन् । तर, एक सूत्रबाट प्राप्त जानकारीअनुसार पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नुका पछाडि झलनाथ खनालको भूमिका रहेको थियो । खनालले ‘त्यति ठूलो कार्य किन कामचलाउ सरकारमार्फत गर्नु, नयाँ सरकार गठन भइसकेपछि गर्दा उपयुक्त हुन्छ’ भनी प्रचण्डलाई सुझाव दिनुभएको र सोही सुझावलाई आत्मसात् गर्दै प्रचण्ड कार्यक्रम स्थगित गर्ने निर्णयमा पुग्नुभएको बुझिएको छ । यद्यपि खनालले प्रचण्डलाई त्यसप्रकारको सुझाव दिनुको पछाडि पनि विशेष कारण रहेको बताइन्छ । लडाकु हस्तान्तरण भएमा माओवादीले हतियार तथा लडाकु आफूसँग नरहेको तर्क गर्दै भावी सरकारको नेतृत्व दाबी गर्न सक्ने सम्भावना देखिएपछि प्रधानमन्त्री बन्न तम्तयार रहनुभएका झलनाथ खनाल झस्कनुभएको थियो । आफ्ना निकटकाहरूसँग छलफल गर्दा सबैले ‘प्रधानमन्त्री बन्ने अवसर आइसकेको यस्तो बेलामा माओवादीलाई सहज हुने कार्य गर्न दिन नहुने’ सुझाव दिएपछि खनालले प्रचण्डलाई बेग्लै तर्क दिएर लडाकु हस्तान्तरणका निम्ति गरिन लागेको औपचारिक समारोह स्थगित गराउन सफल हुनुभएको सम्बद्ध सूत्रले जनाएको छ । तर, मंगलबार सरकार र माओवादीबीच स्थगित समारोह माग ८ गते चितवनस्थित शक्तिखोर शिविरमा सम्पन्न गर्ने समझदारी बनेको छ ।
माओवादीद्वारा दीक्षित एवम् प्रशिक्षित लडाकुहरू जसले देश होइन माओ र माक्र्सका नाममा कसम खाएका छन् तिनलाई विशेष समितिमार्फत ल्याइएको घोषणा भए पनि माओवादी पार्टीसँग उनीहरूको विशेष सम्बन्ध टुट्ने स्थिति छैन । सार्वजनिक घोषणाकै कुरा गर्ने हो भने ०६५ फागुन १ गते शक्तिखोरस्थित लडाकु शिविरमा एक भव्य समारोहको आयोजना गरी तात्कालिक प्रधानमन्त्री प्रचण्डले लडाकुहरू विशेष समितिको मातहत आइसकेको घोषणा गर्नुभएको थियो । तर, प्रचण्ड प्रधानमन्त्री नरहेपछि न अन्य दलहरूले उक्त घोषणाको स्मरण गरे न माओवादी नै आफ्नो घोषणाप्रति इमानदार रह्यो । त्यसैले माओवादीले हिंसा, त्रास र क्रान्तिका कुरा परित्याग नगरेसम्म लडाकुहरूलाई जुनसुकै समितिको मातहत राखेको घोषणा गरे पनि ती माओवादीकै हितका निम्ति प्रतिबद्ध रहने विश्वास विश्लेषकहरूको छ ।

दुई नेताबारे गम्भीर टिप्पणी
नेकपा एमालेका दुई नेताको व्यवहारलाई लिएर उक्त पार्टीभित्र अत्यन्तै नकारात्मक टिप्पणी हुन थालेको छ । ‘घरज्वाइँलाई खानकै चिन्ता’ भनेझैं नेताहर्रूर् इश्वर पोखरेल र प्रदीप ज्ञवालीलाई चाहिँ अब बन्ने सरकारमा राम्रो मन्त्रालयको मन्त्री कसरी बन्ने भन्ने कुराकै मात्र चिन्ता रहेको टिप्पणी एमालेका नेता तथा कार्यकर्ताहरूले गर्न थालेका छन् । त्यसनिम्तिर् इश्वर पोखरेलले प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरी ‘लोकतान्त्रिक गठबन्धन कुनै पनि हालतमा तोड्न नहुने’ भनी भन्ने गर्नुभएको छ भने खनालको कित्तामा त उहाँ घोषित रूपमै हुनुहुन्छ नै । पोखरेलले गृह मन्त्रालयको पोर्टफोलियोसहित उपप्रधानमन्त्री ताक्नुभएको बताइन्छ । जसको र जस्तो सरकार बने पनि आफूलाई उक्त पद चाहिने ठान्नुहुने पोखरेलले माधव नेपालसँग भेट्दा उहाँसँग ठीक र खनालसँग पनि सन्तुलित व्यवहार गर्ने गर्दै आउनुभएको छ । उहाँको भूमिकालाई एमालेभित्र राजनीतिक वेश्यावृत्तिका रूपमा समेत टिप्पणी गर्न थालिएको छ । स्मरणीय छ, पोखरेलले बुटवल महाधिवेशनमा आफूलाई झलनाथले महासचिव पद नदिने भएपछि ओलीतिर लाग्ने घोषणा गर्नुभएको थियो । तर पछि खनालले महासचिव बनाइदिने भएपछि फर्केर फेरि खनालतिरै लाग्नुभएको थियो । पोखरेलले आफूलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिन शेरबहादुर देउवालाई घरमै बोलाएर रात्रिभोज खुवाउँदै अनुरोध गर्नुभएको बताइन्छ । देउवाले आफू प्रधानमन्त्री बनेमा पोखरेललाई गृहको पोर्टफोलियोसहित उपप्रधानमन्त्री बनाइदिने वचन दिनुभएको बुझिएको छ । यो बेग्लै तथ्य हो कि देउवा प्रधानमन्त्री बन्न नै असम्भव छ । त्यसैगरी एक समय लोकप्रियताको शिखरमा रहनुभएका प्रदीप ज्ञवाली पनि राम्रो मन्त्रालयको आशामा झलनाथ खनालतिर लहस्सिनुभएको छ । केपी ओलीसँग नेता विष्णु पौडेल ज्यादा निकट हुनुभएपछि ज्ञवालीले खनालसँग निकटता बढाउनुभएको बताइन्छ । ओलीको विशेष सहयोगले राजनीतिक उचाइ बढाउने मौका पाउनुभएका ज्ञवाली मन्त्री पदको लोभमा परी खनालतिर लहस्सिनुभएपछि पार्टीभित्र उहाँको छविमा पनि नराम्रो धक्का पुगेको छ । स्पष्ट दृष्टिकोणसहितका नेता मानिनुहुने उहाँलाई सचेत अवसरवादीका रूपमा टिप्पणी गर्न थालिएको छ ।

रावको भ्रमणप्रति सबैको चासो
भारतीय विदेशीसचिव निरूपमा राव नेपालको तीनदिने भ्रमणमा आउनुलाई यहाँ एकथरीले गम्भीर चिन्ता र चासोको विषय बनाएका छन् । पूर्वसमझदारीअनुसार नियमित भ्रमणको क्रममा राव यहाँ आउनुलाई माओवादी र एमालेको झलनाथ समूहले स्वाभाविक रूपमा लिन सकिरहेको छैन । उनीहरू रावको भ्रमणले नेपालको प्रधानमन्त्री चयनमा प्रभाव पार्ने अड्कल काटिरहेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा शुभेच्छु र सहयोगीको भूमिका निर्वाह गर्दै आएको छिमेकी मित्रराष्ट्र भारतका विदेशसचिव रावले डा. रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालसँग मंगलबार नै भेटवार्ता गरिसक्नुभएको छ भने उहाँको सभामुख सुवासचन्द्र नेम्वाङ, काङ्गे्रस सभापति सुशील कोइराला, माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाललगायत तराईकेन्द्रित दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रावले नेपाल आगमन हुनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘एक छिमेकी मित्रराष्ट्रका रूपमा भारत नेपालको शान्ति स्थापना प्रक्रियामा सहयोग पुर्‍याउन चाहन्छ । हामी नेपालमा निर्धारित समयभित्रै संविधान निर्माण होस र शान्ति स्थापना निम्ति भएका कार्यले पूर्णता पाओस् भन्ने चाहन्छौँ ।’ विश्लेषकहरूले भारतीय विदेशसचिव निरूपमा रावको भ्रमणले नेपाली राजनीतिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेका छन् । खासगरी यहाँको लोकतन्त्रवादी शक्तिहरूमा भ्रमणले उत्साह वृद्धि गर्ने ठानिएको छ ।

मोर्चा गम्भीर
भारतीय विदेशसचिव निरूपमा रावको नेपाल भ्रमणको अघिल्लो दिन एकीकृत नेपाल राष्ट्रवादी मोर्चाले एक विज्ञप्ति जारी गरी विभिन्न नौ सूत्रीय माग प्रस्तुत गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा ‘भारतीय विदेशसचिव निरूपमा रावको मंगलबारदेखि हुन लागेको नेपाल भ्रमणप्रति एकीकृत नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको’ जनाइएको छ । मोर्चाले आफ्ना मागहरूलाई नेपालीको हृदयको आवाजका रूपमा लिने विश्वास पनि विज्ञप्तिमा गरेको छ ।

नगद बाँडेपछि तनाव
झापाको ६ नम्बर चुनाव क्षेत्रमा झलनाथ गुटका समानुपातिक सभासद् युवराज कार्कीले रकम बाँड्न थालेपछि ओली समूहका झापाली सभासद् दीपक कार्की चिन्तित बन्न पुगेका छन् । समानुपातिक सभासद् युवराजले आफ्नो दलबलसहित दीपकको क्षेत्रका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा रकम खन्याउन थालेपछि ओली समूहका कार्यकर्ताहरू चिसिएका छन् । पार्टीभित्र छलफल नै नगरी एकतर्फी रूपमा रकम वितरण गरेको भन्दै दीपकका कार्यकर्ताहरू आक्रोशित बन्न थालेका छन्् । ओली समूहका एक चल्तापर्ुजा कार्यकर्ताले भने, ‘हाम्रो क्षेत्रका सभासद्सँग छलफल नै नगरी यसरी अन्धाधुन्ध रकम बाँड्नु कार्यकर्ताको मनोभावना र पार्टी-अनुशासनविपरीत हो ।’ ओलीपक्ष्ँीय अर्का कार्यकर्ताले त आक्रोशमा यतिसम्म भन्न भ्याए, ‘बाघको इलाकामा स्याल शेर बन्न खोज्ने -‘
झापा महारानीझोडा- २ घर भएका युवराजले महारानीझोडाको उपस्वास्थ्यचौकी निर्माणमा सहयोग गरी हालै शिलान्याससमेत गरेपछि दीपकको भोटब्याङ्क मानिने सो क्षेत्रमा हलचल नै पैदा भएको थियो । सभासद् युवराजले भने, ‘यो यसको या उसको भन्ने होइन, सबैको क्षेत्र हो, जसले सक्छ उसैले विकास गर्न पाउनुपर्छ ।’
यसैगरी कार्यकर्ता प्रशिक्षणका लागि जुरोपानी पुगेका युवराजलाई ओली समूहका क्षेत्रीय अध्यक्ष योगराज दाहालले हि्वप नै लगाएर त्यहाँ नजान निर्देशन दिएको स्रोतको दाबी छ । उनैले नेपाल पत्रकार महासङ्घ झापा शाखाको भवन निर्माणका लागि ५० हजार नगदसमेत दिए, यसले गर्दा ओलीनिकट पत्रकारहरू झन् चिढिएकोे बताइन्छ ।
ओली समूहका कार्यकर्ताले गौरीगन्जमा सुकुम्बासी आयोगले वितरण गर्न लागेको पर्ुजा वितरण कार्यक्रम नै बिथोलिदिए भने कार्कीलाई प्रमुख अतिथि बनाएको विरोधमा दीपकपक्षीय कार्यकर्ताहरूले कार्यक्रम गर्न दिएनन् । एउटा एफएमको कार्यक्रममा दुईवटै नेताले एक-आपसमा आरोप-प्रत्यारोप गर्दा दर्शक श्रोताहरूलाई निःशुल्क मनोरञ्जन मिलेको थियो ।
– विष्णु सुब्बा

मणिद्वारा स्पष्टोक्ति
तराईमा रहेका विभिन्न सशस्त्र समूहको अवस्थाबारे प्रहरी प्रधान कार्यालयको विवरणको हवाला दिएर पत्रपत्रिकामा प्रकाशित समाचारमा क्रान्तिकारी कम्यूनिष्ट पार्टी -नेपाल)को नाम उल्लेख भएकोमा सो पार्टीका महासचिव मणि थापाले आपत्ति प्रकट गर्नुभएको छ । आफ्नो पार्टी कुनै सशस्त्र समूह नभएर एउटा निश्चित वैचारिक दर्शनअनुुसार चल्ने राजनीतिक पार्टी भएको जनाउँदै उहाँले सो समाचारमा सत्यता नभएको स्पष्ट पार्नुभएको छ ।
त्यस्तै, क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालको हवाला दिदैं युवाद्वयको नाममा आमरण अनसन बसेको जानकारी विभिन्न माध्यमबाट आएकोमा आफ्नो पार्टीको त्यस्तो अनसनको कार्यक्रम नभएको पनि उहाँले जानकारी दिनुभएको छ ।
शुभजन्मोत्सवमा शुभकार्य
सत्य साइबाबाका साक्षात् रूप सञ्जय साइबाबाको २३औँ शुभजन्मोत्सव विभिन्न कार्यक्रमका साथ राजधानीमा र राजधानीबाहिरका केही जिल्लाहरूमा मनाइँदै छ । सञ्जय साइ अर्गनाइजेसनका अनुसार, बाबाको जन्मोत्सवको अवसरमा महिला, युवा, शिक्षालगायतका अलगअलग दिवसहरू घोषणा गरी मनाइँदै छ । महिला स्वास्थ्य, शिक्षा र जनचेतनाका विविध सामाजिक कार्यहरू सञ्जय साइबाबाबाट हुँदै आएका छन् । काठमाडौंमा मात्र नभएर काभ्रेको पनौतीलगायतका स्थानमा पनि यो वर्षदेखि समाज सेवाका विविध पक्षमा सञ्जय साइबाबा अर्गनाइजेसनले कार्य गर्दै छ ।
‘तिमी एक पाइला सार म त्रि्रा लागि दस पाइला सार्नेछु’ भन्ने दिव्य वचन प्रदान गर्नुहुने सञ्जय साइबाबाका भक्तजनहरू दिन प्रतिदिन बढिरहेका छन् । बाबाले सानै उमेरदेखि धार्मिक तथा सामाजिक कार्यमा पाइला अघि बढाइरहनुभएको छ । राजधानीको बुद्धनगरस्थित आश्रममा हप्ताभरि नै विभिन्न पावन कार्यहरू हुँदै आएका छन् । आइतबार छलफल, सोमबार भजन तथा प्रवचन, बिहीबार चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य सेवा एवम् औषधि वितरण, शनिबार बाल विकास, युवा तथा स्वास्थ्य सेवा र अन्य दिन भजन तथा प्रवचन हुने गरेको छ । सञ्जयबाबाबाट प्रत्येक महिनाको एक गते विभिन्न स्थानमा रहेका अनाथ, असक्त, वृद्धवृद्धा तथा बालबालिकाहरूलाई भोजन गराउने गरिएको छ । यसैगरी आश्रममा प्रत्येक बिहान योग साधना हुँदै आएको छ । अन्य वर्षहरूझैं यो वर्ष पनि बाबाका भक्तजनहरूले बाबाको शुभजन्मोत्सव भव्य रूपले मनाइरहेका छन् । गत आइतबारदेखि विविध कार्यक्रमहरूका साथ सुरु गरिएको शुभजन्मोत्सव कार्यक्रम भोलि बिहीबार नेपाल एकेडेमीमा हुने भव्य समारोहपछि अन्त्य हुने आयोजक समितिले जनाएको छ । बाबाको जन्मोत्सवमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

ँजनपोयोगी’को साधारणसभा सम्पन्न
राष्ट्रको गरिबी निवारण र बेरोजगारी समस्या समाधानमा उल्लेख्य योगदान पुर्‍याउने लक्ष्यका साथ सञ्चालित जनपयोगी बचत तथा ऋण सहयोगी संस्थाको प्रथम वारि्षक साधारणसभा नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा गत शुक्रबार सम्पन्न भयो । साधारणसभामा संस्थाका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले आव ०६६/६७ को लेखा परीक्षण विवरणसहितको आय-व्यय प्रतिवेदन पेस गर्नुभयो भने संस्थाका सचिव एवम् प्रबन्ध-निर्देशक रोशन श्रेष्ठले आगामी पाँच वर्षभित्र दावाँली मिलन क्लबको संयुक्त प्रयासमा संस्थाको आफ्नै भवन निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजनाबारे जानकारी दिनुभयो ।
सभामा प्रमुख अतिथि सिंहका अलावा शुभेच्छा विकास बैंकका अध्यक्ष डा. आनन्दप्रकाश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य भीम न्यौपाने, दावाँली मिलन क्लबका अध्यक्ष वीरेन्द्रप्रकाश श्रेष्ठ र सेयरधनीका तर्फबाट त्रिविका प्राध्यापक शम्भुप्रसाद कट्टेलले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सचिव रोशन श्रेष्ठले संस्थाका समस्त सेयर सदस्यको संयुक्त लगानीमा भोजपुर विकास बैंक स्थापनार्थ गृहकार्य भइरहेकोलगायतका संस्थाका
भावी योजनाबारे जानकारी दिनुभएको थियो ।

सिपाहीद्वारा आफ्नै पेटमा गोली
ललितपुर लेलेस्थित रणसिंह गणमा कार्यरत २६ वर्षीय सिपाही राजकुमार थापाको गोली लागेर मृत्यु भएको छ । गत आइतबार बिहान १० बजे उनी आफंैले आफ्नो पेटमा इन्सास राइफल दागेको बताइएको छ ।
आफ्नै पेटमा गोली प्रहार गरी गम्भीर घाइते भएपछि उनलाई उपचार्रार्थ छाउनी अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा दिउँसो उनको मृत्यु भएको प्रहरीले
जनाएको छ ।

ठूलो परिमाणमा गाँजा बरामद
सशस्त्र प्रहरीको एक टोलीले पर्साको लालपर्सा- ९ बाट आइतबार राति ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । ना.१ च ८९४ नम्बरको टाटा टेल्को गाडीमार्फत तस्करी हुँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल सुरक्षा बेस लिपनीबिर्ताबाट गस्तीमा खटिएको एपीएफ टोलीले गाडीसहित १७ क्विन्टल ७३ केजी गाँजा बरामद गरेको हो । गाँजाका साथ गाडीमा रहेकाहरू टाढैबाट एपीएफ टोलीलाई देखेपछि गाडी छोडेर भागेको एपीएफ हेडक्वार्टरले दाबी गरेको छ ।

श्रवणशक्ति गुमेपछि सविनको बिलौना
‘बाबा-मामु मसँग किन नबोलेको – तपार्इंहरू नबोल्ने भए म पनि कहिल्यै बोल्दिनँ । दिदी तिमी पनि मसँग नबोल्ने हो – बोल्न हुँदैन हो – मसँग खेल्दा पनि किन नबोलेको दिदी !!’
अचानक दुवै कानको सुन्ने शक्ति गुमाएका चार वर्षीय बालक सविन सापकोटाको बिलौना हो यो । उनी विगत एक महिनादेखि केही पनि सुन्दैनन्, एक्लै खेलिरहन्छन् कसैले बोलायो भने एकोहोरो हेरिरहन्छन् । भर्खरै नर्सरी कक्षा पास गरेर एलकेजी पढ्न थालेका उनी अहिले स्कुलमा मिसले सिकाएका गीत गाउँछन् र मिसकोजस्तै हाउभाउ गर्छन् । सानेपास्थित साइनिङ स्टार स्कुलमा पढ्दै आएका बालक सविन टीभीका पारखी हुन् । ‘उनलाई कार्टर्ुुच्यानल धेरै मनपथ्र्यो, हामीलाइ त टिभी हर्ेर्नै दिँदैनथ्यो’, उनका बाबु नवराज सापकोटा भन्नुहुन्छ, ‘अहिले त आवाज नसुनेकोले होला टीभी पनि हर्ेर्नै चाहँदैन । ठूलो आवाज गरेर हेर्न खोज्छ, दुवै कान टीभीमै जोड्छ तर सुुन्दैनसुनेपछि ‘दिदी यो टीभीमा आवाज नै आउँदैन हो -‘ भन्ने जिज्ञासा राख्छ ।’ उनकी एघार वर्षीया दिदी शर्मिलाले भनिन्, ‘मेरो भाइको त दुवै कान नसुनिने भयो । विद्यालयमा उनले कदेखि ज्ञसम्म, वान, टु र केही सामान्य पढाइ सिकेका छन् । अब त उसले त्यति मात्र सिक्न सक्छ होला, अहिलेसम्म जति सिक्यो त्यति मात्र बोलिरहेको छ । अब त सिक्ने अवसर पाए पो थप कुरा बोल्न र जान्न सक्छ ।’ उनकी आमा ताराले भन्नुभयो, ‘बिचरा सविन ! मेरो छोराले अब कहिले यसरी बोल्छ होला ।’
गएको मङ्सिर १४ गते एक्कासि ज्वरो आएपछि पाटन अस्पतालमा सामान्य उपचारपछि भोलिपल्ट टिचिङ पुर्‍याएका सविनले अचानक दुवै कानको श्रवणशक्ति गुमाउनुपर्‍यो । ‘हाडे आएको हो कि भन्ठानेर गालामा टेप लगाइदिएको थिएँ, अस्पताल लगेपछि त त्यस्तो भएको पो थाहा पाएँ । १६ गते अस्पताल पुर्‍याउँदा छोरा बोल्दै थियो तर पछि अचानक यस्तो भएको पो सुने,’ नवराजले भन्नुभयो । अस्पतालको चिकित्सकले उनको दुवै कानको सुन्ने शक्ति खतम भएको बताए । तर, केही रकम जोहो गर्न सकेमा उनले बोल्न सक्ने बताएको बुबा नवराजले बताउनुभयो । चिकित्सकले बालक सविनको कानमा कक प्लान्ट राख्नुपर्ने बताएका छन् । ‘चिकित्सकले कक प्लान्ट राख्न १२ लाख रुपैयाँ आवश्यक पर्ने बताएका छन्, कसरी यतिधेरै रकम जुटाऊँ,’ उहाँले भन्नुभयो । दुई महिनाभित्र उपचार नगराए बोल्नसम्म पनि नसक्ने चिकित्सकले बताएको नवराजले भन्नुभयो । सविनले अहिले कम बोल्न थालिसकेका छन् । ‘मेरो आर्थिक स्थिति अति नै कमजोर भइसकेको छ, अहिलेसम्ममा डेढ लाख रुपैयाँ सकियो, अब कसरी मेरो छोरोलाई बचाउने होला,’ नवराजले भन्नुभयो । नुवाकोटको कुमरी घर भएका सापकोटा परिवार अहिले झम्सिखेल बस्दै आएको छ । उनीहरूको आर्थिक अवस्था निकै कमजोर छ । उनले आफ्नो छोराको उपचारमा सहयोग गरिदिनका लागि सबैसँग आग्रह गरेका छन् । भारत लगेर उपचार गराउन खोजेका नवराजले भारतीय दूतावाससँग समेत आग्रह गरेका छन् । सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंकमा २२६७१ नम्बरको बचत खातासमेत खोलेका छन् ।

चक्रीय प्रणाली स्वीकार हुँदैन ः अर्जुननरसिंह केसी
नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सहमतिको नाउँमा चक्रीय प्रणालीको सरकार र नेतृत्व आफ्नो पार्टीले अस्वीकार गर्ने बताउनुभएको छ । चक्रीय प्रणालीको कुरा ल्याएर राजनीतिक दलका शीर्षनेताहरूले संविधानसभाको म्याद लम्ब्याउने तथा संविधान नबनाउने चलखेल गरिरहेको आरोप लगाउँदै काङ्ग्रेसका प्रवक्ता केसीले आगामी दुई हप्ताभित्र नयाँ सरकारको निर्माण हुनसक्ने बताउनुभयो ।
लमजुङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान निर्माण गर्न साढे चार महिना पनि बाँकी नरहेको बेला चक्रीय प्रणालीमा सरकार निर्माण हुनै नसक्ने दाबी गर्नुभयो । चार महिनामा तीनवटा ठूला पार्टीनेतृत्वको सरकार बन्ने कुरा केटाकेटी खेलजस्तो हुने नेता केसीको ठहर थियो । तोकिएको समयमा संविधान निर्माण हुनुपर्ने जिकिर गर्दै उहाँले संविधानसभाको म्याद थपिए जनआन्दोलनको म्यान्डेट समाप्त हुने बताउनुभयो ।
प्रेस युनियन लमजुङले सदरमुकाम बेसीसहरमा गत आइतबार साँझ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले लडाकु र हतियारको व्यवस्थापन, शान्तिसुरक्षा र कब्जा गरिएका घरजग्गा फिर्ता गर्ने मोडालिटी तयार नपारेसम्म एकीकृत माओवादीको नेतृत्व अस्वीकार गरिने बताए । सरकार निर्माणका लागि आफ्नो पार्टीले सहमति र बहुमत जुटाउन नसकेको स्वीकार गर्दै केसीले ‘यस्तै ताल हो भने एमाले-माओवादी मिलेर सरकार बनाए हुन्छ, काङ्ग्रेस अनुशासित रूपमा प्रतिपक्षमा बस्न तयार छ’ भन्नुभयो । राज्यको पुनर्संरचना कुनै पनि हालतमा जातीय आधारमा हुन नसक्नेसमेत अर्जुनले ठोकुवा गर्नुभयो । अनमिनलाई हटाउने आफ्नो पार्टीको धारणा रहेको जनाउँदै नेता केसीले ‘म्यान्डेट’ परिवर्तन गर्न आग्रह गर्दा नमानेका कारण अन्तिममा अनमिन हटाउने निर्णय गरेको खुलासा गर्नुभयो ।
यसैगरी नेपाल शिक्षक युनियन लमजुङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले १२ बुँदेदेखि अहिलेसम्मका कुनै पनि सम्झौताहरू पालना नगरेको माओवादी हतियार र सेनाको आडमा सत्ता कब्जाको रणनीतिमा रहेको बताउँदै उसको त्यो सपना कहिल्यै पूरा नहुने दाबी गर्नुभयो । माओवादीलाई निषेध गरेर संविधान नबन्ने र शान्तिप्रक्रिया पनि निष्कर्षमा नपुग्ने उल्लेख गर्दै अर्जुनले सहमतिको नाममा बहुलवाद, स्वतन्त्र सञ्चार, मानवअधिकार, स्वतन्त्र न्यायपालिकालगायतमा सम्झौता गर्न नसकिने जनाउनुभयो । – छविलाल बगाले

औषधिद्वारा सुरक्षित गर्भपतन सेवा सुरु
तनहुँ, चितवन, ललितपुर, धादिङ, धनकुटा, काभे्रपलाञ्चोक, कैलाली, सर्ुर्खेत र झापा जिल्लामा सञ्चालन हुँदै अएको यो सेवा सञ्चालन भएको ‘औषधिद्वारा पनि सुरक्षित गर्भपतन सेवा’ कास्की जिल्लामा पनि सुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको प्राविधिक सहयोग र आइपास नेपालको व्यवस्थापनमा यस्तो सेवा सञ्चालन गरिएको हो । नेपाल सरकारले कास्कीसहित नेपालभरिका १० जिल्लामा नमुना परीक्षणका रूपमा सूचीकृत संस्थाहरूबाट मात्रै औषधिद्वारा पनि सुरक्षित गर्भपतन सेवा सञ्चालनमा ल्याएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख केयरसिं गोदारले जानकारी दिए ।
कास्की जिल्लाका सातवटा प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल सरकारबाट मान्यताप्राप्त सूचीकृत संस्थाबाट यो सेवा सुरु भइसकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्की परिवार नियोजन सुपरभाइजर मित्रप्रसाद अर्यालका अनुसार कास्कीका सार्दीखोला, भेंडाबारी, कृस्ति, शिशुवा, पुम्दीभुम्दी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूलाई औषधिद्वारा गराइने सुरक्षित गर्भपतन सेवाका बारेमा प्रशिक्षण दिई सेवा पनि सुरु गरिसकिएको छ भने बाँकी, देउराली, याङ्जाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा यो सेवा सुरु गरिने अन्तिम तयारी भएको छ । सेवा सञ्चालन गर्न बाँकी रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा प्रशिक्षण दिने कार्यक्रम जारी रहेकाले सेवा सञ्चालन गर्न केही दिन लाग्ने स्वास्थ्य कार्यालयको भनाइ छ । स्वास्थ्यकर्मीका अनुसार हाल सञ्चालनमा आएका मेडावोन र मिजापोस्टल नामक औषधिद्वारा यो सेवा प्रदान गरिएको छ । एक चक्की सेवन गरेको २४ घन्टापछि महिलाको मुख वा योनिमा अन्य चारवटा चक्की राखेर यो सेवा लिन सकिने विज्ञहरूले बताएका छन् । परीक्षणले सेवा ९८ प्रतिशत प्रभावकारी हुने विज्ञहरूले दाबी गरेका छन् ।

व्यापार विस्तार गर्न न्युयोर्कमा हस्ताक्षर
अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर एसोसिएसन -नेपाल) र अमेरिकाबीच आर्थिक-व्यावसायिक सम्बन्ध विस्तारसम्बन्धी सहमति भएको छ । आपसी आर्थिक एवम् व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित दुवै संस्थाबीच हालै अमेरिकाको न्युयोर्कमा हस्ताक्षर भएको छ । सहमतिअनुसार दुवै संस्थाले आगामी दिनमा सहकार्यका सम्भाव्य क्षेत्रको पहिचानसहित लगानी तथा व्यवसाय विस्तारका दिशामा सहकार्य गर्नेछन् । यसका लागि सूचना तथा तथ्याङ्कको आदानप्रदान, व्यावसायिक भ्रमण, एक-अर्को देशमा मेला-महोत्सवको आयोजना गर्नेलगायत उल्लेख गरिएको छ । सहमतिपत्रमा अमेरिकामा नेपाली वस्तुहरूको निर्यात सम्भाव्यता एवम् वस्तु पहिचानमा पनि सहकार्य गर्ने उल्लेख छ ।
त्यसअघि महासङ्घको प्रतिनिधिमण्डल र अमेरिकी व्यापार विभागका पदाधिकारीहरूबीच रोनाल्ड रेगन भवनमा दुईपक्षीय वार्ता सम्पन्न भएको थियो । अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माको समुपस्थितिमा भएको वार्तामा अमेरिकी व्यापार विभागका पदाधिकारी, अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर एसोसिएसनका अध्यक्ष जोन डिकसन, एनआरएन-आईसीसी अमेरिकाका सदस्य राजेन्द्रबहादुर श्रेष्ठ र नेपालसँग व्यावसायिक सम्बन्ध भएका अमेरिकी व्यावसायिक समुदायको सहभागिता रहेको थियो ।

तस्बिर खिच्न लाग्दा नदीमा बेपत्ता
पुरानो बसपार्क काठमाडौंनिवासी १६ वर्षीया अर्पणा पराजुली भोटेकोसी नदीले बगाएर बेपत्ता भएकी छिन् । सिन्धुपाल्चोक-४ स्थित तातोपानी धारामा नुहाएर भोटेकोसी नदी किनारमा उभिएर फोटो खिच्ने क्रममा उनलाई नदीले बगाएको थियो । यसैगरी काठमाडौं जिल्ला धर्मस्थली-५ बस्ने २३ वर्षीया रोजिना थापाको विषादी सेवनबाट मृत्यु भएको छ । उनलाई गत १ गते साँझ विष सेवन गरी बेहोस भएपछि उपचारका लागि जनमैत्री अस्पताल लगिएकोमा उपचारकै क्रममा राति १ बजे मृत्यु भएको थियो ।
यस्तै, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१६ नरेफाँटस्थित मनहरा खोलाकिनारमा गत पुस २४ गते साँझ सालनालसहितको नवजात शिशुको लास फेला परेकोमा हालसम्म सो अपराध गर्ने महिलाबारे प्रहरीले जानकारी हासिल गर्न नसकेको बुझिएको छ ।

अनमिन जाँदा मसाल मख्ख
तत्कालीन सात राजनीतिक दल र माओवादीबीच २०६२ कात्तिक ७ गते भएको १२ बुँदे समझदारी पत्रको ३ नं. बुँदामा तत्काल विरोध गर्ने ने.क.पा.-मसाल)ले संयुक्त राष्ट्रसङ्घीय मिसन -अनमिन) नेपालबाट औपचारिक रूपमा बिदा भएकोमा खुसी प्रकट गरेको छ । उक्त बुँदामा उल्लेख गरिएको ‘राजतन्त्रको अन्त्यपछि हुने संविधानसभाको निर्वाचनको क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसङ्घ वा भरपर्दो अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा राख्ने’ कुरा आपत्तिजनक भन्दै मसालले विरोध गर्दै आएको थियो । माओवादी लडाकु र तत्कालीन शाही सेनालाई सुपरीवेक्षण गर्ने काम देशभित्रैबाट कुनै तटस्थ संयन्त्रबाट हुनुपर्ने मसालको माग थियो । तैपनि प्रमुख राजनीतिक दलहरूको आग्रहमा अनमिन नेपालमा बसेको भन्दै सो पार्टीले चित्त बुझाएको थियो ।
मसाल पार्टीका प्रवक्ता हरि आचार्यद्वारा जारी विज्ञप्तिका अनुसार संविधानसभाको निर्वाचन सम्पन्न भएपछिको ६ महिनाको म्याद सकिएपछि अनमिन तकाल फिर्ता हुनुपर्दथ्यो । अनमिन लामो समयसम्म बसेर पनि देशमा शान्तिप्रक्रियामा खासै प्रगति हुन नसकेको औंल्याउँदै मसालले शान्तिप्रक्रियालाई अगाडि बढाउने काममा जे-जति प्रगति भएको छ त्यसमा मुख्यतः प्रमुख राजनीतिक दलहरूको भूमिका नै महत्त्वपूर्ण रहेको ठहर गरेको छ ।
त्यसैगरी शान्तिप्रक्रियासम्बन्धी अनमिनले गर्दै आएको काम अबदेखि विशेष समितिले गर्ने भनेर माओवादी र सरकारबीच भएको सहमतिलाई पनि मसालले ‘सकारात्मक निर्णय’ भनेको छ । शान्तिप्रक्रियालाई पूर्णता दिन र थपिएको समयभित्रै नयाँ संविधान जारी गर्ने वातावरण तयार गर्न सबै राजनीतिक दलहरूको सहमति, सहकार्य र एकताको आवश्यकता रहेकोले त्यस दिशामा गम्भीरतापूर्वक ध्यान दिन पनि सो पार्टीले सबै पक्षहरूलाई आग्रह गरेको छ ।

नेपाल प्रहरी प्रभावकारी बन्ने दाबी
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक नवराज ढकालले नेपाल प्रहरीका हरेक कामकारबाही नियमसङ्गत एवम् पारदर्शी रूपमा गरिने, लुटपाट डकैतीजस्ता घटनाहरूमा अनुसन्धान प्रभावकारी ढङ्गले अगाडि बढाइने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा गत आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासा मेटाउँदै डीआईजी ढकालले प्रहरी कल्याण कोषबाट सञ्चालित कल्याणकारी गतिविधि, नेपाल प्रहरीको यूएन मिसनसम्बन्धी गतिविधि, सशस्त्र समूह र साइबर क्राइमसम्बन्धी विवरण प्रस्तुत गर्नुका साथै नेपाल प्रहरीद्वारा राजस्व वृद्धिमा गरिएका कार्यहरूको विवरण प्रस्तुत गर्नुभयो ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक ढकालले राजनीतिक विरोध कार्यक्रम, प्रहरी चारित्रिक प्रमाणपत्र वितरण, दैवीप्रकोपसम्बन्धी विवरण, प्रशासनिक गतिविधि, तालिम गतिविधि र उजुरी छानबिन शाखामा प्राप्त विवरणको आधारमा भएका कारबाहीबारे पनि विस्तृत रूपमा जानकारी गराउनुभएको थियो । उहाँले प्रहरी सङ्गठनलाई सुदृढ र सशक्त बनाएर अगाडि बढाउन आफ्नोतर्फबाट योगदान पुर्‍याउने बताउनुभयो ।